एजेन्सी । कोरोना भाइरस संक्रमण रोक्ने मुद्दामा विवादमा आफ्नो आलोचना गरेको भन्दै ब्राजिलका राष्ट्रपतिले स्वास्थ्यमन्त्रीलाई बर्खास्त गरेका छन् ।
राष्ट्रपति जायर बोलसोनारोले स्वास्थ्यमन्त्री लुइज हेनरिक मनडेटालाई पदबाट हटाएका हुन् ।
दुवै नेताहरुको मतभेद आइतबार सार्वजनिक भएको थियो । स्वास्थ्यमन्त्री मनडेटाले एक टेलिभिजन कार्यक्रममा सरकार एकजुट भएर यो संकट समाधान गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । उनको यो अभिव्यक्ति खुल्लारुपमा राष्ट्रपतिको आलोचना गरेको ठानिएको छ ।
स्वास्थ्यमन्त्रीले कोरोना भाइरसबाट जोगिन सामाजिक दुरी कायम राख्नुपर्ने लगायतका नियमको पालना गर्नुपर्ने बताउँदै आएका छन् ।राष्ट्रपति भने यी कुराहरुबाट सहमत छैनन् । लकडाउन, सामाजिक दुरी लगायतका गतिविधिले जनतामा त्रास फैलिने भएकाले यो गर्न नहुने उनको भनाइ छ ।
मानिसहरुलाई विना डर त्रास आफ्नो नियमित काम गर्न दिनुपर्ने भन्दै बोलसोनारोले कोरोना भाइरसलाई ‘सामान्य फ्लु’ भएकोले आत्तिनु नपर्ने बताएका छन् । हेनरिकले आफू बर्खास्त भएको कुरा आफैंले ट्वीट गरेर जानकारी दिएका छन् । उनले कोरोनाबाट हाम्रो स्वास्थ्य सेवामा भयंकर चुनौती आएको बताएका छन् ।
राष्ट्रपतिले स्वास्थ्यमन्त्रीलाई बर्खास्त गरेको समाचार सार्वजनिक भएपछि ब्राजिलका नागरिकहरुले घरका बार्दलीबाट भाँडा बजाउँदै राष्ट्रपतिको बिरोध जनाएको बीबीसीले जनाएको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार ब्राजिलमा ३० हजार ४ सय २५ जना कोरोना संक्रमित छन् भने १ हजार ९ सय २४ जनाको मृत्यु भइसकेको छ ।