विराटनगर। अवैध सुन र चाँदीसहित पक्राउ परेका केएल दुगडका लेखापाल विनोद कुमार मुरारकासहित तीन जनालाई राजस्व अनुसन्धान कार्यालयले सात दिनको म्याद थप गरेको छ ।
राजस्व अनुस्न्धान कार्यालय इटहरीले आइतबार उच्च अदालत विराटनगरमा सात दिनको म्याद थप गरी अनुसन्धान सुरू गरेको हो । पक्राउ परेका प्रतिवादीहरुको म्याद थप भएकोले सोमबारदेखि बयान लिने राजस्व अनुस्न्धान कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यले जानकारी दिए । ‘बयान सकिएपछि धरौटि खुल्नेछ । बिगो बरावरको धरौटि खुल्छ,’ उनले भने, ‘राजस्वले तोकेको धरौटि बुझाउन नसकेछ पुर्पक्षको लागि थुनामा जनेछन् ।’
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ५४ तोला सुन, ८ केजी चाँदी र साढे सात लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक विहार कटिहारका ६१ वर्षीया विनोद, उनकी श्रीमती ५६ वर्षीया पुष्पा मुरार र चालक विराटनगर २ का ५२ वर्षीया विमल कामतलाई पक्राउ गरेको थियो ।
उनीहरूको साथबाट सुनको ठुलो बिस्कुट ३ थान ३० तोला,सानो बिस्कुट ६ तोला, सिक्काहरु ३६ ग्राम, ४० ग्रामको १० थान सिक्का, कनौती ५.७८ ग्रामको दुई थान, ह्यालिङ ६.५० ग्रामको दुई थान गरी ५४ तोला सुन बरामद भएको कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।
चाँदी १७१९ ग्राम ११ थान ढिक्का, ९२.८० ग्राम बुनिया, २६८.३२ ग्राम ७८ थान सिक्का, चार मुखे कचौरा (दियो) ५०.१४ ग्रामको एक थान, सिन्धुर राख्ने सिसि ५.४८ ग्रामको एक थान, थाल २४१४.०८ ग्रामको ६ थान, कचौरा थान–३९७.८४ ग्रामको ६ थान, चम्चा थान–३०३.४९ ग्रामको ६ थान, गिलास ३६८.८३ ग्रामको ६ थान, मड्की थान ३७.८८ ग्रामको एक थान डिनरसेट ढोंगा ४ थान बरामद गरेको छ । सुन र चाँदी प्रहरीले बिराटनगर महानगरपालिका–१५ स्थितबाट बरामद गरेको हो ।
शुक्रबार दिउँसो बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर (रिट) बाट परिचालन भएको प्रहरी बरिष्ट नायव निरीक्षक फिरोज चौधरी सहितको प्रहरी टोलीले संकास्पद अवस्थामा बिराटनगरबाट रानीतर्फ जादै गरेको को. २ च १४९५ नम्वरको इको भेनलाई रोकी चेक जाँच गर्ने क्रममा भेनमा लुकाई छिपाई राखेको अवस्थामा सुन र चाँदी बरामद गरेको हो ।
प्रहरीले भारतिया रुपैया ७ लाख ९५ हजार २ सय ८९ रुपैया बरामद गरेको छ । बरामद गरिएको समान करिव ९० लाख मुल्य बरावरको रहेको छ ।