एजेन्सी । कोरोनाको महामारीको बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को आर्थिक सहायता रोक्ने अमेरिकाको निर्णयको इरानले कडा शब्दमा विरोध गरेको छ ।
कोरोनाबाट धेरै मानिसहरुको मृत्यु हुनुको दोष अमेरिकाले डब्लुएचओलाई लगाएको बेला इरानले अमेरिकाले नै मान्छे मारिरहेको जनाएको छ ।
इरानका विदेशमन्त्री मोहम्मद जावेद जरीफले ट्वीटरमा महामारीको बीच डब्लुएचओको आर्थिक सहायता लज्जास्पद तरिकाले रोकिएको भन्दै इरानले बुझिसकेको कुरा अब विश्वले बुझ्दै गएको बताएका छन् । तर्साउने, धम्काउने र अहंकारयुक्त कुरा गर्ने अमेरिकी शासनलाई इरानले प्रत्यक्ष भोगेको छ भन्दै उनले केबल उसको बानी भन्न सकिँदैन बरु उसले मानिसहरुको हत्या गर्दै आएको विश्वलाई थाहा भएको उल्लेख गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोराना भाइरस संक्रमणको महामारी फैलिनुमा डब्लुएचओ दोषी रहेको भन्दै उसलाई दिँदै आएको आर्थिक सहायता रोक्न निर्णय गरेका थिए । ट्रम्पले डब्लुएचओले चीनको पक्ष लिएको र कोरोना भाइरसबारे गलत सूचना दिएको आरोप लगाएका छन् ।
डब्लुएचओको गल्तीकै कारण विश्वभर कोरोना भाइरसका कारण धेरैले ज्यान गुमाइरहेको ट्रम्पको आरोप छ । उनले यसको जिम्मेवारी डब्लुएचओले लिनुपर्ने उनले बताएका छन् ।
यसता विश्व स्वास्थ्य संगठनले आफूलाई दिइदैं आएको आर्थिक सहयोग रोक्ने अमेरिकी राष्ट्रपति निर्णय दुखद भएको प्रतिक्रिया दिएको छ। डब्लुएचओले यो समय विश्व नै एक भएर नयाँ कोरोना भाइरसविरुद्ध लड्ने समय भएको जनाएको छ।
आर्थिक सहायता बन्द गर्ने ट्रम्पको निर्णयको विश्व नेताहरूले आलोचना गरेका छन्। विश्वमा हाल कोरोना भाइरस संक्रमित २० लाख नाघिसकेको छ भने अमेरिका विश्वको सबैभन्दा बढी संक्रमण प्रभावित मुलुक हो।