एजेन्सी । चीनले कोरोना भाइरसविरुद्ध तीनवटा वैकल्पिक खोप मानव परीक्षणका लागि योग्य ठहर गरेको छ।
चीनको विज्ञान तथा प्रविधि मन्त्रालयले आफूहरुले तीनवटा कोरोनाविरुद्धको खोप मानिसमा परीक्षणका लागि योग्य ठहर गरेको जानकारी दिएको हो।
चिनिया समाचार संस्था सिन्ह्वाका अनुसार यसअघि पनि चीनले कोरोनाविरुद्धको खोप मानिसमा परीक्षण गरिसकेको छ। हाल निर्माण भएको तीन खोप पनि चाँडै मानिसमा परीक्षण हुने जनाइएको छ ।
चीनमा कोरोना रोकथामका लागि गठित समितिले खोप परीक्षणको अनुमति दिएको हो । चीनको राष्ट्रिय फर्मास्युटिकल समूह र सिनोभ्याक अनुसन्धान लिमिटेडअन्तर्गतको वुहान इन्स्ट्युट अफ बायोलोजिकल प्रोडक्ट्स (सिनो फार्मं)ले दुई किसिमका खोपको विकास गरेको छ।
यी खोप कोरोना भाइरसविरुद्ध मानव परीक्षणका लागि चीनले अनुमति दिएको पहिलो ‘इन्एक्टिभ’ खोप हुन् । भाइरसविरुद्ध प्रयोग गर्न भाइरस नै प्रयोग गरेर बनाइने खोपहरू इन्एक्टिभ खोप हुन् ।
मृत भाइरसहरूको प्रयोग गरेर यस्ता खोप तयार पारिन्छन् । खोपमा हुने भाइरसमा रोग लगाउन सक्ने क्षमता नष्ट गरेर रोग प्रतिरोधात्मक क्षमताको विकास गरिएको हुन्छ । इन्एक्टिभ खोपहरूलाई आशादायी मानिन्छ । हेपाटाइटिस ए, इन्फ्लुएन्जालगायतका संक्रमणहरूविरुद्ध पनि इन्एक्टिभ खोपहरू दिइन्छ ।
कोरोना भाइरसविरुद्ध विकास गरिएको इन्एक्टिभ खोपको परीक्षण सकारात्मक देखिएमा ती कम्पनीले ठूलो मात्रामा उत्पादन गर्न सक्ने क्षमता रहेको जनाएको छ । यो खोप परीक्षण गर्न लागेको कम्पनी सिनोफार्मले खोपको अनुसन्धान एवं विकासका लागि भनेर १६ करोडभन्दा बढी अमेरिकी डलर छुट्याएको छ ।
इन्एक्टिभ खोपबाहेक आनुवांशिक इन्जिनियरिङ प्रविधिबाट पनि कम्पनीले खोप विकास गरिरहेको छ । यसअघि सार्सको खोप विकासका बेला पनि कम्पनीले विभिन्न किसिमका अनुसन्धान एवं खोप विकासमा उल्लेख्य काम गरेको भन्दै कोरोना भाइरसविरुद्धको खोप प्रभावकारी हुन सक्ने अनुमान गरिएको छ ।े
कोरोना भाइरस विरुद्धको खोप बनाउन विश्वभरका वैज्ञानिकहरु लागि परेको र अहिले सम्भावित ७० वटा खोपमा काम भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सम्भावित खोपको सूचिमा अग्रस्थानमा रहेको बेइजिङ्ग इन्स्टिच्युड अफ बायोटेक्नोलोजी र हङकङको क्यानसिनो बायोलोजिक्सले निर्माण गरेको गरेको खोप अहिले दोस्रो चरणको परीक्षणमा रहेको डब्लुएचओको भनाइ छ ।
महामारी तीव्र गतिमा फैलिएका कारण औषधि उत्पादक कम्पनीहरु खोपको खोजीमा तीव्र गतिमा लागिपरेका हुन् । खोपहरु आउँदो वर्षको सुरुमा उपलब्ध हुने अपेक्षा छ ।