विराटनगर । उदण्ड हर्कतका कारण विवादमा पर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिँदै आएको आर्थिक सहयोग रोक्ने घोषणा गरेका छन् ।
कोरोना भाइरसको महामारीको बेला डब्लुएचओले चीनको पक्ष लिएको र काम पनि सन्तोषजनक नभएको भन्दै अमेरिकाले सहयोग रोक्ने निर्णय गरेको हो ।
ट्रम्पले डब्लुएचओको भूमिका प्रभाबकारी नभएकोले सहयोग रोक्न निर्देशन दिएको बताएका छन् । ट्रम्पले डब्लुएचओले चीनको पक्ष लिएको र कोरोना भाइरसबारे गलत सूचना दिएको आरोप लगाएका छन् । डब्लुएचओको गल्तीकै कारण विश्वभर कोरोना भाइरसका कारण धेरैले ज्यान गुमाइरहेको ट्रम्पको आरोप छ ।
डब्लुएचओ संयुक्त राष्ट्रसंघ अन्तर्गतको संस्था हो । अमेरिका कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो । अमेरिकामा ५ लाख ९२ हजार ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ भने २५ हजार २ सय ३९ जनाको मृत्यु भइसकेको छ ।
कोरोना महामारीमा राजनीति नगर्न डब्ल्यूएचओले अमेरिकालाई आग्रह
गर्दै आएको छ । यसअघि चीनमा कोरोना फैलिएको बेला ट्रम्पले लकडाउन गरी मानबअधिकार उल्लंघन गरेको भन्दै चीनको आलोचना गरेका थिए । ट्रम्पले कोरोना भाइरसलाई चिनिया भाइरस भन्दै आलोचना गर्ने गरेका छन् ।
सुरुवातमा चीनको कडा आलोचना गर्दै आएको ट्रम्पले केही समयअघि भने नै कोरोना भाइरस नियन्त्रणका लागि राम्रो काम गरेको भन्दै चीनको प्रशंसा गरेका थिए । उनले राष्ट्रपति सी चिनफिङलाई फोन गरेर धन्यवादसमेत दिएका थिए ।
टेलिफोन वार्तापछि चीनले अमेरिकालाई एक हजार थान भेन्टिलेटर पठाएको थियो । अमेरिकामा भाइरस नियन्त्रण र रोकथाममा उचित कदम चाल्न नसकेको भन्दै राष्ट्रपति ट्रम्पको आलोचना भइरहेको छ। उनी भने डब्लूएचओप्रति आक्रोश पोखिरहेका छन्।
अमेरिकामा अहिले प्रत्येक दश लाखमा ६२ जनाको मृत्यु भइरहेको छ। यसैबीच जोन हप्किन्स विश्वविद्यालयका अनुसार हङकङ, जापान र ताइवानमा प्रत्येक दश लाख संक्रमितमध्ये १ जनाभन्दा कमको मात्र मृत्यु भएको छ। र, चीन, दक्षिण कोरियार र सिंगापुरमा प्रत्येक दश लाख संक्रमितमा ५ जनाभन्दा कमको मृत्यु भएको छ।
महामारीले खतराको घण्टी बजाउँदा पनि राष्ट्रपति ट्रम्पले यसविरुद्ध एसियाली देशले जति पनि तयारी गर्न असफल रहेको आरोप छ। उनले चेतावनीका संकेतबारे तत्कालीन समयमा बेवास्ता गरेका थिए। सबै नियन्त्रणभित्रै रहेको भन्दै उच्च जोखिमलाई सामान्य रूपमा लिएको परिणाम अमेरिकामा कोरोना भयाबह भइसक्दा पनि ट्रम्पले आफ्नो प्रबृत्तिमा सुधार नगरको भन्दै विश्वभर आलोचना भइहरको छ ।
ट्रम्पले भाइरस फैलिरहँदा लकडाउन गर्न मानेनन् । अमेरिका बन्द हुनको लागि बनेको हैन भन्ने उनको भनाईबाट अवस्था भयाबह भएपछि मात्र संकटकाल घोषणा गरेका छन् । अहिले जनताको ध्यान मोड्न डब्लुएचओ, चीन वा अन्य विरुद्ध बम्किरहको आरोप उनीमाथि छ ।