काठमाडौं । काभ्रे र धादिङमा मंगलबार र्यापिड टेस्ट गर्दा तीन जनामा कोरोना पोजेटिभ देखिएको छ ।
भारत र दुबईबाट आएका काभ्रेका दुई युवामा कोरोनाको एन्टिबडी देखिएपछि धुलिखेल अस्पतालमा भर्ना गरिएको छ ।
गत चैत ८ गते भारतबाट आएका बेथानचोक गाउँपालिकाका २८ वर्षीय युवकमा र्यापिड टेस्ट गर्दा पोजेटिभ देखिएको हो । युवक भारतको गोवाबाट गत चैत ८ गते तीन जना साथीसँग घर आएको बताइएको छ । उनका दुई जना साथीको नतिजा भने नेगेटिभ आएको छ।
यस्तै गत चैत ७ गते दुबईबाट आएका काभ्रेको मण्डनदेउपुर नगरपालिकाका २१ वर्षीय युवकमा पनि र्यापिड टेस्ट गर्दा पोजेटिभ देखिएको हो । उनलाई पनि धुलिखेल अस्पताल पठाइएको छ। धुलिखेल ३ का वडाध्यक्ष दिलबहादुर तामाङका अनुसार थप परीक्षणको लागि धुलिखेल अस्पताल पठाइएको हो ।
युवक दुबईबाट आएर दुई दिन घरमै बसेका थिए। त्यसपछि नगरपालिकाले उनलाई क्वारेन्टाइनमा राखेको थियो। उनको परिवारमा भएका चार जना सदस्यको पनि परीक्षण गर्ने तयारी गरिएको छ।
दुबैजना नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा २२ दिन बसेर कुनै लक्षण नदेखिएपछि घर गएको बताइएको छ ।
उता धादिङको ज्वालामुखी गाउॅँपालिकास्थित स्वास्थ्य केन्द्रमा एक २७ वर्षीय युवकको र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको हो । ज्वालामुखी–३, अमराई निवासी ती युवक गत फागुन २० गते दक्षिण कोरियाबाट नेपाल फर्किएको खुलेको छ ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार थप परिक्षणका लागि उनलाई सदरमुकामस्थित अस्थायी आइसोलेसनमा राखेर स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइनेछ। फागुन २० मै नेपाल आएका उनलाई चैत २÷३ गते नै ज्वरो आएको भएपनि वास्ता नगरी बसेका थिए ।