रौतहटका युवकमा पनि कोरोना, संक्रमित १४ पुग्यो

विराटनगर । रौतहटका एक युवकमा पनि कोरोना भाइरस (कोभिड १९ं) को संक्रमण पुष्टि भएको छ ।

क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले सोमबारको नियमित पत्रकार सम्मेलनमा थप दुईजनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ । मन्त्रालयको नियमित कोरोना बिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले कैलाली र रौतहटमा संक्रमण देखिएको जानकारी दिनुभयो ।

रौतहटमा भेटिएका कोरोना संक्रमित १९ वर्षीय पुरुषलाई नारायणी अस्पतालमा लगिएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । कैलालीकी संक्रमित महिलालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको छ । उनी गत चैत २८ गते कैलालीकै लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट घर गएकी थिइन् । दुई हप्तासम्म क्वारेन्टाइनमा बसेकी उनको र्यापिड डाइग्नोस्टिक टेष्ट किटबाट नेगेटिभ आएपछि घर पठाइएको थियो ।

तर, घर गएको तीन दिनपछि पिसिआर रिपोर्टमा पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको हो। उनलाई एम्बुलेन्समा हालेर अस्पतालको आइसोलेसनमा लगेका हुन्।

आइतबार मात्रै पर्साको वीरगंज महानगरपालिका २, छपकैया स्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परिक्षण गर्दा तीन जना वर्ष ३७, ५५ र ४४ का पुरुषहरूलाई कोरोना पोजिटिभ देखिएकोे थियो । प्रवक्ता देवकोटोले तीनजनाको संसर्गमा गरेका व्यक्तिहरु तथा उनीहरु गएको स्थानको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको बताउनुभयो ।

ती व्यक्तिसँग आएका २८ जनाको नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ । साथै छपकैया टोलका ५९ जनामा नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको देवकोटाले बताउनुभयो छ ।

नेपालमा हालसम्म सोमबारको ५ हजार २ सय ९१ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ । देशभर कोरोनाको आशंकमा आइसोलेसनमा १०३ जना रहेका छन् भने क्वारेन्टाइनमा ७ हजार १ सय ९१ जना रहेका छन् ।

 

सोमबार, ०१ बैशाख, २०७७, दिउँसोको ०४:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर