कोरोनाले विदेशमा १४ नेपालीको मृत्यु, ६६५ संक्रमित

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन्।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनएं)ले सङ्कलन गरेको तथ्याङ्क अनुसार अहिलेसम्म ६६५ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमणबाट बेलायतमा ८, अमेरिकामा ५ र संयुक्त अरब इमिरेट्समा एक जना नेपालीको मृत्यु गएको छ। सङ्घका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तर्गतको स्वास्थ्य समितिले सो तथ्याङ्क सार्वजनिक गरेको हो।

समितिका संयोजक डा.सञ्जीव सापकोटाका अनुसार हालसम्म विभिन्न मुलुकमा रहेका ६६५ गैरआवासीय नेपालीमा कोरोना सङ्क्रमण भएको पुष्टि भइसकेको छ। विदेशस्थित नेपाली नियोग, गैरआवासीय नेपाली सङ्घको शाखा तथा स्थानीय सङ्घसंस्थाद्वारा सङ्कलित सूचनाका आधारमा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो ।

अमेरिकामा ५००, बेलायतमा १००, स्पेनमा १८, युएईमा १०, जर्मनीमा ४, पोर्तुगलमा ८, अष्ट्रेलियामा ९, साउदी अरेबियामा ४, कुवेतमा ५, जापान, मलेसिया, म्यानमार र हङकङमा १÷१ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको एनआरएनएले जनाएको छ । (रासस)

आइतबार, ३० चैत, २०७६, दिउँसोको ०४:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर