प्रदेश १ मा कोरोना

खोपको प्रभावकारिताले सिकिस्त विरामी घटे

विराटनगर । कोरोना संक्रमितहरुको संख्या निरन्तर बढिरहेको प्रदेश १ मा सिकिस्त विरामी हुनेको संख्या भने एकदमै न्यून पाइएको छ ।

कोरोनाको पहिलो र दोस्रो लहरका बेला सिकिस्त भइ ज्यान गुमाउनेको संख्या धेरै भएको प्रदेशमा अहिले त्यो संख्या घट्नुका पछि खोपले प्रभावकारी काम गरेको सरकारी भनाइ छ ।

प्रदेशको कूल जनसंख्याको ६५ प्रतिशत हाराहारी संख्याले खोपको पूर्ण मात्रा पाइसकेका कारण कोरोनाबाट सिकिस्त हुनेको संख्या घटेको प्रदेश सरकारको भनाइ छ । ‘अहिले संक्रमितहरुको संख्या निरन्तर बढ्ने क्रममै छ’, प्रदेशस्थित स्वास्थ्य मन्त्रालयको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रकी प्रमुख डा. संगीता राईले भनिन् ‘तर, सिकिस्त हुने संख्या एकदमै कम छ। खोपको प्रभावकारीताले यो सम्भव भएको हो ।’

उनका अनुसार हालसम्म प्रदेशका ६५ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । अहिले पनि खोप अभियान जारी रहेका कारण यो संख्या बढ्ने अवस्थामा छ । मंगलबार प्रदेशका ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्यामा मुख्यमन्त्री राजेन्द्र राई पनि समावेश छन् । डा. राईका अनुसार पिसिआर र एन्टीजेन गरी ६ सय जनाको परीक्षण गर्दा ७९ मा संक्रमण पुष्टि भएको हो ।

साउनयताकै सबैभन्दा धेरै संक्रमित फेला परे पनि आइसीयुमा हाल ५ जना उपचारत रहेको र दुई जना एचडीयुमा उपचाररत रहेका छन् । यसअघि साउन पहिलो साता ६९ जनासम्म संक्रमित फेला परेका थिए ।

सरकारले प्रदेश १ का दुईसहित देशभरका १७ अस्पतालमा कोरोना संक्रमितहरुको निशुल्क उपचार गर्ने जनाइसकेको छ । निशुल्क उपचारका लागि प्रदेश १ को विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोसी अस्पताल विराटनगर सरकारले तोकेको छ ।

बुधबार, १८ साउन, २०७९, बिहानको ०७:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर