विराटनगर । मोरङमा प्रत्येक वर्ष लागुऔषध सम्बन्धी मुद्दा बढेपछि प्रहरीले त्यसको रोकथाम र नियन्त्रणका लागि विशेष अभियान चलाउने तयारी गरेको छ । युवा उमेर समूहका धेरै जना कुलतमा फँसेर आपराधिक क्रियाकालपहरूमा संलग्न हुने गरेको पाइएपछि मोरङ प्रहरीले लागुऔषधको रोकथाम र नियन्त्रणका लागि विशेष अभियान चलाउने भएको हो ।
प्रहरीले विशेष अभियान चलाउनु अगाडि सरोकारवालाहरूसँग आइतबार लागू औषध दुव्र्यसनीहरूलाई उपचार तथा पुनःस्थापना सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बोल्दै मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले कुलतमा फँसेका युवाहरूलाई सुधार गरि समाजमा पुनःस्थापना गर्न प्रदेश सरकार र पुनःस्थापना केन्द्रहरूसँग समन्वय र सहकार्य गरि अभियान सुरू गर्ने बताए ।
मोरङमा लागुऔषध प्रयोगकर्ताको संख्या २० हजारभन्दा बढी रहेको उनले बताए । लागुऔषध प्रयोगकर्ताहरु २० देखि २९ वर्षसम्मका सबैभन्दा बढी रहेका छन् । मोरङमा २० प्रतिशतभन्दा बढी मुद्दा प्रत्येक वर्ष लागुऔषध सम्बन्धी मात्र बढेको प्रहरीको अभिलेखमा देखिन्छ ।
आर्थिक वर्ष २०७६/०७७ मा १ सय ८६ वटा लागुऔषध मुद्दा दर्ता भएको थियो । २०७७/०७८ मा बढेर २ सय २४ वटा मुद्दा दर्ता भएको एसपी कोइरालाले जानकारी दिए । यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ३ सय ९ वटा मुद्दा दर्ता भएको छ । चालु आर्थिक वर्षको साउनसम्म मोरङमा ४७ वटा लागुऔषध सम्बन्धी मुद्दा दर्ता भएको छ । दर्ता भएको मध्ये इलाका प्रहरी कार्यालय रानी विराटनगरबाट मात्र मुद्दा चलेको ३७ वटा रहेको छ । ९० प्रतिशत मुद्दा मोरङको ८ वटा मुद्दा चल्ने प्रहरी कार्यालयहरू भन्दा बढी इप्रका रानीबाट चल्ने गरेको छ ।
प्रहरीले विराटनगर १५ रानीमा रहेको ‘क्यान’ सेन्टरमा लागुऔषध प्रयोगकर्ताहरूलाई दिनभरी काउन्सिलिङ दिने तयारी गरेको छ । लागुऔषध प्रयोगकर्ताहरू रानी नाका हुँदै भारतको जोगवनी गएर लागुऔषध सेवन गर्दछन् । सेवन गरेर फर्किने दुव्र्यसनीहरूलाई दिनभरी क्यान सेन्टरमा राख्ने र त्यहाँ उनीहरूलाई काउन्सिलिङ गर्ने प्रहरीको योजना रहेको छ । काउन्सिलिङबाट दुव्र्यसनीको अवस्था हेरी पुनःस्थापना केन्द्रमा लगेर राख्नुपर्नेहरूलाई परिवारका आफन्तसँग सल्लाह गरि लैजान सुझाब पनि दिने योजना अनुसार प्रहरीले अभियान सुरु गर्ने तयारी गरेको एसपी कोइरालाले बताए ।
कार्यक्रममा बोल्दै प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले सचेता अभियान सुरू गरेर कुलतमा फँसेका देशका कर्णधार युवाहरूलाई सुधार गरेर लैजानुपर्ने बताए । यसको लागि प्रदेश सरकारले पनि समन्वय र सहकार्य गरि काम गर्ने उनले बताए । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले लागुऔषध ओसारपसार गरि कमाउ धन्दा चलाउने गिरोहलाई पक्राउ गरी मुद्दा चलाउने र प्रयोगकर्ताहरूलाई सुधार गर्नको लागि अभियान चलाउन जरुरी रहेको बताए ।