विराटनगर । कोरोना संक्रमण बढ्न थालेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको जिल्ला कोरोना व्यवस्थापन समितिको बैठकले स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्ने निर्णय गरेको छ ।
कोरोना संक्रमणको दर बढ्न थालेपछि संक्रमण रोकथामका लागि सबै क्षेत्रमा मास्क अनिवार्य गर्ने निर्णय गरी सबैलाई सार्वजनिक आव्हान गर्ने तयारी गरिएको छ ।
कोरोना विरुद्ध खोप लगाएपछि केही समययता संक्रमण न्यून थियो । संक्रमण घटेसँगै मानिसहरुले मास्क लगाउन पनि छोड्दै गएका थिए । पछिल्लो समय मोरङ जिल्ला कारागारमा कोरोना संक्रमण फैलिएपछि बसेको आकस्मिक बैठकले मास्क अनिवार्य गर्ने निर्णय गरेको हो ।
बैठकले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि अरु थुप्रै निर्णयहरु पनि गरेको छ । सङ्क्रमण फैलिएको कारागारका कैदी बन्दीको कोरोना परीक्षण गर्ने, सङ्क्रमितको उपचार कोसी कोभिड अस्पतालमा गराउने, उपचारमा आवश्यक जनशक्तिको व्यवस्थापन, आमनागरिकमा स्वास्थ्य मापदण्ड पालना र जनचेतनाका लागि सम्बन्धित स्थानीय तहमार्फत माइकिङ गर्ने, सम्भावित जोखिमका बारेमा नागरिकलाई जानकारी दिने तथा सबै क्षेत्रमा मास्क अनिवार्य गराउने लगायतका निर्णय गरेको थियो ।
बैठकमा सङ्क्रमितको उपचारका लागि आवश्यक औषधि तत्काल आपूर्ति गर्न प्रदेश १ को स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने, उपचाररत कैदी बन्दीको सुरक्षामा नेपाल र सशस्त्र प्रहरी परिचालन, सङ्क्रमित कैदी बन्दीलाई तत्कालका लागि खाना र खाजाको व्यवस्था कोसी अस्पतालले गर्ने, कोभिडका बिरामीको उपचारमा निजी अस्पताललाई तयारी अवस्थामा राख्ने, खोप नलगाएका कैदी बन्दीको विवरण सङ्कलन, लामो समय भारत बसेर नेपाल फर्किएका र भारतीय नागरिकको सीमा क्षेत्रमा कोरोना परीक्षण गर्ने तथा सबै पालिकाले कोरोनाको परीक्षणलाई तीव्र बनाउने लगायतका निर्णय भएको छ ।
प्रजिअ दाहालका अनुसार मोरङ कारागारका कैदी बन्दीको पिसिआर परीक्षण सुरु गरिएको छ । सङ्क्रमित कैदी बन्दीको संख्या पत्ता लगाउन कारागारभित्रै परीक्षणको व्यवस्था मिलाइएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा बसेको बैठकमा विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत, कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेल, सहायक प्रमुख जिल्ला अधिकारीहरु शरदकुमार पोखरेल, महेशराज तिम्सिना र प्रदीप साह, जिल्ला समन्वय अधिकारी राजु अधिकारी, नेपाली सेनाका प्रमुख सेनानी अमृत थापामगर, मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला, सशस्त्र प्रहरी प्रमुख एसपी राजकुमार लामिछाने, राष्ट्रिय अनुसन्धानका प्रमुख वासुदेव सिग्देल, स्वास्थ्य कार्यालय मोरङका प्रमुख सुरेश मेहता तथा शिक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सरोकारवाला एवम् निजी अस्पतालका प्रतिनिधि सहभागी थिए ।
एन्टिजेन परीक्षण गराउँदा शुक्रबार दिउँसो थप तीन जना कैदी बन्दीको रिपोर्ट पोजिटिभ आएको छ । योसँगै कोरोना सङ्क्रमित कैदी बन्दीको सङ्ख्या १९ पुगेको छ । अत्यधिक ज्वरो आएपछि उपचारका लागि कोसी अस्पतालमा भर्ना गरिएका १६ जनामा शुक्रबार बिहान कोरोना पुष्टि भएको थियो ।
यस्तै इलाका प्रहरी कार्यालय रानीको हिरासतमा रहेका तीन जना थुनुवामा पनि कोरोना पुष्टि भएको छ । १९ जना कैदी बन्दी, तीन थुनुवा र एक जना सर्वसाधारणसहित २३ जनाको कोसी कोभिड उपचार केन्द्रमा उपचार भइरहेको उनले बताए ।
प्रजिअ दाहालका अनुसार ६२० जना कैदी बन्दीलाई शुक्रबार कोरोना भाइरसविरुद्धको काभिशील्ड खोप दिइएको छ । कोरोना फैलिएको कारागारभित्र क्षमताभन्दा तीन गुणा बढी कैदी बन्दी रहेकाले व्यवस्थापन तथा उपचारमा समस्या हुने देखिएको छ । धेरै कैदी बन्दीलाई ज्वरोसहित कोरोनासँग मिल्ने लक्षण छ ।
कोरोनाको लक्षण देखिएका, तर रिपोर्ट आइनसकेकालाई कारागारभित्र अलग्गै बस्ने व्यवस्था मिलाइएको प्रजिअ दाहालले बताए ।