मोरङमा ज्वरोका विरामी बढे, एक कैदीको मृत्यु

विराटनगर । जिल्ला कारागार मोरङमा ज्वरोका विरामी एक कैदीको मृत्यु भएको छ । कारागारभित्र प्रकोपको रूपमा फैलिएको ज्वरोका कारण मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय नीरबहादुर नेपालको मृत्यु भएको हो ।

ज्यान मार्ने उद्योगको मुद्दामा दोषी ठहर भएपछि कैद सजाय भुक्तान गरिरहेका नेपालको ज्वरोकै कारण मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । अत्याधिक ज्वरो आएपछि उपचारका लागि बिहीवार कोशी अस्पताल भर्ना गरिएका उनको उपचारका क्रममा मृत्यु भएको थियो।

एक साताअघि देखिएको ज्वरोले अहिले प्रकोपको रूप लिएको निमित्त जेलर तुलसीराम भगतले जानकारी दिए । ज्वरोको प्रकोप फैलिएपछि क्षमताभन्दा बढी कैन्दी–बन्दी राखिएको कारागारको अवस्था अस्तव्यस्त बनेको छ ।

ज्वरोको प्रकोप फैलिएपछि कैदी बन्दीको उपचार र व्यवस्थापनमा समस्या हुन थालेको निमित्त जेलर भगतले बताए । ज्वरोले बिरामी परेका १८ जनालाई उपचारका लागि बिहीवार कोशी अस्पताल भर्ना गरिएको कारागार प्रशासनले जनाएको छ । अस्पताल भर्ना गरिएकाहरुलाई १०० डिग्रीभन्दामाथि ज्वरो रहेको छ । निमित्त जेलर भगतका अनुसार कारागारभित्र सामान्य ज्वरो आउनेको संख्या पनि धेरै छ ।

महिला र पुरुष गरेर मोरङ कारागार तीन सय जना क्षमताको मात्रै छ । तर, अहिले कारागारभित्र एक हजार ८७ जना कैदी बन्दी रहेको निमित्त जेलर भगतले बताए ।

ज्वरोको प्रकोप फैलिएपछि कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। यज्ञराज खरेलले बिहीवार साँझ कारागार पुगेर त्यहाँको अवस्थाका बारेमा जानकारी लिएका थिए । सामान्य ज्वरो आउने कैदी बन्दीको संख्या धेरै रहेको र गर्मी बढेकाले भाइरलको समस्या देखिएको हुनसक्ने डा। खरेलले बताए ।

शुक्रबार, ३१ असार, २०७९, बिहानको ११:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर