सर्पदशंको उपचार घरपायक भएपछि राहत

बेलबारी ।मोरङको बेलबारी २ की मिना राईलाई केही दिनअघि मात्रै गोमन सर्पले डस्यो । उनलाई कुदाउँदै बेलबारीको सर्पदंश उपचार केन्द्रमा लगियो । उनी त्यहाँ पुग्दासम्म बेहोस भइसकेकी थिइन् । उपचार केन्द्रमा रहेका स्वास्थ्यकर्मीले उनको उपचार गरे ।समयमै उपचार पाएका कारण उनको ज्यान गएन । घर नजिकै उपचार गराउन पाउँदा ज्यान जोगिएको भन्दै उनी खुसी भइन् । समयमा नै उपचार नपाउँदा सर्पको डसाइबाट हरेक वर्ष यस क्षेत्रका स्थानीयले अकालमै ज्यान गुमाउँदै आउनु परेको थियो । गाउँमै सर्पदशंका बिरामीको उपचार हुँदा बेलबारीबासीलाई मात्रै होइन उत्तरी मोरङका जनतालाई राहत पुगेको छ ।

बेलबारीमा सर्पदशं उपचार केन्द्र नहुँदा झापाको दमक र सुनसरीको इटहरीमा उपचार गराउन जानु पर्ने बाध्यता हटेपछि स्थानीय खुसी बनेका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ जिल्ला कार्य समिति मोरङको प्राविधिक सहयोग र नगरपालिकाको व्यवस्थापनमा उक्त सर्पदंश उपचार केन्द्र स्थापना गरिएको हो । पुरानो नगरपालिकाको भवनमा उपचार केन्द्र राखिएको छ ।

बेलबारीमा सर्पदशं उपचार केन्द्रमा बिरामीको संख्यामा वृद्धि भएको छ । पानी पर्न थालेपछि बिरामीको संख्या ह्वातै बढेको हो । गत बैशाख ५ गते बाट संचालनमा आएको अस्पतालमा हालसम्म २५ जना बिरामी पुगेका छन् । बैशाखमा २ जनाको उपचार गराइएको थियो भने जेठमा १६ जना र असारमा ९ जना सर्पदंशका बिरामी आएको उपचार केन्द्र बेलबारीकी अहेब इन्दिरा खतिवडा चौलागाइँले बताइन् । त्यसमध्ये दुई जनालाई विषालु सर्पले टोकेको थियो ।

तराईका जिल्लामा गर्मी याम सुरु भएसँगै सर्पदंशका बिरामीको संख्यामा वृद्धि हुने गरेको छ ।सर्पको डसाईबाट जोगिन सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिँदै आएका छन् । राति उज्यालो लिएर हिँड्न,झुल टाँगेर सुत्न, सम्भव भए खाटमाथि सुत्न, सुत्ने बेला ओछ्यान राम्ररी हेर्न,जुत्ता वा गमबुट लगाउनअघि हेर्न, घर वरिपरि सफा राख्न,ठूलो घाँस भएको बाटो हिँड्नबाट जोगिन,झ्याल लगाउँदा ख्याल गर्न , पराल, दाउरा आदि तान्न जाँदा होसियारी अपनाउन,घर लिपपोत गर्दा दुलोभित्र हात नहाल्न समेत स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् ।

सर्पले टोकेपछि प्राथमिक उपचारमा समय खेर नफाल्न समेत स्वास्थ्यकर्मीको सुझाव छ । परम्परागत प्राथमिक उपचारले लाभको सट्टा हानी गर्ने डा. उमेश शाह बताउँछन् । ‘बिरामीलाई जतिसक्दो चाँडो अस्पताल पु¥याउनु पर्यो’, उनले भने ‘सर्पले डसेको ठाउँमा काट्ने, चुस्ने प्रभावित अङ्गमा कसेर बाँध्दा त्यो अङ्ग कुहिन सक्छ ।’

बिहिबार, ०९ असार, २०७९, बिहानको ०८:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर