विराटनगर । नेकपा एमाले मोरङको दसौँ जिल्ला अधिवेशनले सहमतीमा नयाँ नेतृत्व चयन गर्ने सम्भावना कमजोर बन्दै गएको छ । पार्टी नेतृत्वले निर्वाचनलाई भन्दा सहमतीबाट नेतृत्व छान्न निर्देशन र दबाब दिइरहेको छ । शनिबारको उद्घाटनसत्रमा पार्टीका शीर्ष नेताहरु सबै सहमतीबाट अगाडि बढ्नुपर्ने मतमा एक ठाउँ उभिए । विगतमा खुल्लमखुला निर्वाचन बनाएर नेतृत्व निर्वाचित गरेको अभ्यास गरेका एमाले नेता कार्यकर्ताहरुलाई नेतृत्वको उक्त निर्देशन त्यति प्रिय लागिरहेको छैन ।
प्रतिनिधिहरुसँग भोट मागिरहेका ओझाले आफू नै पार्टीको आधिकारिक उम्मेदवार भएको दाबी गरे । ‘पार्टीले आधिकारिक रूपमा मलाई नै अध्यक्षमा अघि सार्ने निर्णय भएको छ । म सोहीअनुरूप तयारीमा लागेको छु । मतदाताहरूसँग छलफल गरिरहेको छु । मत माग्दै छु,’ उनले भने ।
प्रतिनिधि छानिएर आउने बेलामै मतदानको प्रक्रियामा सामेल भएका कार्यकर्ताहरुलाई नेताले निर्देशन दिएकै आधारमा सहमती बन्छ भन्नेमा विश्वास छैन । त्यसैले एमाले मोरङको अधिवेशनस्थलमा भेला भएका प्रतिनिधिहरु चुनावबाटै नेतृत्व छान्ने कसरतमा लागिसकेको देखिन्छ । नेतृत्वले सहमतीमा जोड दिएको भए पनि अध्यक्ष पदका आकांक्षीहरु राजकुमार ओझा र अजम्बर राईले प्रतिनिधिहरुसँग भोट माग्न सुरु गरिसकेका छन् ।
उनले अध्यक्षसहित अन्य पदमा आफ्नो प्यानल तयार भएको बताए । ओझाका अनुसार उनको प्यानलमा उपाध्यक्ष शान्तिकुमारी लिम्बू, सचिव रविन थापा, उप–सचिव एर्जालाल राजवंशीको नाम टुंगिएको छ । यो समूहले उपसचिवमा रिता न्यौपानेलाई अगाडि सार्ने भएको छ भने अर्का उपसचिवको भने टुंगो लगाइसकेको छैन । ओझा पार्टी अध्यक्ष केपी शर्मा ओलीले रोजेका उमेद्वार हुन् ।
उता, अध्यक्षका अर्का प्रतिस्पर्धी अजम्बर राईले निर्वाचनको प्रक्रियाबाट नै नेतृत्व चयन हुने सम्भावना बलियो देखिएको बताए । ‘२०४८ सालमा चौथो जिल्ला सम्मेलन भएको थियो । संगठित सदस्य पुराना भएपछि संगठित सदस्यले सम्मेलन गर्ने चलन थियो । अहिले सदस्यबाट निर्वाचित भएर अधिवेशन गर्न थालियो । म त्यस बेलादेखि नै प्रतिनिधि हुँदै आएको छु, अब अध्यक्षमा मेरो दाबेदारी हो,’ उनले भने, ‘निर्वाचनबाट नेतृत्व चयन हुनेछ । आन्तरिक चुनाव हुनु राम्रो हो । सहमतीको म विरोधी होइन । मिल्दोजुल्दो नाम आए मानेर जान्छु तर त्यो नाम आएको छैन । सहमती गरौँ भनेर कुनै नेताले मलाई भन्नुभएको छैन ।’
अहिलेसम्म को आधिकारिक हो वा आधिकारिक होइन भन्ने नभएको तर जसले यसरी प्रचार गरे पनि त्यो गलत भएको उनले टिप्पणी गरे । ‘उम्मेदवार बन्न पाउँदैनस् भन्ने हुन्छ र ? जसले जित्छ त्यो र हार्ने पनि पार्टीकै आधिकारिक हुन्छ,’ उनले भने । राईको प्यानलमा उपाध्यक्ष सागर थापा, सचिव सोम थापा, उप–सचिवमा उषा झा र सन्तोष बान्तवा रहने छन् ।
यसैबिच एमाले अध्यक्ष ओलीले मोरङ जिल्ला अध्यक्षमा ओझा र उपाध्यक्षमा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा कार्कीको नाममा सहमती गर्न नेताहरु मार्फत निर्देशन गरेको स्रोतले बताएको छ । संस्थापन पक्षबाट उपाध्यक्षमा शान्तिकुमारी लिम्बूलाई अगाडि सारिरहेको बेला अध्यक्ष ओलीबाटै कार्कीको नाम आएपछि भने सो पक्ष अप्ठ्यारोमा परेको छ । तर महानगरकी उपप्रमुख कार्कीले आफूले कुनै पनि पदमा उम्मेदवारीको आकांक्षा नराखेको बताइन् । उनले भनिन् ‘अधिवेशनमा मेरो कुनै पनि पदमा दाबेदारी छैन ।’
यसअघि ओलीले चाहेअनुरूप नहुँदा भोजपुर, इलाम र तेह्रथुममा निर्वाचनबाटै नयाँ नेतृत्व चयन भएको थियो । मोरङमा पनि सहमतिबाट नेतृत्व चयन हुने परिस्थिति कमजोर हुँदा अधिवेशन नै ढिलोगरी आयोजना गरियो । लामो समय एकछत्र राज गरेको ओली समूह यस पटक भने कमजोर महशुस गरिरहेको बताइन्छ । ओली इतर समूह अनुमान गरेभन्दा बलियो भएर आएपछि जसरी पनि सहमति गर्नुपर्छ भन्नेमा नेताहरुले बढी नै जोड दिइरहेको एमालेका एक जिल्ला नेताले बताए ।
मोरङमा १७ पालिकाका १५१ वडाबाट ६९२ जना, २३ जनवर्गीय संगठनबाट १०१ जना, विशेष क्षेत्रबाट २४ जना, दलितबाट ५१ जना र मनोनीत ४६ जना गरी ९१४ जना प्रतिनिधि छन् ।मोरङमा एमाले इतर समूह (पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी) नेतृत्व एमाले मोरङका पूर्व अध्यक्ष विनोद ढकालले गर्दै आएका छन् । ढकाल पहिले अध्यक्ष केपी ओली निकट मानिन्थे । तर, एमाले कोबीको अधिवेशनपछि फेरिएका छन् । उनी अध्यक्षमा ओली निकट खेमाका घनश्याम खतिवडासँग पराजित बनेका थिए ।