एमाले मोरङ अधिवेशन : मतदाता नामावली प्रकाशनमा ढिलाइ

विराटनगर । नेकपा (एमाले) मोरङको दसौँ जिल्ला अधिवेशनअन्तर्गत निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गर्न सकेको छैन । ८ बजे अन्तिम नामावली प्रकाशन गर्नेगरी सूचना जारी गरे पनि जिल्ला कार्यसमितिले प्रतिनिधिहरूको नाम नदिँदा निर्वाचन कार्य तालिका नै प्रभावित बनेको हो ।

अहिलेसम्म जिल्ला कार्यसमितिले प्रतिनिधिको नाम नदिएका कारण ढिलाइ भएको प्रमुख निर्वाचन अधिकृत सुरेश लाल श्रेष्ठले बताए । ‘नाम दिन्छौंं भनेर हामीलाई भन्नुभएको छ,’ उनले भने, ‘नाम आउनासाथ हामी प्रकाशनगरी हाल्छौं ।’

नामावली प्रकाशन गर्न जिल्लाका अध्यक्ष र सचिवले प्रमाणीकरण गरेर दिनुपर्छ । तर, अध्यक्ष सचिवले प्रमाणीकरण गरेर नदिएका कारण ढिलाइ भएको निर्वाचन समितिले जनाएको छ । जिल्ला अध्यक्ष बाबुराम कार्कीले प्रमाणीकरण गर्ने काम भइरहेको बताए । केही प्रतिनिधिबीच विवाद भएपछि अध्यक्ष कार्कीले प्रमाणीकरण नगर्ने अडान राखेपछि नामावली प्रकाशन गर्ने कार्य रोकिएको स्रोतले बतायो । आजै निर्वाचन गर्नेगरी निर्वाचन समितिले निर्वाचन कार्यपालिका सार्वजनिक गरेको थियो । दिउँसो २ः४५ बजेदेखि निर्वाचन गर्ने तालिका थियो । आज निर्वाचन हुने सम्भावना कम रहेको नेताहरू बताउँछन् ।

सहमतिमा नयाँ नेतृत्व चयन गर्ने सम्भावना कमजोर बन्दै गएपछि इतर समूहका प्रतिनिधिलाई गलाउने रणनीतिमा संस्थापन पक्ष रहेको इतर समूहको आरोप छ । पार्टी नेतृत्वले निर्वाचनलाई भन्दा सहमतिबाट नेतृत्व छान्न निर्देशन र दबाब दिइरहेको छ ।

शनिवारको उद्‌घाटन सत्रमा पार्टीका शीर्ष नेताहरू सबै सहमतिबाट नेतृत्व छान्न निर्देशन नै दिएका थिए । नेतृत्वले सहमतिमा जोड दिएको भए पनि अध्यक्ष पदका आकांक्षीहरू राजकुमार ओझा र अजम्बर राईले प्रतिनिधिहरूसँग भोट माग्न शुरू गरिसकेका छन् ।

सोमबार, १९ फागुन, २०८१, बिहानको १०:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर