धार्मिक सद्भावको नमूना : हिन्दु–मुस्लिम मिलेर गरे अष्ट्जाम

विराटनगर । धार्मिक एकताको सन्देश दिन विराटनगरमा सुरु भएको ७२ घण्टे अष्टजाम सम्पन भएको छ । विराटनगरका हिन्दु र मुस्लिम समुदायका व्यापारीहरुले धार्मिक एकताको सन्देश दिन अष्टजाम सुरु गरेका थिए ।

विराटनगर ११ स्थित नयाँ गुद्री बजारमा मुलुकमा धार्मिक एकताको सन्देश दिन हिन्दु मुस्लिम मिलेर अष्टजाम गरेका हुन् । हिन्दु धर्मावलम्वीहरुको पवित्र पर्व महाशिवरात्रीको अवसरमा उनीहरुले एक भएर ७२ घण्टे अष्टजाम सुरु गरेको बताउँछन् । पछिल्लो क्रममा मुलुकको विभिन्न स्थानमा धार्मिक एकता खल्बल्याउन विभिन्न समूह सक्रिय भएर लागेकाले विराटनगरमा धार्मिक एकताको सन्देश दिन अष्टजाम सामुहिक रुपमा सुरु गरेको सब्जी मण्डी तथा गुद्री बजार व्यवस्थापन समितिका सचिव साहेव अहमद गुड्डुले जानकारी दिए ।

आपसी भाइचारा र धार्मिक सहिष्णुता अभिवृद्धी गरी मुलुकमा दिगो शान्ति र जनभावना अनुसारको राजनीतिक स्थिरताको कामनाका लागि ७२ घण्टे अष्टजाम सुरु गरेको उनले बताए । समाजमा विभिन्न धर्मालम्वीहरु रहेकाले कुनै धार्मिक भावनामाथि ठेस पुग्ने काम गर्न नहुने र प्रत्येक धर्म, रीतिरिवाजलाई संरक्षण गर्न, एक आपसमा सहयोगी भावना जागृत गराई आपसी भाइचारलाई झन बलियो बनाउन सन्देश दिन अष्टजाम आयोजना गरिएको समितिका सचिव तथा अष्टजाम उपसमितिका प्रमुख सल्लाहकार साहेव अहमद गुडु (मियाँ) ले बताए ।

गुद्धीका व्यापारीहरको सामुहिक निर्णयबाट आयोजना हुने सो अष्टजाम हिन्दु धर्मको परम्परा तथा रीतिरिवाज अनुसार भएको थियो । हिन्दु र मुस्लिमलाई एकैसाथ पर्साद वितरण गर्ने गरिएको छ । गुद्री बजार व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगतका अनुसार अष्टजाम सम्पन्न गर्न ७ लाखभन्दा बढी रकम खर्च भएको छ ।विराटनगर–११ को नयाँ गुद्री बजारमा ठूला, मझौला र साना गरेर २ सय ५० भन्दा बढी पसल सञ्चालनमा रहेका छन् ।

सोमबार, १९ फागुन, २०८१, बिहानको ०८:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर