न्यूरोमा हजार रूपयाँमै डायलाइसिस

विराटनगर । मिर्गौलापीडित विरामीहरूले चर्को शुल्क तिर्दा पनि घण्टौं लाइनमा बसेर हेमोडायलाइसिस गरेको घटना बाहिर आइरहँदा विराटनगरस्थित न्यूरो अस्पतालले मिर्गौला समस्या भएका विरामीको लागि जनपक्षीय निर्णय गरेको छ ।

अस्पतालले मिर्गौला पीडित विरामीहरूको सहजताको लागि एक हजार रुपैयाँमा डायलाइसिस सेवा सुरू गरेको छ ।गत वैशाखदेखि विराटनगरको महेन्द्रचौकमा सञ्चालनमा आएको न्युरोको अत्याधुनिक सुविधा सम्पन्न हेमोडायलाइसिस भएको ठाउँमा गएर विरामीले सेवा लिनसक्ने अस्पतालले जनाएको छ । निःशुल्क डायलाइसिस गर्ने अस्पतालहरूमा विरामीले पालो नपाएर भिड हुने गरेको र सहज रूपमा सेवा प्रवाह नभइरहेको अवस्थामा न्यूरो अस्पतालले एक हजार रुपयाँमै डायलाइसिस सेवा सुरु गरेर विरामीलाई राहत मिलेको मिर्गौलापीडित विरामीहरू बताउँछन् ।

अस्पतालका डाइरेक्टर ई.रञ्जितराज बस्नेतले विरामीहरूको सहजताको लागि एक हजार रुपैयाँ डायलाइसिस सेवा सुरु गरेको बताए । ‘अहिले पनि डायलाइसिस गर्ने अस्पतालहरुमा विरामीले सहज रूपमा सेवा नभएर भिड हुने र दुःखद घटनाहरू हुने गरेको हामीले सुन्ने र देख्ने गरेका छौं,’ उनले भने, ‘निजी क्षेत्रबाट पनि मिर्गौला फेल भएका विरामीहरूलाई सहजता प्रदान गर्ने उद्देश्यले न्युनतम शुल्कमा गुणस्तरीय सेवा दिने हामीले डायलाइसिस सेवा दिएका छौं ।’

अहिले निजी अस्पतालहरूले एक पटक डायलाइसिस गरेको साढे ६ हजार देखि ८ हजार रुपैयाँसम्म लिने गर्दछन् । न्यूरोले गत वैशाख १ गतेदेखि डायलाइसिस सेवा सुरु गरेको हो । एक हप्तादेखि एक हजार रुपैयाँ मात्र लिएर मिर्गौला पीडित विरामीको डायलाइसिस गर्दै आएको अस्पतालले जनाएको छ ।

न्युरोका हेमोडायलाइसिस युनिटमा दुई वटा भेन्टिलेटरसहितको आईसीयु सेवा रहेको छ । ६ शैय्याको हेमोडायलाइसिस सेवा सञ्चालनमा रहेको अस्पतालका अध्यक्ष तथा वरिष्ठ न्यूरोलोजिष्ट डा.विरेन्द्र कुमार विष्टले बताए ।

‘हामी सबैको सामूहिक प्रयासले न्यूरो अस्पताल एउटा बहुआयामिक अस्पतालको रुपमा स्थापित हुँदै गएको छ,’ डा.विष्टले भने, ‘हामीप्रति आम सेवाग्राहीको अपेक्षा पनि त्यही अनुरूप छ । यही कुरालाई मध्यनजर गरेर अस्पतालले नयाँ वर्षको पहिलो दिनबाटै हेमोडायलाइसिस सेवा शुभारम्भ गरेको ठाउँबाट अहिले कम शुल्कमा विरामीलाई सेवा प्रवाह गरेका छौं ।’

अस्पताललका अपरेसन डाइरेक्टर राजेश भट्टराईले हेमोडायलाइसिस सेवा नहुँदा बिरामीहरू बाहिर जानुपर्ने अवस्थाको अन्त्य र न्युन शुल्कमा विरामीले उपचार पाएपछि उनीहरुलाई सहज भएको बताए । न्यूरो हेमोडायलाइसिस युनिटमा चार वटा उपकरण रहेको छ । यहाँका दैनिक १२ जना मिर्गौलाका विरामीले सेवा लिनसक्ने क्षमता रहेको छ ।

बिहिबार, ०२ असार, २०७९, बिहानको ०८:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर