विराटनगर । गए राती परेको वर्षाको कारणले कोसी अस्पतालको विद्युत् अवरुद्ध हुँदा सेवा प्रभावित भएको छ । कोसी अस्पतालको ओपिडीतर्फ जाने लाइन बिग्रिदा बिहीबार पाँच घण्टा सेवा प्रभावित भएको हो ।
पाँच घण्टा सेवा प्रभावित हुँदा अस्पतालमा उपचार गर्न आएका सेवाग्राहीले सास्ती पाएका छन् । विराटनगरकी अञ्जलि रायले अस्पताल आएको पाँच घण्टा बितिसक्दा पनि उपचार नपाएको बताइन् । ‘दाँत साह्रै दुःखेपछि अस्पताल सबेरै आएको थियो । ८ बजे अस्पताल आइपुग्दा ओपिडीमा लाइन नभएको भन्दै कर्मचारीले पुर्जी नकाटी बसेका थिए,’ उनले भनिन, ‘११ बजेसम्म लाइन आउँछ भन्दै लामबद्ध भएर बसेको थिए । त्यस बेलासम्म पनि लाइन नआएपछि निजी हस्पिटलमा गएर दुःखेको दाँत देखाए ।’
विद्युत् अवरुद्ध भएको पाँच घण्टापछि ओपिडीमा १२ बजेपछि मात्र विद्युत् आएपछि सेवा सुचारु भएको थियो । अस्पतालले वैकल्पिक व्यवस्था नराख्दा बिरामीले सास्ती पाउनु परेको स्थानीय देशबन्धु ढकालले बताए । ‘अस्पतालजस्तो संवेदनशील क्षेत्रमा वैकल्पिक व्यवस्था राखिनुपर्ने हो । तर, कोसी अस्पतालमा ओपिडीतर्फ जाने विद्युत् लाइनको लागि वैकल्पिक व्यवस्था नगर्दा सेवाग्राहीले सास्ती पाउनुपरेको छ,’ उनले भने, ‘अस्पताल प्रशासनले यो चाडै सावधान गरिनुपर्दछ ।’
मेन लाइनको केबुलमा राती वर्षाको कारणले बिग्रिएपछि तत्काल प्राविधिक ल्याएर मर्मत सम्भार गरेर अहिले सञ्चालनमा आएको कोसी अस्पतालका विद्युत् शाखाका प्रमुख बद्री दाहालले बताए । विद्युत्मा समस्या भएको कारणले केही घण्टा ओपिडीमा मात्र सेवा प्रभावमा अवरुद्ध भएको कोसी अस्पतालका मेसु डा। यज्ञ खरेलले बताए । प्राविधिकहरूले बिग्रिएको विद्युत् बनाएपछि अहिले ओपिडी सुचारु भएको उनले बताए ।
कोसी अस्पतालमा दैनिक ओपिडीमा ८ सय देखि एक हजारले सेवा लिने गरेको अस्पतालले जनाएको छ । विद्युत् अवरुद्ध हुँदा ओपिडीमा मात्र सेवा प्रभावित भएको थियो भने अन्य सेवाहरू सञ्चालनमा रहेको थियो ।