अब विराटनगरबाट सोझै भैरहवासम्म सौर्यले उडान भर्ने

विराटनगर । लामो समयको प्रतिक्षापछि विराटनगरबाट भैरहवा (लुम्बिनी प्रदेश)का लागि सौर्य एयरलाइन्सले उडान भर्ने भएको छ ।

सौर्यले नेपाल मै पहिलो पटक सौर्य एयरलाइन्सले प्रदेश १ को राजधानी विराटनगरदेखि लुम्बिनी प्रदेशको भैरहवा र भैरहवादेखि विराटनगरको नियमित उडान भर्ने भएको हो ।

कात्तिक २२ गतेदेखि सौर्य एयरलाइन्सले विराटनगर–भैरहवा–विराटनगर सिधा उडान प्रारम्भ गर्ने एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलले जानकारी दिए । नेपाल नागरिक उड्यन प्राधिकरणको स्वीकृतिमा हाललाई दैनिक एक/एक उडान सञ्चालन गर्ने र आवश्यकता र यात्रुको मागलाई दृष्टिगत गरि उडान थप गर्न सकिने पोखरेलको भनाइ छ । उनका अनुसार एयरलाइन्सको बक्बारडियर कम्पनीको सिआरजे २०० जेट जहाजमार्फत उडान हुने भएको हो ।

एयरलाइन्सले यो रुटका लागि एकतर्फी हवाइ भाडा छ हजार रुपयाँ निर्धारण गरेको छ । भैरहवादेखि विराटनगर र विराटनगरदेखि भैरहवाको नियमित उडानले धार्मिक पर्यटकीय क्षेत्र लुम्बिनीको भ्रमणमा आउने जानेलाई सहज हुने भएको छ ।

स्थलमार्गबाट विराटनगरदेखि भैरहवासम्मको ४९६ किलोमिटर दुरी तय गर्न करिब पन्ध्र घण्टा लाग्छ । तर,सौर्यको जेट जहाजबाट ५३ मिनेटमै पुगिने एयरलाइन्सले जनाएको छ । सौर्यले चाडैँ नै नेपालगञ्जदेखि भद्रपुर र राजविराजदेखि काठमाडौंको उडान भर्ने योजना बनाएको बताएको छ ।

बुधबार, १७ कार्तिक, २०७८, साँझको ०७:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर