विराटनगर । अविरल वर्षाका कारण सोमबार साँझबाट बन्द भएको विराटनगर विमानस्थल शनिबार बिहानबाट खुलेपछि दिनभरीमा १८ उडान भएको छ ।
बिहान ७ बजेबाट विमानस्थल खुला भएपछि अपरान्ह ५ बजेसम्म पाँच वायु सेवा कम्पनीका विमानले उडान भरेका थिए । विमानस्थल खुला भएसँगै विराटनगरबाट बुद्ध एयरले सात, यती एयरले पाँच, श्री एयरले तीन, सौर्य एयरले दुई र गुण एयरले एउटा गरी १८ उडान भरेको विराटनगर नागरिक उड्डयन कार्यालयका प्रमुख उत्सव खरेलले जानकारी दिए ।
कात्तिक महिनाको प्रारम्भसँगै परेको अविरल वर्षाका कारण विराटनगर विमानस्थलमा पानी जमेर डुबान भएको थियो । विमानस्थलहुँदै बग्ने बस्ता खोला, त्यसभन्दा पश्चिमको केशलीया नदी र पूर्वको सुनसरी मोरङ सिंचाइ योजनाको नहरबाट ओभरफ्लो भएको पानी विमानस्थलमा जमेको थियो ।
अधिक वर्षाले विमानस्थलको धावनमार्ग, ट्याक्सि वे र प्रवेशस्थल पुरै जलमग्न बनेको थियो । शुक्रबार साँझसम्म धावनमार्गमा जमेको लेदो हटाउने काम सकिएपछि शनिबार बिहानबाट नियमित उडान सुचारु भएको प्रमुख खरेलले जानकारी दिनुभयो । उनले बिहान ८ः३० बजे पहिलो फ्लाइट अवतरण भएको र साँझ ५ बजेसम्म १८ उडान भएको बताए ।
प्रमुख खरेलका अनुसार शनिबारबाट केही दिन बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मात्र उडानहरु हुनेछन् । धावनमार्गको लाइटिङ्ग सिस्टममा समस्या आएका कारण साँझ ५ बजेपछिको उडानहरु तत्काल गर्न नसकिने प्रमुख खरेलले जानकारी दिए । मौसमको अवस्था, धावनमार्ग र विमानस्थलको अवस्था अनुसार उडान समय बढ्न सक्ने बताइएको छ । हिउँदको समयमा विराटनगर विमानस्थलबाट साँझ ढिलोसम्म उडान हुने गरेको छ ।
नियमित उडान गर्दै आएका विमान कम्पनीहरुले बिहीबारदेखि नै शनिबारका लागि टिकट बिक्री खुला गरिसकेका थिए । विराटनगर विमानस्थलमा बुद्ध एयरले दैनिक नौं, यति एयरले पाँच, सौर्य एयसरले चार, श्री एयरले चार र गुण एयरले एउटा उडान गर्दै आएका थिए । शनिबार बुद्ध, सौर्य र श्री एयरले केही उडान कटौती गरेको भएपनि यति एयरले सबै उडान भरेको थियो ।