विराटनगर । प्रधानमन्त्री केपि शर्मा ओलीले मुलुक सामन्तवाद र पुँजीवादतर्फ नभएर समाजवादतर्फ अगाडि बढेको बताएका छन् । कोशी प्रदेशसभाको बैठकमा मंगबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक बाटोबाट मुलुकलाई अगाडि बढाउनु पर्ने बताए ।
‘संवैधानिक, शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाट अगाडि जाने, जनताले शासन गर्ने जनतन्त्रभन्दा राम्रो व्यवस्था अरु कुन हुन्छ ?’, प्रधानमन्त्रीले ओलीले भने । प्रतिस्पर्धाको माध्यमबाट जो कोही पनि अगाडि बढ्नसक्ने सबैभन्दा बेटर प्रणाली मुलुकमा रहेको भन्दै उनले कुनै एक व्यक्तिका लागि देश पछाडि लाग्न नसक्ने बताए । उनले सरकार भ्रष्टाचार नियन्त्रण गर्न, भ्रष्टाचार भए छानविन गर्न, हुन नदिन र भएको थाहापाइएको खण्डमा कारवाही गर्ने बाटोमा जाने विश्वास दिलाए ।
सार्वभौम जनताभन्दा अरु कुनै शक्ति नरहेको प्रधानमन्त्रीको भनाइ थियो । ‘हाम्रो संस्कृति र सभ्यतालाई दख्खल नपारी अगाडि बढ्ने बाटोबाट हामी हिड्नुपर्छ । हामी सामन्तवाद वा पुँजीवादतर्फ होइन समाजवादतर्फ उन्मुखछौं । जनता सार्वभौमसत्ता सम्पन्न छ,’ प्रधानमन्त्रीले ओलीले भने ।
वर्तमान सरकार जनप्रतिनिधिको कुरा सन्नकै लागि बनेको र कसैसँग अनावश्यक वादविवाद गर्ने पक्षमा नरहेको भन्द्र प्रधानमन्त्री ओलीले भने, ‘कसैसँग अनावश्यक वादविवाद गर्ने पक्षमा छैन, म सबैको कुरा सुन्न तयार छु । यथोचित छलफल र बहस गर्न तयार छु । कतिपय कुरा मिलेका छैनन् भने यसो गरौं भनेर सम्झाउन पनि तयार छु । म सधैं राष्ट्रिय एकताको पक्षमा छु अनेकताको पक्षमा कहिल्यै छैन । सधैं शान्तिपूर्ण बाटोबाट अगाडि जाऔं भन्ने पक्षमा छु ।’
प्रधानमन्त्रीले संविधानको रक्षा गर्ने र समयानुकुल जनता र लोकतन्त्रको पक्षमा संविधान संशोधन पनि गर्दै कानुनी राज स्थापना गर्नुपर्ने जिम्मेवारी सरकारको रहेको बताए । तर त्यस भन्दा अगाडि न्यायोचित कानुन बनाउनु पर्ने उहाँको भनाइ छ । राणाशासन र पञ्चायतमा पनि कानुनहरु बनेको तर ती न्यायोचित नभएका कारणले परिवर्तन गर्नुपरेको प्रधानमन्त्री ओलीले बताए।
प्रधानमन्त्री ओलीले यतिबेला देशलाई शान्ति र राष्ट्रिय एकता चाहिएकोले विविधतामा एकता र सम्पन्नतातर्फ अगाडि लैजानुपर्नेमा जोड दिए । लोकतन्त्रलाई साँचो अर्थमा जनताको जीवन र आर्थिक विकाससँग जोड्नु पर्ने, उनीहरुको संस्कृति र सभ्यतासँग जोड्नुपर्ने भएकोले देशलाई पछाडि फर्काउने नभई अगाडि बढाउनु पर्ने उनले बताए । प्रधानमन्त्री ओलीले संविधानसभाबाट बनाएको संविधानलाई संसदको दुई तिहाईको बाटोबाट संशोधन गर्न सकिने भन्दै सरकार सबैको कुरा सुन्न र सुशासनको माध्यमबाट अगाडि बढ्न तयार रहेको उल्लेख गरे ।
सरकारले धेरै क्षेत्रमा उल्लेखनीय काम गरिरहेको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले कृषिको क्षेत्रमा भने अझै ध्यान नपुगिरहेको बताए । ‘कृषिको क्षेत्रमा ध्यान नपुगेको देखिन्छ । कृषिलाई जीविकाको मात्र होइन विकासको विषय बनाउनु पर्छ । हाम्रो उद्देश्य गरिबी हटाउनुमा मात्र सीमित छैन समृद्धिको उद्देश्य छ । कृषिलाई आधुनिकीकरण गर्ने, मेसिनीकरण गर्ने तर्फ लैजानुपर्छ । कतिपय जिल्लामा राम्रोसँग कामहरु भइराखेका छन् । हामी सुशासन र समृद्धिको बाटोमा तीब्रताका साथ लाग्न खोजेका छौं । त्यसेले कृषि, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, वातावरणको क्षेत्रमा काम गरेका छौं । रोजगारीको अवसर मात्र सिर्जना गर्ने भनेका छैनौं । केही गरौं छिटो गरौं भनेका छौं । रोजगारीको खोजी भन्दा उद्यमशीलताको विकास गरौं भनेका छौं । रोजगारी मात्र खोजेर कहाँ पाइन्छ ? सरकारी जागिर भनेको बहुत थोरैले पाउने कुरा हो । कुल जनसंख्याको थोरै प्रतिशतले मात्र पाउने कुरा हो । बाटो बिजुली संचार बिना विकास हुँदैन । स्मार्ट सिटीहरु बनाउने, ८ वटा औद्योगिक क्षेत्रहरु निर्माण गर्ने कुराहरु मैले गरेको थिएँ जसले उत्पादनको काम र रोजगारी सिर्जना गर्न सकिन्छ,’ ओलीले भने ।
प्रधानमन्त्री ओलीले पछाडि परेको नेपाललाई अगाडि बढाउनु पर्ने जिम्मेवारी सरकारसँग रहेको बताउँदै भने, ‘सन् २०३० सम्म दीगो विकास लक्ष्य पूरा गर्नुपर्नेछ । २०२४ सम्म १७÷१८ प्रतिशत मात्र पूरा भएको छ । तर त्यहाँ पुग्न हामीले ४८ प्रतिशत काम गरेका रहेछौं । कोभिडले हामीलाई केही बाधा ग¥यो अब कोभिडलाई समातेर हुँदैन अगाडि जानुपर्नेछ । हिजो सामाजिक, सांस्कृतिक र अनेकौं विभेदहरु थिए, राजनीतिक प्रणालीले त्यसलाई जन्माउने र हुर्काउने काम गरे तर, अब हामी सबैका निम्ति विकास र समृद्धिका लागि काम गरिरहेका छौं । हामी लोकतन्त्रमा छौं र आज सामाजिक न्याय र समानताको माध्मबाट सामाजिक सद्भावमार्फत राष्ट्रिय एकता गर्ने सुशासन र विकासको बाटोमा अगाडि बढ्ने हाम्रो अभिभारा हो ।’
प्रधानमन्त्रीले स्वास्थ्य बिमाको क्षेत्रमा केही बेठिक कामहरु भइरहेको भन्दै त्यसलाई सच्याएर हामी अगाडि बढाउने बताए । कोशी प्रदेशसभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले मुलुकमा ठूलो संख्यामा श्रमिकहरु आवश्यक परिरहेको भएपनि दक्षताको अभावले स्वदेशमा श्रमिक नपाउने अवस्था रहेको बताए । ‘निर्माण क्षेत्रमा २० लाख श्रमिक चाहिएको छ, तर ६÷७ लाख श्रमिक मात्र छन् । श्रमिकको अभाव छ । अभाव भएको श्रमिक पारीबाट ल्याउनु परिरहेको छ । यहाँ रोजगार पाइएन भनेर मानिस बाहिर गइरहेका छन् । काम गरेर खान, लगाउन, छोराछोरी पढाउन पुग्दैन भनेर देश छोड्ने मनस्थितिमा पुग्ने अवस्था छ । किन भने उनीहरु दक्ष छैनन्, आधुनिक प्रविधिको प्रयोग गर्न उनीहरु सक्दैनन्, प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्रीले सहकारीमा केही खराब तत्वहरु प्रवेश गरी बदनाम गर्ने काम गरेको बताए । ‘केही तत्वहरु सहकारीमा प्रवेश गरे र सहकारीको बदनाम गरे । तर पनि हामीसँग भएका थोरै पुँजीलाई सगोलमा लगेर सहकारीमा परिणत गरी उत्पादनमा लैजान जरुरी छ,’ उनले भने ।