विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको मंगलबार सम्पन्न १३औं दीक्षान्त समारोहमा ८ हजार १५० विद्यार्थीहरु दीक्षित भएका छन् ।
विभिन्न सातवटा संकायअन्तर्गत स्नातक, स्नातकोत्तर तथा एमफिल तहका विद्यार्थीहरु दीक्षित भएका हुन् । दीक्षित हुनेमा कला संकायका २०४, कानुनका ४०७, शिक्षाशास्त्र संकायका ९०६, व्यवस्थापन संकायका २ हजार २४९, चिकित्साशास्त्र संकायका २ हजार १९८, विज्ञान तथा प्रविधि संकायका ६५४ तथा इन्जिनियरिङ संकायका १ हजार ४४२ विद्यार्थी रहेका छन् ।
त्यस अवसरमा स्नातक, स्नातकोत्तर र एमफिल तहका विभिन्न सत्रजना विद्यार्थीलाइ स्वर्ण पदकबाट सम्मानित गरिएको थियो । दीक्षान्त समारोहका अवसरमा प्रधानमन्त्री केपि शर्मा ओलीले विश्वविद्यालय परिसरमा निर्माण गरिएको स्कुल अफ एग्रिकल्चर र स्कुल अफ हेल्थ साइन्सको भवनको समुद्घाटनसमेत गरेका थिए ।
समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले उच्च शिक्षामा नवप्रवर्तन (इनोभेसन) तथा अनुसन्धानलाई प्रवद्र्धन गर्न, विश्वविद्यालयहरूलाई आधुनिक प्रविधिसँग सुसज्जित बनाउने तथा उच्च शिक्षापछि नेपालमै रोजगारी सुनिश्चित गर्ने योजनालाई अघि बढाइरहेको जानकारी गराए ।
यसैगरी प्रमुख अतिथिको आसनबाट बोल्दै प्रख्यात चिकित्सक, मानव अधिकार अभियन्ता तथा दिव्य शताब्दी पुरुष डा. गौरीशंकरलाल दासले विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेशिने क्रम बढेकोमा चिन्ता व्यक्त गर्दै छ महिनाको अवधिमा वैदेशिक अध्ययनको क्रममा नेपाली विद्यार्थीहरुले झण्डै ५६ अर्ब ४३ करोड रुपयाँ बराबर खर्च गर्ने गरेको तथ्याङ्क प्रस्तुत गरे । उनले हुनेखाने परिवारका युवा जनशक्ति अमेरिका, अष्ट्रेलिया, क्यानडा र बेलायतलगायतका देशमा पलायन हुने र दिनहीन परिवारका युवा कतार, साउदी अरब, मलेसियालगायतका खाडी मुलुकमा पलानयन हुने क्रम बढेकोमा चिन्ता व्यक्त गरे ।
विश्वविद्यालयका उपकुलपति प्रा. डा बिजुकुमार थपलियाले दीक्षित भएका विद्यार्थीहरुको काँधमा मुलुकलाई आत्मनिर्भर, समृद्ध र अझै गौरव गर्न लायक देश बनाउने महत्वपूर्ण जिम्मेवारी आएको बताए ।