विराटनगर । उच्च अदालत विराटनगरले विराटनगरको मानगढ खानेपानी आयोजनाको नयाँ नेतृत्व चयनका लागि पुनः निर्वाचन गराउन आदेश दिएको छ ।विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाअन्तर्गत सञ्चालित मानगढ खानेपानी आयोजनाको निर्वाचन प्रक्रिया विवादको कारण स्थगित भएपछि अदालतमा रिट दायर भएको थियो ।
उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्द र विष्णुप्रसाद अर्यालको संयुक्त इजलासले मानगढ खानेपानी आयोजनाको नयाँ नेतृत्वका लागि पुनः निर्वाचन गर्न रिट जारी गरेको हो । गत जेठ १९ गते बिहान ९ बजेको अवस्थाबाट पुनः निर्वाचन प्रक्रिया सुरु गर्न रिट जारी भएको अदालतले जनाएको छ ।
अदालतको आदेश अनुसार उम्मेदवार पुरानै कायम रहनेछन् भने मतदान सुरुवाबाटै हुनेछ । गत जेठ १९ गते विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ नेतृत्वका लागि निर्वाचन भएकोमा सबै मतदाताले मत हाल्न नपाएको भन्दै विवाद भएपछि निर्वाचन प्रक्रिया नै रोकिएको थियो ।
निर्वाचनमा वर्तमान अध्यक्ष रामबहादुर घिमिरे र लालमणि भट्टराई अध्यक्षका उम्मेदवार छन् । दुवै जना नेकपा (एमाले)का कार्यकर्ता हुन् । खानेपानीको सो निर्वाचनमा भट्टराईलाई सहयोग गरेको आरोपमा एमाले विराटनगरका तत्कालीन अध्यक्ष सागर थापासहितलाई पार्टीले कार्वाही गरेको थियो । थापा भर्खरै सम्पन्न निर्वाचनमा एमाले मोरङको उपाध्यक्षमा निर्वाचि भएका छन् भने उनलाई कार्वाही गर्नेहरु पराजित भएका छन् ।
मानगढ खानेपानीमा ५ हजार ९ सय घरधुरी सदस्य रहेका छन् । विवादको कारण निर्वाचन प्रक्रिया रोकिएपछि खसेको मतलाई गणना गर्नुपर्ने माग राख्दै दिव्यराज कट्टेलसमेत ३ जना र पुनः मतदानको माग गर्दै टंकप्रसाद खतिवडासमेत ३ जना अदालत पुगेका थिए । अदालतले खतिवडाको पक्षमा रिट जारी गरेको हो ।
अन्तिम सुनुवाइका क्रममा सोमबार उच्च अदालतले कट्टेलसहित ३ जनाको रिट खारेज गरेको हो । खतिवडासहितको मागदाबी अनुसार नयाँ नेतृत्वका लागि अब निर्वाचन हुनेछ ।