विराटनगर । मोरङ, सुनसरी, झापा र उदयपुरको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। फागुन २६ गते वडा प्रहरी कार्यालय भद्रपुर र लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा नगरपालिका–५ स्थितमा चेकजाँचको क्रममा झापा हल्दिबारी गाउँपालिका –१ का ३० वर्षीय तोयनाथ वास्कोटा, २२ वर्षीय निश्चल खत्रीलाई १ ग्राम २४० मिलिग्राम ब्राउन सुगर सहित र पाँचथर फिदिम नगरपालिका–४ का २० वर्षीय पारस राजवंशीलाई ४ ग्राम ०९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।
यसैगरी मोरङको बेलबारी नगरपालिका –११ मा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह र प्रहरी चौकी डाँगिहाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सुन्दरहरैचा –११ का ३५ वर्षीय फिरोज राईलाई ६९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ, भने इलाका प्रहरी कार्यालय रानीले चेकजाँचको क्रममा उर्लाबारी–७ का २३ वर्षीय अशोक भुजेललाई ६० एम्पुल प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ।
सोही दिन सुनसरीको कोशी गाउँपालिका–८ बाट इलाका प्रहरी कार्यालय भण्टाबारीले सप्तरी कञ्चनरुप नगरपालिका–७ का २६ वर्षीय राजन ठाकुरलाई निर्बाण–एचसीटीसी एम २३२ क्यापसुल, स्पास्मोप्रक्सिवोन ९ वटा ट्याब्लेट र ५० ग्राम गाँजा सहित पक्राउ गरेको छ।
फागुन २७ गते राती वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–५ का ५३ वर्षीय प्रेम बहादुर लिम्बु, १९ वर्षीय निकेश लिम्बु, १९ वर्षीया रेजिना खत्री, १९ वर्षीय सूर्य लिम्बुलाई ट्रामाडोल ३ हजार २ सय ९० ट्याब्लेट, स्पासपेन ६ सय २ चक्की प्रतिबन्धित औषधी सहित नियन्त्रणमा लिएको हो।
यसैगरी उदयपुरको प्रहरी चौकी लालपत्ताले चेकजाँचको क्रममा त्रियुगा नगरपालिका–१२ का २६ वर्षीय ललित चौधरी र २५ वर्षीय बिदायक राईलाई लागूऔषध ३० एम्पुल सहित पक्राउ गरेको छ। यसैगरी इलाका प्रहरी कार्यालय कटारीले धनुषाको धनुषाधाम–५ का ३५ वर्षीय शम्भु कुमार साह र महोत्तरी मनरा सिसुवा–१ का ४० वर्षीय दिलिप भुजेललाई टापेन्डाडोल २दुई हजार ५ सय १० थान, स्पास्पेन २हजार ४सय ६० र क्याफ डि ३२० ट्याब्लेट सहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगरपालिका–१२ का २२ वर्षीय अर्जुन रोक्कालाई ६९ ट्याब्लेट लागूऔषध सहित पक्राउ गरेको छ।