प्रदेश कृषि अनुदान विधेयक बहस : अनुदानमा मनपरि रोकिएला ?

१ करोडभन्दा बढी अनुदान प्राप्त गर्नेले किस्ताबन्दीमा ३५ प्रतिशत अनुदान सरकारलाई फिर्ता गर्ने प्रावधान राखिएको छ भने अनुदान दुरुपयोग गर्नेलाई दण्ड र सजायको व्यवस्था भने कमजोर राखिएको छ

विराटनगर । प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदानलाई व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ माथि छलफल सकिएको छ ।

विधेयकको विषयमा बोल्ने सांसदहरुले विधेयकप्रति सकारात्मक प्रतिक्रिया दिए । प्रतिपक्षी वा सत्तापक्षी सबैजसो सांसदहरुले कृषि अनुदानमा भइरहेको विचौलियाको मनपरी र अनुदान दुरुपयोग रोक्न विधेयकमा महत्वपूर्ण व्यवस्था रहेको भन्दै प्रशंसा पनि गरे ।

विधेयकमा अनुदान दुरुपयोग भए दण्ड/जरिमाना गर्ने तथा १ करोडमाथिको ३५ प्रतिशत अनुदान रकम किस्तामा सरकारलाई फिर्ता गर्नुपर्ने व्यवस्था पनि राखिएको छ । उक्त विधेयक पारित भए प्रदेश सरकारले कानूनको रुपमा लागू गर्नेछ र यसअधि कार्यविधिको भरमा भइरहेको अनुदान वितरण रोकिने छ ।

विधेयकमा गरिएको महत्वपूर्ण व्यवस्था भनेको अनुदान रकम फिर्ता गर्नुपर्ने विषय हो । विधेयकको दफा ३ को उपदफा (३) मा रकम फिर्तासम्बन्धी व्यवस्था छ । ‘यस ऐन बमोजिम एक करोड वा सो भन्दा बढी अनुदान प्राप्त गर्ने अनुदानग्राहीले अनुदान प्राप्त गरेको आर्थिक वर्ष समाप्त भए पश्चात अर्को आर्थिक वर्षमा अनुदान रकमको ५ प्रतिशत, दोस्रो वर्षमा १० प्रतिशत, तेस्रो वर्षमा १० प्रतिशत र चौथो वर्षमा १० प्रतिशत गरी कूल अनुदानको ३५ प्रतिशत रकम प्रदेश सरकारलाई फिर्ता गर्नु पर्नेछ,’ विधेयकमा भनिएको छ ।

विधेयकमा एक अनुदानग्राहीलाई एक आर्थिक वर्षमा एउटा कामको लागि मात्र अनुदान उपलब्ध गराउने, अनुदान प्राप्त गर्ने अनुदानग्राहीले अनुदान प्राप्ती पश्चात आफ्नो व्यवसायको निरन्तरता दिनुपर्ने अवधि सार्वजनिक गर्नुपर्ने र व्यवसायको निरन्तरता अवधि तोकिए बमोजिम हुने उल्लेख छ । विधेयकमा प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा उल्लेख भएको विषय वा क्षेत्र, मन्त्रालयले विधिवत रुपमा गरेको अध्ययन अनुसन्धानले सिफारिस गरेका विषय वा क्षेत्रहरु, प्रदेश सरकारले विभिन्न समयमा गरेका घोषणामा उल्लेखित विषयमा केन्द्रीत गरेर मात्रै अनुदान वितरण गरिने उल्लेख छ ।

उत्पादनका लागि पूर्वाधार निर्माण, भण्डारण तथा प्रशोधन पूर्वाधार निर्माण, बजार प्रबद्र्धन र मूल्य अभिवृद्धि सम्बन्ध यन्त्र, उपकरण, मेसिनरी, ढुवानी साधन खरिद, बाली तथा पशुपंक्षीजन्य उपज उत्पादन गरेवापत प्रोत्साहनका लागि अनुदान वितरण गरिनेछ । विधेयकमा अनुदानग्राहीलाई दिइने अनुदान सम्बन्धी मापदण्ड पनि उल्लेख गरिएको छ । उक्त मापदण्डमा कुनै पनि तहका सरकारबाट अनुदान लिएको अनुदानग्राही वा उसको एकाघरको परिवारलाई तीन वर्षसम्म कुनै अनुदान उपलब्ध नगराउने व्यवस्था गरिएको छ । यसअघि अनुदान रकम एउटै व्यक्ति वा फर्मले पहुँचको भरमा पटक–पटक पाउने गरेको गुनासो हुने गरेको थियो । यो व्यवस्था लागू भएको खण्डमा उक्त गलत प्रवृत्ती रोकिने अपेक्षा गरिएको छ ।

दण्ड र सजायको कमजोर व्यवस्था

विधेयकले अनुदानलाई व्यवस्थित गर्न खोजेको भएपनि अनुदान रकम दुरुपयोग गर्ने वा ऐनले तोकेको विभिन्न ८ वटा कार्य गरेमा जरिमानाको व्यवस्था गरेको छ । विधेयकमो परिच्छेद ३ मा उल्लेख भएको जरिवाना गर्नसक्ने व्यवस्थाहरुमा सम्झौता बमोजिमको काम नगरेमा वा तोकिए भन्दा अन्य कार्य गरेमा, कम वा कम गुणस्तरको काम गरेमा, अन्य व्यक्ति, फर्म, कम्पनीले गरेको कामलाई आफूले गरेको भनी अनुदान लिन खोजेको पुष्टि भएमा वा अनुदान लिन खोजेमा, झुट्टा वा गलत विवरण पेश गरी वा अन्य व्यक्ति, फर्म, कम्पनीको नाम किर्ते गरी वा अन्य कसैको किर्ते सहीछाप गरी अनुदान लिएमा, झुट्टा विवरणको आधारमा परियोजनाको लागत अस्वभाविक रुपमा बढाई बढी अनुदान लिएमा, अनुदान प्राप्त गर्न कृषक समूह, सहकारी वा उपभोक्ता समिति आदिको बैठक तथा उपस्थिति आदिको झुठो निर्णय तथा अरुको नामको सहीछाप तथा प्रमाण पत्र पेश गरेमा, प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने रकम फिर्ता नगरेमा र व्यवसायको निरन्तरता नदिएमा सजाय हुने व्यवस्था छ ।

तर, सजाय भने कम राखिएको छ । अनुदान दुरुपयोग गर्नेलाई कडा कारबाही हुनुपर्ने माग सर्वत्र छाइरहेको बेला निर्माण हुन लागेको कानूनमा भने सोही व्यवस्था कमजोर हुन नहुने कृषक अगुवाहरुको माग छ । विधेयकमा अनुदान दुरुपयोग भएको ठहर भएमा अनुदान प्राप्त गरेको रकम असूलउपर गरी अनुदान रकमको १५ देखि २५ प्रतिशतसम्मको जरिवानाको व्यवस्था छ । अनुदान दुरुपयोग गरेको ठहर भए त्यस्तो अनुदानग्राहीलाई पाँच वर्षसम्म अनुदानबाट वञ्चित गर्ने उल्लेख छ ।

के भनेका थिए सांसदहरुले ?

जनता समाजवादी संसदीय दलका नेता जयराम यादवले विधेयक अत्यन्तै सकारात्मक रहेको भन्दै प्रशंसा गरे । ‘यो विधेयकले कसरी अनुदानका कार्यक्रम जनतामा पुग्छ र कसरी कार्यान्वयन गरिन्छ भन्ने विषय स्पष्ट ढंगबाट आएको छ,’ नेता यादवले भने ‘यो कानूनले स–सान विषयहरु अत्यन्त राम्रोसँग समेटेर तयार पारिएको छ ।’

नेकपा माओवादी केन्द्रका सांसद झलकसिंह दर्लामीले पनि विधेयक राम्रो ढंगबाट तयार भएको भन्दै प्रशंसा गरेका थिए । उनले १ करोड बढी अनुदान पाउने अनुदानग्राहीले ३५ प्रतिशत अनुदान वापतको रकम फिर्ता गर्नुपर्ने प्रावधान सकारात्मक भएको पनि बताए ।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले पनि कृषि अनुदान दुरुपयोग हुने गरेको सत्य भएको र विधेयकले त्यसलाई रोक्ने प्रयत्न गरेको बताए । ‘झोले किसानले अनुदान पाउने र वास्तविक किसानले नपाउने अवस्था अन्त्य गर्न विधेयक महत्वपूर्ण हुने विश्वास छ,’ राजभण्डारीले भनेका छन् ।

सोमबार, २५ साउन, २०७८, बिहानको ११:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर