पाँचथर । पाँचथरको फिदिम नगरपालिका ९ का नरेन्द्रप्रसाद घिमिरेले व्यवसायिक रुपमा मौरीपालनमा जीवन बिताइरहेका छन्। उमेरले ७६ वर्ष पुगेका घिमिरे अझ पनि फागुन र मंसिरको समयमा जङ्गलमा गएर मौरीको खोजी गरि मौरीका घार बृद्धि गरिरहेका हुन्छन् ।
सामान्य रुपमा धेरै वर्ष अघिबाट उनका घरमा मौरी पालिएका थिए । तर, २० वर्षदेखि भने व्यवसायिक रुपमा मौरीपालन पेशामा उनी लागेका छन् । पहाडको मौरीको मह अमृतमय औषधिका रुपमा प्रयोग गरिन्छ । यस्को खोजी र बजारको सम्भावना पनि राम्रो छ ।
घिमिरेका अनुसार विभिन्न फूलको सिजनका बेला एक घारमा करिब ४ देखि ५ केजीसम्म मह उत्पादन हुने गर्छ । विशेषगरी जङ्गगली फूल र तोरीमा रमाउने मौरीलाई पहाडकी ‘अमृत रानी’ पनि भनिन्छ ।
बिशेषत वन जङ्गलका रसिला फूल फुल्ने समयमा यसको मह काडिने र त्यो मह सेवन गरे विभिन्न रोगसँग लड्नसक्ने क्षमता वृद्धि हुने पुरातनवादी मान्यता रहेको छ । घिमिरेले पहाडका जङ्गलहरुमा रहेका मौरीको खोजी गरि घरको पुरातात्त्विक घारमा राखिरहेका छन् । उनीसँगै नजिकका केशव घिमिरे पनि जोडिएका छन् ।
घिमिरे भन्छन्, ‘जाडो मौसममा जङ्गल झर्ने र गर्मी मौसममा लेकाली हावापानीमा घार नसजाएका मौरीहरु बसाइँ जाने गर्छन् । त्यो समयमा जङ्गल पहिचान गरि जङ्गलमा मौरी खोज्न गरेको छु ।’ आधुनिक घार नभएर बच्चा हुर्काउन भने नसकेको उनको भनाइ छ । उनी थप्छन्, ‘मौरी पालेरै घर खर्च चलाएको छु, वर्षको ५० देखि ६० हजार रुपैयाँसम्मको मह बिक्री हुने गरेको छ ।’ उनको घरमा अहिले २२ घार मौरी छन् ।
समय र सिजनले साथ दिए मनग्गे आम्दानी हुने मौरी पालन ब्यबसायबाट आधुनिक घारको निर्माण भए घरमा नै मौरीका भुरा उत्पादन हुने बताइन्छ । घरमा पालन गरिने मौरीका प्रजातीमा मेलोफेरा र सेरोना हुन् । तर, पहाडी हावापानीलाई सुहाउने र राम्रो आम्दानी दिने मौरी सेरेना प्रजाती हो । यस्ले अनुकुल हावापानी भएमा तीन तीन महिनामा मह उत्पादन गर्छ ।
उमेरले वृद्ध अबस्थामा प्रवेश गरेका घिमिरे आफू जिउँदो भएसम्म यो ब्यबसाय नछाड्ने जिकिर गर्छन् । हाल उनकोमा उत्पादन भएको मह प्रतिकेजी दुई हजार रुपैयाँमा बिक्री हुने गरेको छ ।
सारै राम्रो समाचार लेखेको मा ग्यानी बैनी लाई धन्यवाद