विराटनगरका अस्पतालमै अक्सिजन अभाव, थप बिरामी लिन नसक्ने

विराटनगर । कोरोना संक्रमित बिरामीहरुको उपचारका निम्ति प्रदेश १ कोे मोरङमा सञ्चालित कोभिड अस्पतालहरूमा अक्सिजन अभाव हुन थालेको छ ।

पछिल्लो ३ दिनयता मोरङका ४ वटै ठुला कोभिड अस्पतालहरुमा अक्सिजन अभाव हुन थालेको हो । अक्सिजनको सहज आपूर्ति नहुँदा अस्पतालमा उपचाररत बिरामीहरुको ज्यानसमेत जोखिममा परेको छ । अस्पतालहरुले थप बिरामी भर्ना समेत लिन छोडेका छन् ।

विराटनगर–१० स्थित कोशी अस्पताल अन्र्तगतको कोभिड–१९ उपचार केन्द्रमा हाल ७५ जना कोरोना संक्रमितको उपचार भईरहेको छ । उपचाररत बिरामीहरु २६ जना महिला र ४९ जना पुरुष हुन् । तर अक्सिजनको अभावका कारण ९६ शैयाको यस अस्पतालले थप बिरामी भर्ना लिन सकेको छैन । दैनिक ५ सय अक्सिजन सिलिण्डर खपत हुने गरेको यस अस्पतालमा हाल किस्ता किस्तामा माग आपूर्ति भइरहेको छ । अस्पतालले मारुती, विनायक र भाजुरत्न अक्सिजन ईन्डिष्ट्रिजबाट अक्सिजन ल्याउने गरेको छ । तर अक्सिजन लिन जाँदा उद्योगमै लाईन लाग्नुपर्ने बाध्यता रहेको अस्पतालका सुचना अधिकारी अनुपम राजवंशीले बताए । ‘पहिले सजिलै माग बमोजिम अक्सिजन आपूर्ति हुन्थ्यो’, उनले भने, ‘तर उद्योगहरुले अरुतिर पनि पठाउन थालेपछि हामीलाई दैनिक आपूर्तिमा समस्या भएको छ । अस्पतालमा ब्याकअप पनि छैन ।’

मोरङको बुढीगङ्गास्थित विराट मेडिकल कलजद्वारा सञ्चालित २ सय ९१ शैया क्षमताको कोभिड अस्पतालको समस्या पनि उस्तै छ । अस्पतालमा हाल १०४ जना संक्रमित उपचाररत छन् । जसमा ६४ जनाको उपचार आई.सि.यु. मा भईरहेको छ । तर १ सय ८७ भन्दा बढी बेड खाली हुँदाहुँदै पनि अक्सिजन अभावका कारण अस्पतालले थप बिरामी भर्ना लिन सकेको छैन । अस्पतालमा दैनिक माग ८ सय ५० सिलिण्डर अक्सिजन चाहिन्छ । तर हाल ४ सय ५० सिलिण्डर मात्र आपूर्ति भईरहेको अस्पतालले जनाएको छ । आपूर्ति भईरहेको अक्सिजन पनि पूर्ण क्षमतामा खपत भईरहेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डेनिस कार्कीले बताए । उनले अस्पतालसँग ब्याकअप पनि नभएको र भर्ना भएका बिरामीलाई अन्यत्रै पठाउने अवस्था पनि नरहेकोले ठूलो चुनौती आईपरेको जिकिर गरे ।

‘अक्सिजन आपूर्तिमा ढिलाई हुँदा बिरामीको अक्सिजन कम गरिदिन्छौं । तर धेरै बेरसम्म त्यसो गर्न सकिँदैन’, उनले भने ‘अक्सिजन आपूर्तिमा मात्र ३ घण्टा ढिलो भयो भने १ सय जना बिरामीले ज्यान गुमाउनुपर्छ ।’

कोरोना संक्रमितको निःशूल्क उपचारका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्झौता गरेको नोबेल मेडिकल कलेज पनि अक्सिजन अभावमै आफ्नो क्षमता २२० बेडबाट घटाएर १९० बेडमा झारेको छ । अस्पतालमा हाल १ सय ५५ जना संक्रमितहरुको उपचार भईरहेको छ । अक्सिजन आपूर्तिमा कुनै समस्या नभए क्षमता वृद्धि गरेर २५० बेडको अस्पताल पनि सजिलै सञ्चालन गर्न सकिने नोबेल मेडिकल कलेजका निर्देशक डा. राजेश नेपालले बताए । ‘नोबेलमा दैनिक ३६० वटा अक्सिजन सिलिण्डर खपत हुन्छ । अस्पतालको आफ्नै अक्सिजन प्लान्टले दैनिक १२० सिलिण्डर उत्पादन गर्र्छ । बाँकी २४० सिलिण्डर उद्योगबाट ल्याउनुपर्छ’, उनले भने, ‘तर बाहिरबाट अक्सिजन ल्याउनै गाह्रो छ । दुःख गरेर अस्पताल चलाईरहेका छौंं ।’

यस्तै न्यूरोद्वारा सञ्चालित कोभिड अस्पतालका प्रशासन विभागका अजित बस्नेतले अक्सिजन आपूर्ति प्रभावित भएपछि बिहीबार बिहानबाट अस्पतालमा नयाँ संक्रमित भर्ना लिन छाडिएको बताए । हाल अस्पतालमा ३८ जना कोरोना संक्रमितहरुको उपचार भईरहेको बताउँदै उनले दैनिक खपतको आधा प्रतिशत अक्सिजन मात्र आपूर्ति भइरहेको जानकारी दिए । ‘न्युरोको कोभिड अस्पतालमा दैनिक ९० वटा अक्सिजन सिलिण्डर चाहिन्छ’, उनले भने, ‘तर अहिले हामीसँग मात्र ५ घण्टालाई पुग्ने २६ वटा अक्सिजन सिलिण्डर छ । गाडी पठाएका छौं । जति पाइन्छ, त्यति लिएर आउँछौं ।’

प्रदेश १ को मोरङमा मारुती र हिमाल तथा सुनसरीमा विनायक, पाथिभरा र दुर्गा उद्योगले अक्सिजन उत्पादन गरिरहेका छन् । संक्रमणसँगै माग बढेपछि धान्न समस्या भईरहेको उद्योग सञ्चालकको भनाइ छ । प्रदेश २ बाट पनि अक्सिजनको माग हुन थालेपछि आपूर्तिमा समस्या भएको सञ्चालकहरुले जनाएका छन् ।

झन पछिल्लो समय गम्भीर प्रकृतिका बिरामीलाई हाईब्लोमा अक्सिजन दिनुपर्ने भएकाले अस्पतालबाटै मागवृद्धि भएपछि सिमीत उत्पादनले क्षमताले आपूर्ति गर्न असहज भएको हिमाल अक्सिजन ईन्डिष्ट्रिजका प्लाण्ट म्यानेजर मोहम्मद नविलले बताए । ‘हामीले चौबिसै घण्टा पूर्ण क्षमतामा अक्सिजन उत्पादन गरिरहेका छौं । तर कहिलेकाँही प्लाण्ट बिगे्रर लोड अरु उद्योगलाई पर्छ’, उनले भने, ‘लोड पर्दा अस्पतालहरुमा माग बमोजिम आपूर्ति गर्न सकिँदैन ।’

मोरङको बुढीगंगास्थित हिमाल अक्सिजनले भने दैनिक ५५० सिलिण्डर अक्सिजन उत्पादन गरिरहेको छ । प्रदेश १ मा हालसम्म ५६ हजार ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ३५ हजार ५३२ जना संक्रमणमुक्त भएका छन् भने ८ सय ५८ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।

शनिबार, १५ जेठ, २०७८, रातीको ०८:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर