विराटनगर । सरकारले अध्यादेश मार्फत बजेट ल्याउने तयारी गरेको छ । जेठ १५ गते संघीय संसदमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था भएपनि सरकारले प्रतिनिधिसभा विघटन गरेका कारण अध्ययादेश मार्फत बजेट ल्याउन लागेको हो ।
बजेटका सन्दर्भमा छलफल गर्न शनिबार बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बजेटका सैद्धान्तिक तथा नीतिगत विषयमा बैठकले महत्वपूर्ण निर्णय लिने बताइएको छ । बजेट प्रस्तुत गर्नुभन्दा १५ दिन अघि नै संसदबाट वार्षिक नीति तथा कार्यक्रममा छलफल गरिसक्नु पर्ने व्यवस्था भएपनि सरकारले त्यसलाई टार्दै जेठ ७ गते मध्यराति प्रतिनिधिसभा विघटन गरेको थियो ।
आज अपरान्ह ४ बजे सरकारले बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । ११ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले विनियोजन अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने र राष्ट्रपतिबाट अध्यादेश स्वीकृत भएपछि अपरान्ह बजेट सार्वजनिक गरिनेछ । विपक्षी दलहरुले अध्यादेश मार्फत बजेट नल्याउन खबरदारी गरिरहेको भएपनि सरकारले भने पूर्ण आकारको बजेटकै तयारी गरेको छ ।
यस वर्षको बजेट स्वास्थ्य क्षेत्र केन्द्रित हुने यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । आफ्नो कार्यकालमा अघि बढाइएका विकास निर्माणका कामलाई पनि बजेटमा निरन्तरता दिने ओलीको भनाइ छ । डेढ महिनाअघि उनले यसपालि वृद्ध भत्ता बढाउने घोषणा पनि गरेका थिए । बजेट मार्फत कर्मचारीहरुको तलब तथा भत्ता बढाउने, सामाजिक सुरक्षा भत्ता बढाउने लगायतका पपुलिष्ट कार्यक्रम ल्याएर सरकारको अलोकप्रियता ढाकछोप गर्ने तयारी भएको जानकारहरुले बताएका छन् ।