खाने तेलको मूल्य अस्वभाविक रुपमा वृद्धि

सोयाबिन, सनफ्लावर र तोरीको तेलको मूल्य प्रतिलिटर ९० देखि १०० रुपैयाँले वृद्धि

विराटनगर । निषेधाज्ञाको मौका छोपी खाने तेलमा भएको अस्वाभाविक मुल्य वृद्धिले आम उपभोक्ता मारमा परेका छन् ।

तेल उत्पादकहरुबाटै भएकोे अस्वाभाविक मूल्य वृद्धिले गर्दा उपभोक्ता मारमा परेका हुन् । पछिल्लो केही महिनायता मोरङको विराटनगरमा खाने तेलको मूल्य अस्वभाविक रुपमा बढेको छ । कोरोना महामारीको रोकथाम तथा न्यूनीकरणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेसँगै दैनिक उपभोग्य खाद्य सामाग्रीसहित तेलको मूल्य पनि अस्वभाविक रुपमा बढेको हो ।

बजारमा आम उपभोक्ताले अधिकतम खुद्रा मूल्यभन्दा पनि बढी पैसा तिरेर खाने तेल खरिद गर्नुपर्ने बाध्यता छ । अघिल्लो वर्षको तुलनामा यसपटक सोयाबिन, सनफ्लावर र तोरीको तेलको मूल्य प्रतिलिटर ९० देखि १०० रुपैयाँले वृद्धि भएको विराटनगर–२ तिनपैनीका विजय शर्माले बताए । निषेधाज्ञा भएसँगै तेलको मूल्य एकाएक आकाशिएको उनले जिकिर गरे । ‘अहिले बन्दाबन्दीको अवस्थामा आम उपभोक्ताको क्रयशक्ति यत्तिकै कमजोर भएको छ’, उनले भने, ‘झन् दैनिक उपभोग्य वस्तुकै मूल्य बढेपछि हामीलाई निकै समस्या भएको छ ।’

निषेधाज्ञा जारी हुनभन्दा ५ महिनाअघि मोरङमा धारा तोरीको तेलको मूल्य २ सय ५ रुपैयाँ प्रतिलिटर रहेको थियो । हाल सो तेलको मूल्य १०५ रुपैयाँले वृद्धि भई ३ सय १० रुपैयाँ प्रतिलिटर पुगेको छ । १६२ रुपैयाँ प्रतिलिटरका दरले बिक्री भएको सनफ्लावर तेलको मूल्य पनि सो अवधिमा ९८ रुपैयाँले वृद्धि भई हाल २६० रुपैयाँ प्रतिलिटर पुगेको छ । यस्तै २ सय १० रुपैयाँ प्रतिलिटरका दरले खरिद बिक्री हुँदै आएको घैला छाप शुद्ध तोरीको तेल पनि हाल २८० रुपैयाँ प्रतिलिटर पुगेको छ । उत्पादकबाटै मूल्य बढेर आएपछि आफूले पनि सोही अनुसार बिक्री वितरण गर्नुपरेको खुद्रा व्यापारी आश्विन पाठकले बताए । उनले उत्पादकबाटै कालोबजारी भईरहेको भन्दै उनीहरुलाई कारबाहीको दायरामा ल्याउन माग गरे ।

सुनसरी–मोरङ करिडोरमा सानाठूला गरि आधा दर्जन उद्योगले तेल उत्पादन गर्दै आएका छन् । जसमा के.एल.दुगड ग्रुप, बाबा आयल ईन्डिष्ट्रिज, बाग्मती आयल ईन्डिष्ट्रिज, चन्द्रशिव आयल र बोहोरा ग्रुप मुख्य तेल उत्पादक उद्योगहरु हुन् । उद्योेगहरुले अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यवृद्धि भएसँगै उत्पादन लागत बढेपछि स्वभाविक रुपमा स्वदेशी बजारमा पनि खाने तेल महँगो भएको जानकारी गराएको थोक व्यापारी अजय सन्थालियाले बताए ।

विश्व बजारमै तेल महँगो भएपछि स्वभाविक रुपमा नेपालमा तेलको मूल्य बढेको उद्योगपतिहरुको तर्क छ । बाबा आयल ईन्डिष्ट्रिजका सञ्चालक समेत रहेका मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्डदाले विश्व बजारमै तेलको मूल्य वृद्धि भएको बताए । ‘विश्व बजारमै सनफ्लावरको मूल्य ७ सय डलरले वृद्धि भई १५ सय डलर पुगेको छ’, उनले भने, ‘यदि स्वदेशी बजारमा अस्वभाविक मूल्य वृद्धि भएको छ भने, त्यसमा थोक बिक्रेताहरुले बदमासी गरेको हुनसक्छन् ।’

पछिल्लो समय खाने तेलमा मूल्यवृद्धि भएको जनगुनासो बढेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले पनि अग्रसरता लिएको छ । कार्यालयले उत्पादन लागत र बजार मूल्य बिचको अन्तर विश्लेषणका निम्ति अधिकार क्षेत्रभित्रका उद्योगहरुको कच्चा पर्दाथको खरिद सूची, उत्पादन लागत र उत्पादित मूल्यसहितको विस्तृत विवरण पठाउन पत्राचार गरेको जनाएको छ ।

बजारको अवस्था विश्लेषणका क्रममा कच्चा पदार्थमा भएको मूल्यवृद्धिको अनुपात विपरीत, खानेतेलको मूल्यवृद्धि भएको पाईए कानुन बमोजिम कारबाही समेत गरिने कार्यालयका प्रमुख सन्तोष पोखरेलले बताए । उनले उपभोक्ता छल्ने व्यापारीलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम पहिलो पटकका लागि २ देखि ३ लाख रुपैयाँसम्मको जरिवाना समेत गरिने जानकारी दिए ।

मोरङमा धारा, बाबा, घैला, सेलो, स्वस्तिक, सनफ्लो, विगुल, खुकुरी, च्वाइस र अमृतसहित आधा दर्जन बढी ब्राण्डका खाने तेल बिक्री वितरण भइरहेका छन् ।

बिहिबार, १३ जेठ, २०७८, साँझको ०७:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर