विराटनगर । निषेधाज्ञा र लकडाउनका कारण मारमा परेका सुनसरी–मोरङ औद्योगिक करिडोरका २ हजार बढी मजदुरलाई लक्षित गरेर उद्योग परि संघ र एशियन थाइ फुड्सले २५ लाख बराबरको राहत वितरण गरेको छ ।
नेपाल उद्योग परिसंघ प्रदेश १ समितिको समन्वय र एशियन थाइफुट्सको सौजन्यमा दुहवी नगरपालिकामा रहेका २००० श्रमिकका परिवारलाई सो राहत हस्तान्तरण गरिएको हो ।
लकडाउनले उद्योगहरुको उत्पादन कटौति भएको र कतिपय उद्योगहरु बन्द भएकाले समस्यामा परेका मजदुरलाई कम्तीमा एक सातासम्म पुग्ने खाद्यान्न वितरण गरिएको नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए ।
उक्त राहत राहत वितरण गर्न सम्बन्धित वडाका वडाध्यक्षलाई राहत प्याकेज सामाग्री हस्तान्तरण गरिएको छ । अध्यक्ष घिमिरेले दुहवी नगरपालिकाका ५ वटा वडाका २००० हजार मजदुर परिवारलाई पहिलो चरणमा राहत दिइएको बताए ।
एशियन थाइफुट्सका संचालक महेश जाजूले मानवीय सेवाका लागि जहिले पनि एशियन ग्रुप तयार रहने बताए । दुहवी नगरपालिकाका २, ८, ९, १०, ११ वडा नम्बरका वडाध्यक्षहरुलाई प्रत्येक वडाका चार सय जनालाई एक साता पुग्ने सामाग्री हस्तान्तरण गरिएको हो । ९ नम्बर वडाका वडाध्यक्ष मेहदी हुसैनले आयोजकलाई धन्यवाद दिँदै विपन्न परिवारलाई इमान्दारीताका साथ राहत सामाग्री वितरण गरिने जानकारी दिए ।
एक पोका राहत सामाग्री भित्र ५ केजी चामल, एक केजी दाल, एक लिटर खानेतेल, एक केजी नून, ५ प्याकेट चाउचाउ, एक पोका विस्कुट, भटमासको मस्यौरा र १० थान मास्क रहेको छ ।