आफ्नो भेषभुषा ‘पेटानी’को संरक्षणमा धिमाल महिला

मोरङ । ‘दाबोना’ अर्थात् पेटानी धिमाल समुदायका महिलाले लगाउने गर्छन् । तर, आधुनिकताका कारण अहिले महिलाले पेटानी लगाउन छाड्दै गएका छन् ।

अझ युवा पुस्तामा आफ्नै जातीय पहिरनप्रति आकर्षण छैन । पेटानी गुन्यूजस्तै हो तर, पेटानी करिब पाँच÷छ हात मात्रको हुन्छ । पेटानी लगाउने महिलाले चोलो लगाउँदैनन् । पेटानी लगाउने महिलाले छाती मात्रै छोप्छन् र पेटानी घुँडा मुन्तिरसम्म मात्र लगाउँछन् ।

पेटानी प्रायः कालो रङको हुन्छ । यो घरमै महिलाले धागो कातेर तानमा बनाउने गर्छन् । पेटानी बनाउने धिमाल जातिको हाम्रो पुख्र्याैली पेशा हो । बेलबारी २ कि तुलसा लुइटेल धिमालले यसको संरक्षण गर्ने सके धिमाल समुदायका महिला कोही पनि बेरोजगार हुनु नपर्ने बताइन् ।

झापा र मोरङमा बसोबास गर्दै आएका आदिवासी समुदाय हुन् ‘धिमाल’ । सो समुदाय आफ्नै भाषा, मौलिक पहिचान, जीवनशैली, भेषभूषा, संस्कार संस्कृति रहेको छ । आादिमकालबाट प्रकृतिमा निर्भर रहेको धिमाल समुदायले प्रकृति पूजामा विश्वास राख्दै आएको किंवदन्ती रहको छ । तर उनीहरुको भेषभुषा लोप हुने अवस्थामा आएका छन् । पहिलो पुस्ताबाट दोस्रो पुस्तामा सिप हस्तान्तरण नहुँदा उनीहरुले लगाउने आफ्नै मौलिकतासँग जोडिएका भेषभुषासमेत लोप हँुदै गइरहेका बेला मोरङको बेलबारीका धिमाल जातिका महिलाहरु भेषभुषाको संरक्षणसगै आम्दानीको स्रोत बनाइरहेका छन् ।

बेलबारी नगरपालिकाले तालिम तथा उपकरण दिएपछि धिमाल जातिका युवतिहरु लोप हुँदै गएको भेष भुषाको संरक्ष्णसँगै व्यवसायिकसमेत बनिरहेका छन् । नगरपालिकाले तालिम र उपकरण दिएपछि उनिहरु घर घरमै तान राखेर बिहान बेलुका समय निकाले बुन्ने गरेका छन् ।

विद्यार्थीहरुले समेत तान बुनेर आफ्नो खर्च जुटाई रहेका छन् । समय निकालेर काम गर्न सक्दा राम्रो आम्दानी हुने इस्मिता धिमाल बताउँछिन् । ‘बजार अभाव छैन, नगरप्रमुखले बजारको व्यवस्थापन गरिदिने बताउनु भएको छ,’ उनले भनिन्, ‘केही सामग्रीहरु उहाँहरुले नै खरिद गरेर लगिराख्नु भएको छ ।’

धिमाल जातिका महिलाहरुले झोला, गलबन्दी, पोटानी, तन्नालगायतका कपडा बुन्ने गरेका छन् । जातीय पहिरन संरक्षण हुने तथा त्यसलाई व्यावसायिकता बनाएर आत्मनिर्भर बन्ने लक्ष्यका साथ उनिहरु जुटिरहेका छन् ।

पेटानी घरमै महिलाले धागो कातेर तानमा बनाउने गर्छन् । पेटानी सगै झोला, तन्ना, गलबन्दी समेत उनीहरुले हातेतानको भरमा बुनेर बेच्ने गरेका छन् । उनीहरुले बुनेका सामग्रीको मूल्य ३ सय देखि ३ हजारसम्म रहेको छ ।

निषेधाज्ञाको समयमा पनि उनीहरुले तालिममा लिएको सिपको प्रयोग गरिरहेका छन् । नगरपालिकाकै सहयोगमा एउटा तालिम केन्द्रको स्थपना गरेको धिमाल जाति विकास केन्द्र बेलबारीका अध्यक्ष कविन्द्र धिमालले बताए । उनका अनुसार तालिम संचालनका लागि हल, तथा तान बुन्ने, तान लगाउने मेसिनलगायका उपकरण नगरपालिकाले सहयोग गरेको थियो ।

तालिम लिएर नै ५० जनाभन्दा बढी महिला व्यवसायिरुपमा विभिन्न कपडाहरु उत्पादन गरिरहेका छन् । तालिम दिएर तान बुन्ने मेसिनलगायतका उपकरणहरु नगरपालिकाले दिएपछि उनीहरु हौसिएका छन् ।

बजारीकरणमा समेत नगरपालिकाले सहयोग गरिदिएपछि उनीहरु व्यवसायिक बन्न प्रयास गरिरहेका छन् । उनीहरुको सिपलाई अन्तराष्ट्रिय बजारमा बजारीकरण गरिदिने लक्ष्यसमेत नगरपालिकाले लिएको छ । मोरङका केही स्थानीय तहहरुले धिमाल जातिलाई पहिलो जातिका रुपमा घोषणा गरेका छन् । तर उनीहरुको संस्कार, संस्कृतिको संरक्षणसँगै आर्थिक उत्थानमा भने खासै चासो दिने गरेका छैनन् । ‘उनीहरुले उत्पादन गरेका वस्तुको अन्तराष्ट्रिय बजारमा बजारीकरण आफै गर्ने बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुबेदी बताउँछन् । ‘संस्कार, सस्कृतिसँग पनि जोडिएका वस्तुबाट राम्रो आम्दानी गर्न सकिन्छ,’ सुवेदीले भने ।

आइतबार, ०९ जेठ, २०७८, साँझको ०६:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर