विराटनगर । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा सुधार देखिएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म कोषले ५९ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६.०४ प्रतिशतले बढी हो । आम्दानीको तुलनामा कोषको खर्च न्यून दरमा बढेपछि खुद नाफामा सुधार देखिएको हो । समीक्षा अवधिमा कोषको कुल आम्दानी ४०.५७ प्रतिशतले बढेको छ भने कुल खर्च १.९६ प्रतिशतले मात्र बढेको छ ।
समीक्षा अवधिमा कोषको चुक्ता पूँजी १२३.०८ प्रतिशतले बढेर ३ अर्ब रुँपैया पुगेको छ । यस्तै कोषको जगेडा कोषको आधार ८३.०३ प्रतिशतले बढेको जनाईएको छ । खुद नाफा बढेपनि चुक्ता पूँजी अधिक बढाउँदा कोषको प्रतिशेयर आम्दानीमा भने दबाब परेको छ ।
समीक्षा अवधिमा कोषको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ३१ पैसाले घटेको छ । त्यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ भने ५२ रुपैयाँले घटेको छ ।