कोनेपोखरी, (मोरङ) । दोस्रो लहरमा फैलिएको कोभिड–१९ संक्रमणले अहिले सहर र गाउँले जनजीवन छुट्याएको छ । सहर सुनसान छ, जीवन टक्क अडिए जस्तो बनेको छ ।
गाउँमा भने स्वाभाविक चहलपहल छ । गाउँमा खुला परिवेश, खेतीपातीमा व्यस्तता र प्राकृतिक जीवनशैलीले मानिसको ऊर्जामा कमी आएको छैन ।
संक्रमण रोकथाम र नियन्त्रणमा सरकारले लागू गरेको निषेधाज्ञाका कारण ग्रामीण क्षेत्रका किसान प्रभावित भएका छन् । तर, हिँडडुलमा रोक लगाएका बेला पनि गाउँघरमा सर्वसाधारण फुर्सदिला छैनन् । उनीहरू धमाधम काममा व्यस्त देखिन्छन् ।
सहरमा सुतेर दिन काट्नु परिरहेको गुनासो सुनिन्छ । गाउँघरमा कसैलाई सुत्ने फुर्सद छैन । दैनिक घर व्यवहार र बाली स्याहार्न भ्याइनभ्याईले उनीहरूले निषेधाज्ञा बितेको पत्तै पाउँदैनन् ।
गाउँका बासिन्दा निषेधाज्ञामा झन् व्यस्त छन् । यतिबेला हिउँदे धान लहलह भएर हुर्किदैछ । त्यसलाई गोडमेल र बर्खे धान रोप्नको लागि धानको बिउ राख्न ब्याड बनाउन किसान व्यस्त छन् । रोजगारीको सिलसिलामा जिल्लाबाहिर गएका पनि फर्किएका छन् । त्यसले काम गर्ने जनशक्ति थपिएको छ ।
समयमै पानी परेपछि निषेधाज्ञाकै अवधिमा पनि मोरङको कानेपोखरी गाउँपालिकामा बर्खे धान रोप्नको लागि धानको बिउ राख्न ‘ब्याड’ बनाउन सुरु गरेको छ । यसपटक समयमै वर्षात् भएपछि किसानहरू धानको बिउ रोप्न थालेका हुन् । पछिल्लो समयमा मनसुन सक्रिय भएपछि किसान निषेधाज्ञामा खेती कर्ममा तल्लिन छन् ।
किसान यतिबेला बारीमा भेटिन्छिन् । उनीहरू धान, मकै गोठेमल र मकै छर्ने कार्यमा व्यस्त छन् । ‘अहिले हिउँदे धान हुर्किदैछ । यो धान जेठ महिनाभित्रमा पाक्छ । त्यसपछि बर्खे धान लगाउन सुरु गर्नुपर्ने हुन्छ । त्यसको लागि अहिले धानको रोप्न ब्याड राख्नुपर्ने हुन्छ,’ कानेपोखरी ६ मुलगाउँका पदम बहादुर श्रेष्ठले भने, ‘समयमै पानी परेपछि ब्याड राख्न सुरु गरेका छु । पहिलो चास लगाएको छ । दोस्रो चास खनजोद गरेपछि धानको बिउ छर्नुपर्ने हुन्छ । यसको तयारीमा लागि परेको छु ।’
बर्खे धान जेठको दोस्रो हप्तादेखि सुरु गरेपछि साउनको महिनाभरी किसानले धान रोप्ने गर्दछन् । कतिपय किसानले मकै छर्न थालेको बताएका छन् । वैशाखमै रोपेका मकैको उत्पादन राम्रो हुने किसानको भनाइ छ । समयमै पानी परेपछि किसानहरू खुसी भएका छन् । मकै छर्न किसानलाई भ्याइनभ्याइँ छ । सबै किसान खेतीपातीमै व्यस्त भएकाले खेताला पाउनसमेत मुस्किल भएको उनीहरु बताउँछन् ।
खाद्य संकट हुन नदिन किसानहरू उत्पादन वृद्धि कसरी गर्ने भन्ने ध्याउन्नमा रहेको कानेपोखरीका अर्का किसान सावित्रा पराजुलीले बताइन् । खेतीपातीभन्दा अन्य मजदुरीको काममा ध्यान दिने स्थानीयहरू निषेधाज्ञापछि भने घरकै खेतीपाती लगाउने कार्यमा ध्यान दिन थालेका छन् । ‘यो सकारात्मक पक्ष हो उनले भनिन, ‘आफ्नो उत्पादनले आफूलाई पु¥याउने गरी मिहिनेत गरेर बर्खेबाली लगाउन सुरु भएको छ ।’
प्रदेश १ मा ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमा धान रोपाइ हुने गर्दछ । गत वर्ष करिब ३ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइ भएको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।