शहरका सबै धारा सुके, हात धुने ठाउँ खै ?

विराटनगर । कोभिड १९ को संक्रमणका बेला हातधुनका लागि राखिएका पानी ट्यांकी र धाराहरु सुकेका छन् । कोरोनको दोस्रो लहरको जोखिम आइरहेको बेला पानीका ट्यांकी रहेका स्थानहरु अहिले फोहोर फाल्ने डस्टबीन झैं भएका छन् ।

संक्रमण बढेको बेला अनिवार्य हात धुन लगाएर मात्र कार्यालयमा प्रवेश गराउने चलन संक्रमण घटेसँगै हराउदै गयो । प्रदेश सरकारले कोरोनाबाट जोगिन सुरक्षाका विभिन्न उपायहरु अवलम्बन गरेको थियो । त्यहि क्रममा सार्वजनिक स्थलमा पानीका ट्यांकी र धारा राखेर हात धुनका लागि साबुनकोसमेत प्रबन्ध गरिएको थियो ।

कतिपय ठाउँमा समुदायबाटै सार्वजनिक स्थानहरुमा पानीका धाराहरु राखिएका थिए भने कतिपय ठाउँमा स्थानीय तह र प्रदेश सरकारले धारा राख्ने काम गरेको थियो । सामाजिक विकास मन्त्रालयले संक्रमणबाट जनतालाई जोगाउन जनसुरक्षा र सचेतनाका लागि विभिन्न अभियानहरु सञ्चालन गरेको थियो ।

ती अभियानहरु सञ्चालन गर्दा सरकारले छुट्टै अनुगमनका संयन्त्रहरु परिचालन गरेर प्रभावकारिता बढाउने काम गरेको थियो । तर, पछिल्ला केही महिना अघि बिस्तारै कोरोना संक्रमणको दर घट्दै गयो र स्वास्थ्य सुरक्षा र सचेतनाका कार्यक्रमहरुपनि सुस्ताउदै गयो । यस अवधिमा राजनीतिक अस्थिरतासँगै सरकारले सञ्चालन गरेका जनस्वास्थ्य र सचेतनाका कार्यक्रमहरुले निरन्तरता पाउन सकेन । जसले गर्दा स्वास्थ्य सुरक्षाका कार्यक्रम प्रभावकारी बन्न नसकी निष्प्रभावी बनेको छ ।

प्रदेश सरकार, विराटनगर महानगरपालिका र समुदायस्तरबाट विराटनगरको पुष्पलाल चोक, शनिहाट चोक, देवकोटा चोकस्थित जिल्ला समन्वयन समितिको कार्यालय, ट्राफिक चोक, रोडशेष चोक आदि ठाउँहरुमा हातधुनका लागि पानीको धारा राखिएका थिए । तर, ती सबै धारामा अहिले पानी आउँदैन । धारा सुकेको धेरै महिना बितेको छ । धारा राख्ने प्रदेश वा स्थानीय सरकारले ती धाराहरु कुन अवस्थामा छन् पत्तो पाएका छैनन् ।

अहिले कोभिड १९ को नयाँ भेरियन्ट फैलिने क्रममा छ । दिनहुँ संक्रमितहरुको संख्या बढिरहेको बेलामा स्वास्थ्य सुरक्षाको सवालमा प्रदेश सरकार गम्भीर भएको छैन ।

पूर्वसामाजिक विकास मन्त्री जीवन घिमिरे सीमा नाकाहरु, विमानस्थल र बसपार्कहरुमा हेल्थ डेस्कहरु राख्ने, सर्वसाधारणका लागि हातधुने व्यवस्था गर्ने, सेनिटाइजर र माक्सको प्रयोगलाई बढाउने आदि कार्यमा सरकार गम्भीर नभएको अनुभूति गरेको बताउनुभयो । ‘हामीले स्वास्थ्य सुरक्षाको उचित पबन्धको प्रयास गरेका थियौं, नियमित अनुगमन र निरीक्षणको विधिबाट ती कामहरुलाई व्यवस्थित गर्ने काम भएको थियो,’ पूर्वमन्त्री घिमिरेले भन्नुभयो ‘तर अहिले सरकारले सामान्य कामहरु पनि गर्ने प्रयत्न गरेको मैले देखेको छैन, अवस्था हेरेर कार्यक्रम र अभियानहरु सरकारले चलाउन सकेको छैन ।’

आइतबार, २९ चैत, २०७७, बिहानको १०:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर