कोभिडको दोस्रो लहर आउने चिन्ता

कोशी कोभिड अस्पताल स्वास्थ्यकर्मी विहीन, तत्काल लकडाउन गर्ने योजना छैन, नयाँ संक्रमित फेला पर्ने क्रम बढ्यो

विराटनगर । कोरोना उपचारका लागि प्रदेश सरकारले विराटनगरमा स्थापना गरेको कोसी कोभिड अस्पतालमा करार सेवामा कार्यरत ६८ जना कर्मचारीहरुलाई फागुन अन्तिम साता सरकारले अवकाश दियो ।

करार अवधि थप नगरी कर्मचारीहरुलाई अवकास दिएको दुई हप्ता बित्न नपाउँदै विराटनगरमा फेरि कोरोना संक्रमितहरु भेटिन थालेका छन् । संक्रमितहरु उपचारका लागि अस्पताल आउन छोडेपछि कर्मचारीलाई अवकास दिएको अस्पतालमा उपचारका लागि संक्रमितको चाप बढेमा कसरी उपचार सेवा दिने भन्ने चिन्ता बढेको छ ।

कोरोना संक्रमणको महामारीमा जोखिम वहन गरेर अस्पतालमा काम गरेका कर्मचारीहरुलाई अवस्था सहज भएपछि खालिहात घर फर्काएको थियो । संकटमा काम गरेका स्वास्थ्यकर्मीलाई स–सम्मान बिदा गर्ने वा अस्पतालमा सेवा थप गरेर उनीहरुलाई काममा लगाइरहने तर्फ ध्यान दिनुको साटो सरकारले उनीहरुलाई जोखिमभत्ता समेत नदिई बिदा गरेपछि उनीहरु अपमानित महसुश गर्दै अस्पतालबाट बाहिरिएका थिए ।

सरकारले फागुन २८ गते नै करार अवधि सकिएका चिकित्सक, नर्स र पारामेडिकललाई हटाइएको हो । त्यहाँ आठजना मेडिकल अफिसर, आठजना स्टाफ नर्स, आठजना एचए, तीनजना सफाइ कर्मचारी, इलेक्ट्रिसियन र प्लम्बर चारजना, बायोकेमिकल इन्जिनियर एक, कार्यालय सहायक ९ र एकजना गार्डको दरबन्दी सिर्जना गरी नियुक्ति दिइएको थियो । अहिले केही स्वास्थ्यकर्मीसहित ८ जना कर्मचारी अस्पतालमा कार्यरत छन् । कोरोना संक्रमण बढेको खण्डमा अस्पतालमा तत्काल दरबन्दी अनुसार कर्मचारी र स्वाथ्यकर्मीहरु थप गर्नुपर्छ ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले दुई महिनासम्म संक्रमित फेला नपरेपछि स्वास्थ्यकर्मीहरुलाई अवकास दिएको तर तत्काल आवश्यक परेको खण्डमा पुनः आवश्यक दरबन्दीमा कर्मचारी भर्ना गर्ने बताउनुभएको छ ।

यसबाहेक प्रदेश सरकार र स्थानीय तहरुले भारतबाट हुने आउजाउलाई निगरानी गर्दै स्वास्थ्य परीक्षण, क्वारेन्टिन र आयसोलेसन व्यवस्थापनमा जोड दिएका थिए । त्यस्ता क्वारेन्टिन, आइसोलेसन र संक्रमितको उपचारका लागि खोलिएका अस्पतालसमेत अहिले सञ्चालनमा छैनन् ।

भारतीय सहरमा कोरोना संक्रमणको दोस्रो वेस सुरु भएसँगै विराटनगरमा पनि भारतबाट आएका मानिसहरुमा संक्रमण भेटिएको छ । नयाँ संक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना महामारीको दोश्रो तरङ्ग आउनसक्ने सम्भावनालाई दृष्टिगत गरी सुरक्षा सावधानीको पूर्व तयारी थालेको छ ।

केही दिनयता भारतका विभिन्न शहरहरुमा बढ्दो कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै मोरङ प्रशासनले पूर्व तयारी थालेको हो । जिल्ला प्रशासन कार्यालय मोरङले सोमबार स्वास्थ्य र सुरक्षा निकाय र खोप समितिको संयुक्त बैठक राखेर सीमा सुरक्षामा कडाई गर्ने र खोप लगाउन बाँकी रहेका फ्रन्टलाइनमा काम गर्ने कर्मचारी तथा ६५ वर्ष माथि उमेर समूहका व्यक्तिहरुलाई खोप लगाउने निर्णय गरेको छ ।

पहिलो र दोश्रो चरणको खोप लगाउने कार्य सम्पन्न भइसक्दा विराटनगर महानगरपालिकासँग ५ हजार ८७० डोज कोभिशिल्ड खोपको मौज्दात रहेको छ । खोपको म्याद चैत्र मसान्तपछि समाप्त हुने भएकाले खोप लगाउन छुटेका १८ बर्षमाथिका सबै आम नागरिकलाई मोरङ प्रशासनले नजिकैको खोप केन्द्र मार्फत खोप लगाउन आग्रह गरेको छ । विराटनगर महानगरपालिकामा वडा नं. ३, वडा नं. ७, कोभिड अस्पताल, कोशी अस्पताल र विरेन्द्र सभागृहलाई खोप केन्द्र तोकिएको छ । खोप लगाउने समय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्मका निर्धारित गरिएको महानगरले जनाएको छ । नागरिकता वा परिचय पत्रको प्रतिलिपी देखाएर कोरोना विरुद्धको खोप लगाउन सकिने महानगरका जनस्वास्थ्य महाशाखा संयोजक रमेश कार्कीले बताउनुभयो । उहाँले १८ बर्ष नाघेका तर नागरिकता नभएकाको हकमा सम्बन्धित वडा कार्यालयको सिफारिश आवश्यक पर्ने जानकारी दिनुभयो ।

यस्तै सोमबार बसेको बैठकले रानी भन्सारमा विश्व स्वास्थ्य सङ्गठनले निमार्ण गरिदिएको अस्थायी स्वास्थ्य केन्द्रलाई व्यवस्थित बनाउने, ल्याब स्थापना गर्ने र ‘एन्टिजेन’ किट मार्फत कोरोना परिक्षण निर्णय गरेको छ । ‘एन्टिजेन’ नामक परीक्षण किटबाट शंकास्पद व्यक्तिको कोरोना परीक्षण गरि तत्कालै नतिजा पाउन सकिने भएकाले सो निर्णय गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको भनाइ छ ।

यसका साथै मोरङ प्रशासनले सीमा क्षेत्रबाट स्वास्थ्य परीक्षण र स्क्रीनिङ बिना जोसुकैको प्रवेशमा प्रतिबन्ध लगाउन निर्देशन दिएको छ । कोरोनाको दोश्रो तरङ्गसँग लड्न आम सर्वसाधारण स्वयंम सचेत हुनु आवश्यक रहेकाले सम्पूर्ण नगरबासीलाई स्वास्थ्य सुरक्षाका विधि अपनाउन मोरङ प्रशासनले आग्रहसमेत गरेको छ ।

सोमबार बसेको बैठकमा भने प्रदेश स्वास्थ्य कार्यालयका प्रमुख सुरेश मेहता, जिल्ला स्वास्थ्य कार्यालय खोप ईन्चार्ज रामानन्द यादव, मोरङका प्रहरी उपरीक्षक सन्तोष खडका र कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दास लगायतको उपस्थिति रहेको थियो ।

नयाँ संक्रमित फेला पर्ने क्रम बढ्यो

केही दिनयता विराटनगरमा कोभिड–१९ का नयाँ संक्रमितहरु फेला पर्न थालेका छन् । संक्रमितहरुको ट्राभल हिस्ट्री अध्ययन गर्दा अधिकांश भारतबाट आएको देखिएका छन् । १५ दिन अघिसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या शुन्य थियो । तर गएको शनिबार गरिएको परीक्षणमा ४ जना नयाँ संक्रमितहरु फेला परेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

भारतबाट आएका व्यक्तिमा संक्रमण देखिन थालेकाले स्वयंम सतर्क हुनु जरुरी रहेको विराटनगरस्थित कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दास बताउनुहुन्छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना नगरे कोरोनाको दोश्रो तरङ्गलाई नकार्न नसकिने उहाँको भनाइ छ ।

कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले भारतबाट आएका मानिसमा संक्रमण फेलापर्न थालेको भन्दै स्वास्थ्य मापदण्ड पालनामा ध्यान दिनुपर्ने बताउनुभएको छ । उहाँले मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, भिड नगर्ने र बारम्बार हात धोइरहने बानी छाड्न नहुने सुझाव दिनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न कमजोरी गर्न नहुने बताउनुभएको छ । उहाँले संक्रमणको जोखिम फरिपनि बढेको भन्दै क्वारेन्टिन र आइसोलेसन सेन्टरलाई पुनः सञ्चालन गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

प्रदेश–१ भर ३० हजार २८७ जनामा संक्रमण

प्रदेश १ मा हालसम्म ३० हजार २८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु १९ हजार १८४ जना पुरुष र ११ हजार १०५ जना महिलामा छन् । जसमा कोरोनामुक्त हुनेको संख्या २९ हजार ७९३ रहेको छ ।

सोमबार गरिएको परीक्षणमा प्रदेश १ मा थप २ जनामा कोरोना पुष्टि भएको छ । सोमबार थपिएका नयाँ संक्रमितहरु सुनसरीको देवानगञ्ज गाउँपालिकाका एक पुरुष र धरान उपमहानगरपालिकाकी एक महिला रहेकी छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार हाल प्रदेश १ मा सक्रिय संक्रमितहरुको संख्या भने जम्मा ३० रहेको छ ।

प्रदेश १ मा हालसम्म भने २ लाख २८ हजार २९८ जनाको कोरोना परिक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

‘तत्काल लकडाउन गर्ने योजना छैन’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना संक्रमण रोकथामका लागि तत्काल लकडाउन गर्ने योजना नभएको जनाएको छ ।

भारतमा संक्रमण दर पुनः बढेपछि लकडाउन हुनसक्ने आशंका बढिरहेको बेला सरकारले तत्काल लकडाउन गर्ने योजना नरहेको र लकडाउन सहज पनि नभएको बताएको हो ।

सीसीएमसीका सदस्य सागर दाहालले भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरुमा संक्रमणको जोखिम थपिएको बताउनुभयो । भारतसँग सीमा जोडिएको प्रदेश नम्बर–१ को राजधानी विराटनगरमा भारतबाट आएका चारजनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । यो अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले आइतबार सबै नाकामा स्वास्थ्य जाँचमा कडाइ गर्न स्थानीय तहहरुलाई निर्देशन दिएको थियो ।

भारतबाट आउजाउ गर्ने नागरिकलाई आवश्यक स्वास्थ्य जाँच र क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन मन्त्रालयले सबै प्रदेशका स्वास्थ्य निर्देशनालय तथा सीमानाकाका हेल्थ डेस्कहरुलाई निर्देशन दिएको छ । साथै, मुलुकभरका अस्पतालहरुलाई महामारी व्यवस्थापनका लागि तयारी अवस्थामा राख्ने पनि मन्त्रालयले जनाएको छ ।

मङ्गलबार, १० चैत, २०७७, बिहानको १०:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर