विराटनगरमा विशिष्टिकृत स्वास्थ्य केन्द्र बन्ने

विराटनगर । प्रदेश नं. १ को राजधानी विराटनगरमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डमा आधारित बहु–विशिष्टिकृत स्वास्थ्य केन्द्र निर्माण हुने भएको छ ।

संक्रमणजन्य रोगहरुको पहिचान तथा नियन्त्रणका लागि विराटनगर–१६ स्थित रानी भन्सारमा स्वास्थ्य केन्द्र स्थापना हुने भएको हो ।

कोरोना महामारीबाट पाठ सिक्दै नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठनको आर्थिक सहयोगमा बोर्डर एरियामै स्वास्थ्य केन्द्र स्थापना गर्न लागेको हो । स्वास्थ्य केन्द्र निर्माणका लागि विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले संयुक्त लगानी गर्ने योजना छ । विराटनगरमा निर्माण हुन गइरहेको स्वास्थ्य केन्द्र करिब १ करोड लागतमा सम्पन्न हुने अनुमान गरिएको छ ।

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको स्वास्थ्य केन्द्र २ तले संरचनाको हुने विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताउनुभयो । स्वास्थ्य केन्द्र निर्माणका लागि विराटनगर महानगरपालिकाले विश्व स्वास्थ्य सङ्गठनलाई रानी भन्सारसँगै जोडिएको ४ कठ्ठा जग्गा समेत उपलब्ध गराईसकेको छ ।

सङ्गठनले यसको फाईनल डिपिआर र डिजाईन समेत तयार पारिसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले तयार पारेको डिजाईनमा केही प्राविधिक सुधार गर्दै महानगरले पनि स्वास्थ्य केन्द्रको निर्माणका लागि सहमति जनाइसकेको छ । स्वास्थ्य केन्द्र निर्माण भईसकेपछि यहाँबाट बिशेषगरि सङ्क्रमणजन्य रोगहरुको पहिचान तथा रोकथामका कार्यहरु हुने विराटनगर महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक डा. दिलिपकुमार यादवले जानकारी दिनुभयो ।

‘कोरोना महामारीको सामना गर्न हामी तयार थिएनौं’, उहाँले भन्नुभयो ‘भबिष्यमा पनि कोभिड–१९ जस्तै आईपर्न सक्ने अन्य महामारीहरुको सामना गर्न पुर्वतयारी स्वरुप यो स्वास्थ्य केन्द्र निमार्णको अवधारणा अघि सारिएको हो ।’ स्वास्थ्य केन्द्र सञ्चालनमा आईसकेपछि भोलिका दिनमा विदेशी नागरिकलाई हेल्थ स्क्रिनिङ गरेर मात्र नेपाल प्रवेश दिईने विराटनगर महानगरपालिकाले जनाएको छ ।

स्वास्थ्य परीक्षण गर्दा केही समस्या देखिए अवस्था बिश्लेषणको आधारमा तत्कालै सम्बन्धितको उचित व्यवस्थापन गरिने महानगरको योजना छ । हाल भने विराटनगरस्थित रानी भन्सारमा विश्व स्वास्थ्य सङ्गठनले निर्माण गरिदिएको अस्थायी टहरामार्फत विदेशबाट आउने नागरिकको स्वास्थ्य परीक्षण र व्यक्तिगत विवरण सङकलन गरि नेपाल प्रवेश दिईदै आईएको स्वास्थ्यकर्मी उषा मेहताले जानकारी दिनुभयो ।

अन्तराष्ट्रिय सीमानालाई लक्षित गर्दै नेपाल सरकारले हाल मुलुकभरिका विभिन्न नाकाहरुमा स्वास्थ्य केन्द्र स्थापना गरिरहेको छ । यसले महामारीको पहिचान र नियन्त्रणमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

सोमबार, ०९ चैत, २०७७, बिहानको १०:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर