विराटनगर । मोरङको विराटनगर महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई रक्तअल्पताको समस्याबाट बचाउन आईरन चक्की (फोलिक एसिड) खुवाउन सुरु गरिएको छ ।
महानगरले गत माघ १६ गतेदेखि १० देखि १९ बर्ष उमेर समुहका किशोरीहरुलाई आईरन चक्की खुवाउन सुरु गरेको हो । किशोरीहरुमा हुने शारिरीक तथा मानसिक विकास र रक्तअल्पताको समस्यालाई नियन्त्रण गर्न महानगरले चक्की खुवाउन सुरु गरेको हो । नगरक्षेत्रभित्रका सम्पुर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य बिषयका शिक्षक–शिक्षिका र स्वास्थ्य प्रमुखहरुसँगको समन्वयमा किशोरीहरुलाई चक्की खुवाउन सुरु गरिएको महानगरले जनाएको छ ।
हालसम्म नगरक्षेत्रभित्रका ३३ वटा सामुदायिक विद्यालयका किशोरीहरुलाई आइरन खुवाउने अभियान जारी रहेको विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताउनुभयो । विद्यालयको पहुँचबाट टाँढा भएका किशोरीहरुलाई पनि महानगरभित्र दरबन्दी रहेको १ सय ४८ जना महिला स्वास्थ्य स्वयंमसेविका मार्फत आईरन चक्की खुवाउने व्यवस्था मिलाईएको उहाँले जानकारी दिनुभयो ।
किशोरीहरुका लागी अत्यावश्यक यो चक्की बर्षको २४ हप्तासम्म अनिवार्य सेवन गर्नुपर्ने महानगरले जनाएको छ । पहिलो ३ महिनासम्म हप्ताको एकपटक र ३ महिनाको अन्तर राखेर पुनः ३ महिनासम्म हप्ताको एकपटक किशोरीहरुलाई आइरन चक्की खुवाउने महागरको योजना छ ।