विराटनगर । बिरामीहरुलाई आवश्यक पर्दा निःशुल्क रुपमा रगतको आवश्यकता पुरा गर्ने लक्ष्यका साथ स्थापना भएको युवाहरुको संस्था ‘इन्स्ट्यान्ट ब्लड डोनर’ ले आफ्नो दोश्रो वार्षिकोत्सव मनाएको छ ।
बिरामी र रक्तदाताबिच मध्यस्तकर्ता भुमिका निर्वाह गर्दै आएको संस्थाले बुधबार बिष्णुमाया पुस्तकालयमा एक कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा संस्थाले समुहका सक्रिय सदस्य रितेश अग्रवाल र उत्कृष्ट रक्तदाता अभिनन्दन खत्रीलाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान समेत गरेको छ । नेपाल रेडक्रस सोसाइटी मोरङकी उप–सभापति मन्दिरा गुरागाँई, एबिसी नेपाल प्रदेश नं. १ की प्रमुख बिष्णु शर्मा पन्त र विकल्प एण्ड अल्टरनेटिभका संस्थापक अध्यक्ष वसन्त अधिकारीले उनीहरुलाई सम्मान गर्नुभएको हो ।
२०७५ फागुन ५ गते १२ जना युवाहरुले स्थापना गरेको यस संस्थामा हाल ३० भन्दा बढी सक्रिय सदस्यहरु रहेको संस्थाका संस्थापक अध्यक्ष सुरेन्द्र मल्ल ठकुरीले बताउनुभयो । उहाँले संस्थाका सदस्यहरुले आ–आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरुको रगत समुह पहिचान गरि सम्पर्क गर्न आएका बिरामीहरुलाई रक्तदानको वातावरण सिर्जना गर्ने कार्य गर्दै आएको जानकारी दिनुभयो ।
यस्तै पछिल्लो समय रगतको माग आपुर्ति गर्न संस्थाले नियमित रुपमा विभिन्न रक्तदान तथा सचेतना कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको जनाएको छ । संस्थाले यसवर्ष पनि १० वटा कलेजमा सचेतना कार्यक्रम गर्ने तथा ५ सय बढी रक्तदान गराउने योजना बनाएको छ ।
‘इन्स्ट्यान्ट ब्लड डोनर’ भने स्थापना कालदेखि हालसम्मको अवधिमा १ हजार बढी रक्तदान गराउन सफल युवाहरुको संस्था हो ।