दलित किशोरी ‘बलात्कार’ प्रकरण

पीडितको बयान यस्तो…

विराटनगर । बैतडीको दोगडाकेदार–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाले देश नै स्तब्ध बनिरहेको बेला मोरङको कानेपोखरीमा भने बलात्कारको घटनालाई ढाकछोपको प्रयास भएको आरोप लागेको छ ।

मोरङको कानेपोखरी–२ का २९ वर्षे किशोर प्रेम चौधरीमाथि १७ वर्षीया दलित किशोरीलाई नशालु पदार्थ सेवन गराई बलात्कार गरेको आरोप लागेको हो । किशोर चौधरीले शुक्रबार बिहान किशोरीलाई सडकमा घोप्टो परेको अवस्थामा फेला पारेको भन्दै घर पुर्‍याउन गएपछि सो घटना सार्वजनिक भएको हो । ‘गत बिहीबार बेलुका मलाई फोन गरेर बोलाउनुभयो । अनि चाउचाउ बोकाएर भान्जी हिँड्नु न भनेर घर लग्नुभयो’ कोशी अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा उपचाररत पीडित किशोरीले भनिन, ‘घर पुगेपछि कोठाभित्र लग्नुभयो र गेट ढप्काई दिनुभयो, तर ढोकाको चुकुल भने लगाउनु भएन । त्यसपछि रक्सी खुवाई दिनुभयो, अनि म बेहोश भएँ । त्यसपछि राती के–के भयो, मलाई थाहा छैन ।’

पीडितका आफन्तले प्रहरीले न्याय दिने हिसाबले अनुसन्धान अघि नबढाएको गुनासो गरेका छन् । ‘म घर पुग्दा बहिनी अर्धचेत र अर्धनग्न अवस्थामा थिइन् । जिन्सको पेन्ट र सर्ट लगाएकी थिईन्, सर्टको टाँक भने आधा खुल्लै थियो । त्यसपछि एकैछिनमा गाउँका मान्छेहरू भेला भए । पसल खोल्छु भनि हिँडेको २९ वर्षीया प्रेम चौधरीलाई स्थानीयले नै फोन गरेर पीडितको घर बोलाए,’ नातामा फुपु पर्ने स्थानीय रीना ऋषिदेवले भनिन्, ‘अर्धचेत अवस्थामा रहेकी बहिनीले खुनको बान्ता समेत गरिन् । लगत्तै हामीले प्रहरीलाई फोन गरेर बोलाएका थियौं ।’

घटनामा संलग्न भनिएका चौधरीको कानेपोखरीस्थित चिसाङ खोलाको पुल मुनी बालुवा चाल्ने स्थानमा चियानास्ताको पसल छ । बालुवा चाल्न जाने क्रममा उनीहरूको चिनजान भएको थियो । ‘उसको चिसाङमा खोलामा बालुवा चाल्न जान्थ्यौं । उनको पनि त्यही चियानास्ताको पसल रहेछ । उनको पसलमा खाजा खान जाँदा चिनजान भयो । मामा भनेर बोलाउँथे,’ पीडित किशोरीले भनिन् । किशोरीलाई चौधरीले रातभर आफ्नै कोठामा राखेका थिए ।

प्रहरी स्रोतका अनुसार आफ्नै घरमा बोलाएर चौधरीले रातभर राख्दै बलात्कार गरेका थिए । नसालु पदार्थ खुवाएर बलात्कार गरिएका कारण किशोरीको स्वास्थ्यमा ठूलो समस्या थियो । मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले पीडकलाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान अघि बढाएको बताएका छन् ।

त्यसबेला बलात्कारका कारण लागेको चोटसँगै अत्याधिक रक्तश्रावका कारण किशोरी बेहोस भएको चिकित्सकको अनुमान छ । गम्भीर अवस्थामा रहेकी किशोरी आइतबारमात्रै होसमा आएकी थिइन् ।

बलात्कारमा संलग्नलाई कारबाहीको माग राखेर पीडितका आफन्तले इलाका प्रहरी कार्यालय पथरीमा जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेर आइतबार चौधरीको पनि कोसी अस्पतालमै स्वास्थ्य परीक्षण गराएको छ । चौधरीले सहमतिमै दुई जनाबीच यौन सम्पर्क भएको प्रहरीलाई बताएका छन् । सुरुमा प्रहरीले बलात्कारमा संलग्नलाई पक्राउ गर्न नमानेको र पक्राउ गरेपछि पनि घटनालाई तोडमोड गर्ने प्रयास गरिरहेको गुनासो आफन्तको छ । कानेपोखरी–२ का वडाध्यक्ष सुशील बुढाथोकीले घटनाको गम्भीर अनुसन्धान गर्न माग गरेका छन् । गम्भीर आपराधिक घटनामा मिलापत्र हुन नहुने उनको भनाइ छ ।

पीडितको बयान

म ४ वर्ष काठमाडौं बसेर १ महिनाअघि मात्रै कानेपोखरी आएकी हुँ । आसपासका छरछिमेकसँग पनि खासै चिनजान छैन । चिसाङमा खोलामा बालुवा चाल्न जान्थ्यौं । उनको पनि त्यही चियानास्ताको पसल रहेछ । उनको पसलमा खाजा खान जाँदा चिनजान भयो । मामा भनेर बोलाउँथे । म आमासँगै बस्छु । बुवा भने विगत ६ वर्षदेखि रोजगारीको शिलशिलामा भारतको हरियाणामा हुनुहुन्छ ।

बिहीबार उसले आफै मसँग मेरो मोबाईल मागेर नम्बर लिएछ । अनि बेलुका फोन गरेर बोलायो । अनि चाउचाउ बोकाएर भान्जी हिँड्नु न भनेर घर लग्नुभयो । आफू अगाडिअगाडि चुरोट खाँदै अनि म पछाडि पछाडि गएँ ।

अनि घर पुगेपछि कोठाभित्र लग्नुभयो, र गेट ढप्काई दिनुभयो, तर ढोकाको चुकुल भने लगाउनु भएन । त्यसपछि रक्सी खुवाई दिनुभयो, अनि म बेहोश भए । त्यसपछि राती के–के भयो, मलाई थाहा छैन । एकैचोटी शुक्रबार कोशी अस्पताल आएपछि म होसमा आएँ ।

पीडितकी छिमेकीको बयान

प्रेम भन्ने मान्छेले शुक्रबार बिहान करिब ९ बजे बहिनीलाई बाईकमा घर पु¥याएर पसल खोल्न गयो । घर पु¥याउँदा भाउजु कसैलाई नसुनाईदिनु भनेर मेरो आमालाई आग्रहसमेत गरेको थियो । त्यतिखेर पीडितकी आमा र मेरो बुवा बिहानै करिब ८ बजे खोला पुगिसक्नुभएको थियो । म पनि बालुवा चाल्न निस्किसकेकी थिएँ । आमाले फोन गरेर बोलाउनुभएको हो ।

म घर पुग्दा बहिनी अर्धचेत र अर्धनग्न अवस्थामा थिइन् । जिन्सको पेन्ट र सर्ट लगाएकी थिईन्, सर्टको टाँक भने आधा खुल्लै थियो । त्यसपछि एकैछिनमा गाउँका मान्छेहरू भेला भए । पसल खोल्छु भनि हिँडेको २९ वर्षीया प्रेम चौधरीलाई स्थानीयले नै फोन गरेर पीडितको घर बोलाएका थिए । स्थानीयले सोधपुछ गर्दा पीडकले, यो बहिनी बाटोमा घोप्टो परेर सुतिरहेको अवस्थामा फेला पर्दा घर पु¥याईदिएको बताएका थिए ।

अर्धचेत अवस्थामा रहेकी बहिनीले भने खुनको बान्तासमेत गरिन् । लगत्तै हामीले प्रहरीलाई फोन गरेर बोलाएका थियौं । प्रहरीले प्रारम्भिक अनुसन्धान पश्चात प्रेमलाई हिरासतमा लिई पीडितलाई बेलबारीको मंगलबारे अस्पताल लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि शुक्रबार नै पीडितलाई प्रहरीको सहयोगमा विराटनगरस्थित कोशी अस्पताल ल्याईएको हो । उनको कोशी अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा उपचार भइरहेको थियो । उनको उपचारको सम्पूर्ण खर्च अस्पतालले नै व्यहोरेको छ । आज २ बजे उनलाई अस्पतालले डिस्चार्ज दिएको छ । पीडित पक्षले घटनाको निष्पक्ष छानबिन गरि दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेको छ ।

मङ्गलबार, २७ माघ, २०७७, बिहानको १०:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर