विराटनगर । बढ्दो अव्यवस्थित शहरीकरणको प्रभाव स्वरुप पछिल्लो समय प्रदेश नं. १ का सिमसार क्षेत्रहरु जोखिममा पर्दै गएका छन् । उचित व्यवस्थापन र संरक्षणको अभावमा सिमसार क्षेत्रहरु माँसिदै गएका हुन् ।
सिमसार पानी र माटो मिश्रित दलदल भएको र बाह्रैमास पानी नसुक्ने भूमि हो । यस्तो ठाउँमा दलदल अथवा हिलो सधैँ कायम रहन्छ । तर पछिल्लो आधा दशकयता दुर्लभ प्रकृतिका जीवजन्तु, चराचुरुङ्गी, किरा फट्याङ्ग्रा र वनस्पति लगायतका जैविक विविधताले भरिपूर्ण सिमसार क्षेत्र अव्यवस्थित शहरीकरण र बस्ती विकासको चपेटामा परेर माँसिदै गएका हुन् ।
झापा र मोरङमा रहेका केही त्यस्ता सिमसार क्षेत्र त नामेट नै भएका छन् । कतिपय सिमसार क्षेत्रमा प्लटिङ गरेर कङ्क्रिट महल समेत निमार्ण भएका छन् । प्रदेशका अन्य जिल्लामा रहेका सिमसार क्षेत्रको अवस्था पनि उस्तै छ । यद्यपि संरक्षण भएका सिमसार क्षेत्रहरु भने हाल आम्दानीको दरिलो माध्यम समेत बनेका छन् ।
संरक्षित सिमसार ‘धनसार’ मा परिणत
प्रदेश १ को झापा र मोरङ जिल्लामा रहेका सिमसार क्षेत्रहरुलाई पछिल्लो समय ‘धनसार’मा परिणत गर्ने प्रयत्न भएका छन् । सिमसार क्षेत्रको उचित संरक्षण हुँदा कन्काई नगरपालिका वडा नं २ र ३ मा पर्ने जामुनखाडी सिमसार क्षेत्र पछिल्लो समय ‘धनसार’ मा परिणत भएको हो । जामुनखाडी सिमसार क्षेत्रलाई वि.सं. २०५२ सालबाट पर्यटकीय क्षेत्र बनाउने अवधारणा बमोजिम स्थानीयवासीको सक्रियतामा २०५८ बाट ताल उत्खनन् गर्ने काम सुरु भएको थियो । त्यसयता यस ठाउँको उचित विकास र विस्तार हुँदा सो क्षेत्र ‘धनसार’ मा परिणत भएको हो ।
हरेक वर्ष जामुनखाडी सिमसार क्षेत्रमा करिब २ लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । पर्यटन व्यावसायबाट वर्षेनी यस क्षेत्रले २ करोडभन्दा बढी आम्दानी गरिरहेको छ । जामुनखाडीमा दुर्लभ प्रकृतिका वन्यजन्तुहरु समेत संरक्षित हुँदा यो क्षेत्रमा पर्यटकहरुको घुँइचो नै लाग्ने गरेको छ ।
दिनहुँ सयौँको संख्यामा आन्तरिक पर्यटक आउने गरेका छन् । कोरोना महामारीको प्रभाव स्वरुप बाह्य पर्यटकहरुको चहलपहल र आवागमनमा कमी आएपनि यसबेला यो क्षेत्र वनभोजका लागी जिल्लाबासीहरुको पहिलो रोजाइमा पर्ने गरेको छ । जामुनबारी सामुदायिक वनको हाताभित्र रहेको जामुनखाडीमा ४ दशमलव ५० हेक्टर क्षेत्रफलमा फैलिएको ताल यहाँको बिशेषता हो ।
पूर्वका सिमसारमध्ये जामुनखाडी प्रदेश नं १ कै नमुना सिमसारका रुपमा परिचित भएसँगै वन समितिलाई दीर्घकालीन आम्दानीको बाटो खुलेको जामुनखाडी सिमसार क्षेत्रका अध्यक्ष ख्याम सिटौलाले बताउनुहुन्छ । सिमसार क्षेत्रमा रहेको तालमा डुङ्गा चढ्न र संरक्षित वन्यजन्तु हेर्न आउने पर्यटकहरुबाट उठाउने सेवाशुल्क बापतको आम्दानीले सिमसार क्षेत्र आफैँमा समृद्ध बन्दै गएको उहाँको भनाई छ ।
सिमसार क्षेत्रको संरक्षण गरेबापत जामुनखाडी सामुदायिक वनलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले यसअघि पुरस्कृत समेत गरिसकेको छ । ४ सय ३४ दशमलव १९ हेक्टर क्षेत्रफलमा फैलिएको यो सामुदायिक वन जिल्लाकै नमूना सामुदायिक वन हो । पर्या–पर्यटनलाई समेत अङ्गीकार गरिएकै कारण यहाँको सुन्दरता आफैँमा लोभलाग्दो छ ।
अहिले यस ठाउँको सिको गर्दै अन्य स्थानीय तहमा पनि सिमसार क्षेत्रको संरक्षण थालिएको छ । मेचीनगरमा रहेको बाँसबारी, अर्जुनधाराको सालबारी, हल्दिबारी गाउँपालिकाको भेलागुडी बाह्रदशी गाउँपालिकाको साधुकुट्टी झिल, गौरादह नगरपालिकाको गौरादह पोखरी लगायत थुप्रै ठाउँका सिमसार क्षेत्रको विकास र विस्तारमा स्थानीय तह जुटेका छन् ।