विराटनगर । सन्तान नभएका दम्पत्तिलाई औषधी दिएर सन्तान हुने बनाईदिने दावी गर्ने विराटनगर–१९ घिनाघाटका सुनिल भनिने दिनेश मण्डलले एक युवतीसहित ५० हजार लिएर फरार भएका छन् ।
विराटनगर–४ इकराही निवासी देखनसरी माझी चौधरीको घरमा बास माग्दै माघ २ गते मण्डल पुगेका थिए । उनले मसानले सुन गाडेको विश्वास दिलाएर खोजी गरिदिने भन्दै ५० हजार रुपैयाँसमेत ठगेर लगे ।
‘मण्डलले मसानले गाडेको सुन निकाल्न कुमारी केटी मेरो जिम्मा लगाइदिनु भनेका थिए,’ देखनसरीले भन्नुभयो, ‘मण्डलले ५ वटा नदीनाला पूजा गरेर ल्याएपछि घरमा मसानले लुकाएको सुन भेटिन्छ भनेको थियो, तर ठगेर नगदसँगै छोरी पनि लिएर गयो ।’ पूजा गरेको बहानामा मण्डलले आफ्नो सुनको औँठीसमेत निकालेपछि गुजेश्वरीको परिवारले उनीमाथि विश्वास गरेका थिए ।
मण्डलले यसअघि पनि देखनसरीकी छिमेकी रामवती शाहलाई पत्थरी ठीक गरिदिने भन्दै ठगेको थिए । रामवतीले भन्नुभयो, ‘अप्रेशन गर्न तयार थिएँ, उसले दबाई दिन्छु ठीक भईहाल्छ भनेपछि विश्वास गरेँ । तर, केही भएन ।’
मण्डलले रामवतीसँग भने २ हजार ४ सय रुपैयाँ ठगेका थिए । प्रहरीले मण्डलको खोजतलाश भईरहेको जनाएको छ । प्रहरीमा उजुरी परेलगत्तै मण्डलको खोजी कार्य थालिएको मोरङ प्रहरीका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताउनुभयो ।
हराएकी छोरी खोजिगरिदिन अपिल
विराटनगर–४ इकराही निवासी देखनसरी माझी चौधरीले छोरी हराएको भन्दै खोजिदिन आग्रह गर्नुभएको छ ।
बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै चौधरीले छोरी खोजिदिन आग्रह गर्नुभएको हो । विराटनगर–१९ घिनाघाटका सुनिल भनिने दिनेश मण्डलले छोरी बेपत्ता बनाएको उहाँको आरोप छ ।
सम्बन्धित बिषयमा प्रहरीमा उजुरी दिएको भएपनि प्रहरीले खोजतलास गर्न बेवास्ता गरेको चौधरीले गुनासो गर्नुभयो । ईकराही निवासी २४ वर्षीया गुजेश्वरी माझी गत माघ १० गतेदेखि सम्पर्कविहिन बनेको परिवारले बताएको छ ।