विराटनगर । साङ्लोमा बाँधिएको खुट्टामा साङ्लोकै डोब । ६ वर्षदेखि खुट्टाबाट बाँधिएको साङ्लो जब खोलियो पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ५ हसन्दहका ४० वर्षीया भीम बहादुर पौडेल हाँस्न थाले । एक पटक होइन उनी पटक–पटक र निरन्तर हाँसिरहे ।
६ वर्ष अगाडि भीमबहादुर खुल्लै छाडिँदा ३ महिनासम्म हराएका थिए । त्यसयता उनी साङ्लोमा बाँधिएरै जीवन बिताइरहे । उनकी एक्लो ७६ वर्षकी आमा ७६ वर्षकी आमा चुँडा कुमारी पौडेललाई नै सरसहयोग गर्नेबेलामा छोरा साङ्लोमा बाँधेर उनै आमाले स्यहार गर्नुपरेको देख्दा कसलाई पीडा हुँदैन ? भत्केको घरको एक छेउमा बनाइएको पशुको खोर जस्तो ठाउँमा उनै भीमबहादुरले कष्टपूर्ण जीवन बिताइरहेका थिए ।
गर्मीमा गर्मी भन्न पाउँदैन थिए । जाडोमा जाडो भन्ने अवस्था पनि उनका लागि थिएन । भोक लागे ढुंगा माटो हान्न थाल्थे, कराउँथे । जब खान पाउँथे उनी डोरी बाटिरहन्थे ।
सोही ठाउँका अर्का एक वृद्धा ७० वर्षीय सचित्र महतोको घर र उनको मुहारको चित्र हेर्दा शासकलाई गिज्याइरहेको छ । भत्केको, बेवारिसे टहरो एक्लै बस्दै आएका उनको स्याहार गर्ने, खानपानको व्यवस्था गर्ने र सरसफाइमा सहयोग गर्ने कोही आफन्त छैनन् । घरको वरिपरि वनमारा झार र लहराले ढपक्कै छोपेको छ । बिहान र साँझमा उनको घरमा बत्ती बल्दैन । चुल्हो बल्दैन । बिहान र बेलुका के खाने कुनै टुंगो हुँदैन ।
७० वर्षका हुन् सचित्र । तर, उनको आँत गलिसकेको छ । उनी मागेर खान पनि शारिरीक रुपमा असक्त भइसकेका छन्, सम्झेर दिनेहरुले दिएको खानाले उनको पेट भरिन्थ्यो भरिँदैन थियो थाहा भएन । तर, हाम्रा शासकहरुको भाषण आउँछ ‘एक छाक खान नपाएर कोही मर्दैन, सुतिसुति घरमै भात खाने व्यवस्था गर्ने हाम्रो जिम्मा हो ।’ तर, यस्ता दिनदुःखीहरुको न गाँसमा, न बासमा । यो भनाइ कहिले पुरा हुने हो त्यो भने गर्भमै छ ।
यी दुवै जना पीडितहरू प्रतिनिधि पात्र हुन् । उनीहरुलाई उद्धार गरि विराटनगरस्थित मानव सेवा आश्रममा ल्याइएको छ । तर, उनीहरुजस्ता अन्य हजारौं हजार गरिव, बेसहारा र दिनदुःखीको अवस्था के होला ? यो जाडो कसरी कटाउँदै होलान् भन्ने विषयमा हाम्रा शासकको मन पोल्छ कि पोल्दैन होला ? प्रश्न सचेत नागरिकहरुले गरिरहेका छन् ।