विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले आफ्नो शक्तिलाई चिन्न सक्नुपर्ने बताउनुभएको छ । आफुभित्रको अन्तरनिहित शक्तिलाई हनुमानले झैं चिन्नसके मात्र वर्तमान राजनीतिक संकट समाधानमा काग्रेंसले नेतृत्व गर्नसक्ने उहाँले बताउनुभएको हो ।
विराटनगरमा आइतबार गुराँस पुस्तकालयद्वारा प्रकाशित ‘बरगाछी’ नामक पुस्तकको लोकार्पण तथा सम्मान कार्यक्रममा वरिष्ठ नेता पौडेलले सिद्धान्त, निष्ठा र राजनीतिक मुद्दाको आधारमा काग्रेंस वर्तमान संकटको विरुद्ध लड्न तयार हुनुपर्ने बताउनुभएको हो ।
नेता पौडेलले प्रतिनिधि सभा विघटन जस्तो अलोकतान्त्रिक कदमलाई अदालतले सदर गर्न नहुने पनि बताउनुभयो । संसद विघटनलाई अदालतले सदर गरे त्यो संविधानमाथि आजसम्मकै ठुलो प्रहार हुने उहाँको भनाई छ । उहाँले संसदीय लोकतान्त्रिक प्रणाली, लोकतन्त्रको मुल्य र मान्यतामा आधारित समाजवाद र धार्मिक तथा व्यक्तिगत स्वतन्त्रता रक्षाका लागी नेपाली कांग्रेस अब आफ्नै एजेण्डामा उभिने स्पष्ट पार्नुभयो । ‘अदालतले प्रतिनिधि सभा विघटनलाई सदर गर्दैन, यदि सदर गर्यो भने संविधानमाथि गम्भीर घात हुन्छ । अहिले संविधान सबैभन्दा धेरै घायल अवस्थामा छ त्यसलाई जोगाउन सबै लाग्नुपर्छ ,’ नेता पौडेलले भन्नुभयो ।
नेपाली कांग्रेस लोकतन्त्रको पहरेदार भएकाले संसद पुर्नस्थापनाको माग गर्नु कांग्रेसको दायित्व भएको नेता पौडेलले बताउनुभयो । कार्यकारी अधिकार लिएर बसेको व्यक्तिले संसद विघटन जस्तो असंवैधानिक कदमलाई राजनीतिक निर्णयको नाम दिनु लज्जास्पद भएको उहाँको भनाई छ । उहाँले मुलुकको संविधानलाई घायल बनाउने कार्यमा प्रधानमन्त्री ओलीसँगै राष्ट्रपति विद्यादेवी भण्डारी पनि उत्तिकै दोषी रहेको जिकिर गर्नुभयो । ‘राष्ट्रपतिले संविधान रक्षा गर्ने आफ्नो जिम्मेवारी पुरा गर्नुभएन’ उहाँले भन्नुभयो, ‘राष्ट्रपतिले आफ्नो जिम्मेवारी पुरा नगरेको बेलामा अब अदालतले जिम्मेवारी बहन गर्नुपर्छ ।’
यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले वर्तमान राजनीतिक संकट कांग्रेसका लागि सुवर्ण अवसर भएको दावी गर्नुभयो । उहाँले नेपालको राजनीतिमा विद्यमान अप्ठयारो, भ्रष्टचार, अनियमितता र अस्थिरतालाई सही बाटोमा लैजान नेपाली कांग्रेसले अवसर प्राप्त गरेको उहाँको भनाई छ । लोकतान्त्रिक रुपान्तरणपछि कम्युनिष्टहरु मात्र विकल्प रहने हुँदै आएको नेपालको राजनीतिलाई अब नेपाली काग्रेंसले विकल्प दिने अवसर प्राप्त भएकोमा काग्रेंस कार्यकर्ताहरु स्पष्ट हुनुपर्ने नेता रिजालले बताउनुभयो ।
यसैबीच नेता रिजालले प्रदेश १ मा मुख्यमन्त्री विरुद्ध उनकै दलबाट दर्ता भएको अविश्वासको प्रस्ताव पारित गर्न पक्षमा मतदान गर्नुपर्ने बताउनुभयो । उहाँले अविश्वासको प्रस्ताव प्रदेशसभामा निर्णयार्थ पेश हुँदा कांग्रेस तटस्थ बस्ने प्रचार गलत रहेको भन्दै प्रस्तावको पक्षमा उभिएर मतदान गर्न आग्रह गर्नुभयो । उहाँले अविश्वासको प्रस्ताव पारित भएपछि नयाँ ढंगबाट राजनीति सुरु हुने पनि बताउनुभयो । माघ १३ गते बस्ने केन्द्रीय समितिको बैैठकले प्रदेश सरकारहरुको विषयमा औपचारिक निर्णय गर्ने जानकारी नेता रिजालले दिनुभयो ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले १३ गतेको बैठलले प्रतिगमन विरुद्धको आन्दोलनलाई निर्णायक बनाउने गरी कार्यक्रम घोषणा गर्ने बताउनुभयो । प्रजातन्त्रका लागि जुनकिरीको रुपमा रहेको काग्रेंस सशक्त रुपमा प्रस्तुत हुँदा मात्र मुलकमा स्थिरता र परिवर्तन आउने उहाँको भनाई थियो ।
कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनका योद्धा देवी डाँगी र कोरोना महामारीकाबीच संक्रमितहरुको घरघरमा पुगेर सेवा गर्ने युवाहरुलाई मुक्तिप्रसाद यदुनाथ चापागाँई सम्मान–पत्रद्वारा सम्मानित गरिएको थियो ।