जनहितमा काम गर्न आग्रह गर्दा विघटन गरियो: भीम आचार्य

धरान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले धरानमा शनिबार विरोध प्रदर्शन गरेको छ । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदमका विरुद्ध देशब्यापी आन्दोलन गर्दै आएको नेकपाले शनिबार धरानमा जनप्रदर्शन गरेको हो । धरानको छाताचोकबाट सुरु भएको प्रदर्शन नगरपरिक्रमा गरी भानुचोक पुगेर सभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै नेकपाका स्थायी कमिटि सदस्य तथा प्रदेश १ इञ्चार्ज भीम आचार्यले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले जनतामा जथाभावी कर बढाउँदा र गलत काम गर्दा त्यसो नगर्न पार्टीले सचेत गराएको तर त्यसैलाई ओलीले काम गर्न नदिएको भनेर प्रचार गरेको आरोप लगाउनुभयो ।

सरकारले जनताको हितमा कुनै काम नगरेको र जनस्तरबाट आएको आलोचना सुन्न नसकेर ओलीले प्रतिनिधि सभा विघटन गरेको आचार्यको भनाई थियो । कम्युनिष्ट सरकारले कालाबजारीहरुलाई फाइदा हुने गरी काम गरेकाले पार्टीले त्यसो नगर्न सचेत गराउँदा प्रधानमन्त्रीले पार्टीको सुझाव पालना गर्नुको साटो प्रतिनिधि सभा नै विघटन गरेर मुलुकलाई प्रतिगमनतर्फ लगेको उहाँले बताउनुभयो ।

पार्टीका १ नं. प्रदेश कमिटी सदस्य मुक्साहाङ मेन्याङ्बो (मुकेश)ले ओलीले संवैधानिक कु गरेको आरोप लगाउँदै कम्युनिष्टको आवरणमा ओली सरकारले जनघाती काम गरेको बताउनुभयो ।

कोणसभामा बोल्दै १ नं.प्रदेश कमिटी सदस्य तथा सुनसरी जिल्ला सचिव रमेश बस्नेतले प्रधानमन्त्री ओलीले संविधान कुल्चिएर संसद विघटन गरेको बताउनुभयो । कार्यक्रममा नेकपाका स्थानीय नेताहरु किरणकुमार राई, आईन्द्र बिक्रम बेघा, प्रदेश सांसदहरु सावित्री श्रेष्ठ, उमिता बराईली लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।

शनिबार, १० माघ, २०७७, साँझको ०६:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर