संविधान र संसदीय व्यवस्था असफल !

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य (किरण)ले नेपालमा राज्यसत्ता, संसदीय व्यवस्था र संविधान एकैपटक असफल भएको बताउनुभएको छ ।

शुक्रबार मोरङको बेलबारीमा आयोजित पत्रकार सम्मेलनमा महासचिव बैद्यले संसदमा दुई तिहाई बहुमत हुँदाहुँदै विघटन हुनुले संसदीय व्यवस्था र संविधान पूर्णरुपमा असफल भएको पुष्टि गर्ने दावी गर्नुभयो । ‘संसदीय व्यवस्थामा दुई तिहाईको ठूलो महत्व छ तर त्यो आफ्नै कारणले विघटन हुन्छ भने संसदीय व्यवस्था असफलल भएको यो भन्दा ठूलो उदाहरण खोज्न अन्त जानुपर्दैन’, महासचिव बैद्यले भन्नुभयो ।

संसदीय व्यवस्था बिग्रियो भने फासिवाद वा निरंकुशतावाद तर्फ जाने उहाँले बताउनुभयो । ‘संसदीय व्यवस्था बिग्रियो भने फासिवाद वा निरंकुशता तर्फ जाने हुन्छ,’ नेता बैद्यले भन्नुभयो ‘ अब सत्ता र व्यवस्था अझ खतरनाक ढंगले पुनरोत्थान तर्फ जानसक्ने देखिन्छ ।’

संसद विघटनपछिको राजनीतिक अवस्थाको सामान्य विश्लेषण गर्दै नेता बैद्यले प्रधानमन्त्रीले संसद विघटन गरेर मुर्खता गरेको आरोप लगाउनुभयो । ‘संसद विघटन गर्ने कदम संसदीय व्यवस्था असफल भएको द्योतक त हो नै प्रधानमन्त्रीको मुर्खता पनि हो,’ उहाँले भन्नुभयो ‘अब चुनाव र संसद पुनसर््थापना जे भएपनि देश र जनताको हितका हुँदैन ।’

संसदीय व्यवस्थालाई क्रान्तिकारी कम्युनिष्टहरुले कहिलेकाँही उपयोग गर्नसक्ने भएपनि नेपालमा उपयोग गर्न गएकाहरुलाई नै संसदीय व्यवस्थाले उपयोग गरिदिएको उहाँले बताउनुभयो ।

सरकारले मध्यावधी निर्वाचनको घोषणा गरेको भएपनि आफुहरुले चुनाव हुने सम्भावना नदेखेको महासचिव बैद्यले बताउनुभएको छ । उहाँले सरकार फासिवादी दिशामा अघि बढेको भन्दै साना दल वा नयाँ विचारलाई रोक्ने उद्देश्यले थ्रेसहोल्ड लगाउनु त्यसको उदाहरण भएको बताउनुभयो ।

मुलुक अस्थिर सुन्यताको अवस्था तर्फ बढेको भन्दै सबै देशभक्त कम्युनिष्ट क्रान्तिकारीहरु एकतावद्ध भएर सशक्त संघर्ष गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । महासचिव बैद्यले तत्काल संसदवादी शक्तिहरुसँग मिलेर सहकार्य र संयुक्त आन्दोलनको सम्भावना भने नरहेको बताउनुभयो । यद्यपी परिवेशहरु विकास हुँदैजाँदा त्यो अवस्था आउन सक्ने उहाँको भनाई थियो । नेता बैद्यले प्रचण्डदेखि पूर्वराजासँगसमेत सहकार्य हुनसक्ने सम्भावना भने जीवित रहेको बताउनुभएको छ । ‘प्रचण्डँगमात्र होइन पूर्व राजासंगपनि मोर्चा बन्न सक्छ भन्ने हाम्रो कुरा हो,’ नेता बैद्यले भन्नुभयो ‘प्रचण्डले विगतमा गल्ति गरें भनेर आत्मालोचना गर्नन् र पूर्व राजाले अब म नागरिकको हिसावले भविष्यमा श्रीपेचको आशा गर्दैनौं भन्छन् भने देश र जनताका लागि मोर्चाबन्दी गर्नेबारे हामी सोच्न तयार छौं ।’ अन्यथा विचलित भएकाहरुसँग तत्काल एकता र कार्यगत एकता नहुने उहाँको भनाई थियो ।

पछिल्लो समय भूमिगत राजनीति गरिरहेको विप्लव समूहसँग एकताको पहल भइरहेको भने उहाँले स्वीकार गर्नुभएको छ । यद्यपी कुनै निष्कर्शमा नपुगेको र विप्लवका कतिपय राजीतिक वैचारिक विषय स्पष्ट नभई तत्काल एकता भइहाल्ने अवस्था भने नरहेको उहाँले बताउनुभयो । सरकारले विप्लव समूहलाई प्रतिवन्ध लगाएर निरंकुशता देखाएको भन्दै कतिपय कमिकमजोरी सच्याउदै शान्तिपूर्ण राजनीतिक गतिविधि गर्न रोक लगाउन नहुने उहाँको भनाई थियो ।

केही दिनदेखि मोरङको बेलबारी स्थित लक्ष्मीमार्गमा महासचिव बैद्य पार्टीका बैठक र प्रशिक्षणमा व्यस्त हुनुहुन्थ्यो । पार्टीको प्रदेश १ कमिटीको बैठक, किसान महासंघको केन्द्रीय समितिको बैठक र अगुवा कार्यकर्ताहरुको प्रशिक्षण सम्पन्न भएपछि शुक्रबार पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

 

शुक्रबार, ०२ माघ, २०७७, साँझको ०५:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर