विराटनगर । कोरोना महामारीका कारण विस्तारै उठने प्रयासमा रहेको प्रदेश नं. १ को पर्यटन व्यवसायले अझै गति लिन सकेको छैन् ।
कोरोना महामारीका कारण लामो समयसम्म सिथिल अवस्थामा रहेको पयर्टकीय गन्तव्यहरु पुर्नजिवित हुने प्रयास गरिरहँदा गन्तव्यहरुमा भने पयर्टकको अभावका कारण व्यावसायले गति लिन नसकेको हो । पर्यटन प्रवद्र्धन र विकासका लागि प्रदेश नं. १ मा पहिचान गरिएका २८ वटै गन्तव्यहरुमा पछिल्लो समय आन्तरिक पर्यटकहरुको उपस्थिति उत्साहजनक छैन् । कोरोना संक्रमणको जोखिम र आम नागरिकको कमजोर क्रयशक्तिका कारण गन्तव्यहरुमा पर्यटकहरुको चहलपहल बढ्न नसकेको पर्यटन व्यावसायीहरुको बिश्लेषण छ । धनकुटा नगरपालिका वडा नं. ९ स्थित मुलघाटमा सामान्य अवस्थामा दैनिक १५ सय बढी पर्यटकहरु भ्रमणका लागी आउने गरेका थिए । पर्यटकहरुको भीड बिशेष गरि शनिबार बढी हुन्थ्यो । तर हाल फाट्टफुट्ट रुपमा मात्र पर्यटकहरु आउने गरेको स्थानीय पदम प्रसाद काफ्लेले बताउनुभयो ।
यस्तै पुर्वको आकर्षक पर्यटकीय गन्तव्य बेतना सिमसारमा पनि यसबर्ष आन्तरिक पर्यटकहरुको चाप पातलो छ । मोरङको बेलबारी नगरपालिका–४ स्थित पुर्व–पश्चिम राजमार्गसँग जोडिएको सिमसार क्षेत्रमा हरेक बर्ष जाडोयाममा दैनिक ८ सयदेखि १ हजारको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल हुने गरेको थियो । तर यसबर्षको अवस्था ठीक विपरित रहेको बेतना सिमसार सामुदायिक वनका अध्यक्ष डम्बर बस्नेतले बताउनुभयो ।
यसबाहेक पनि प्रदेश नं. १ का पाथिभरा, माईपोखरी, गुफा पोखरी, वसन्तपुर, कोशी टप्पु, श्री अन्तु, रास ताल, भेडेटार र दोमुखा लगायतका पर्यटकीय गन्तव्यहरुले पछिल्लो समय पर्यटकहरुको खाँचो महशुस गर्न थालेका छन् । अन्तराष्ट्रिय सीमा नाकाहरु बन्द हुँदा बाह्य पर्यटकहरुको अभावका कारण पनि पर्यटक क्षेत्र सङ्कटमा पर्दै गएको नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएशन प्रदेश नं. १ का वरिष्ठ उपाध्यक्ष पुण्य भट्टराईले बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको पुनरुत्थानका लागी अन्तराष्ट्रिय सीमा नाकाहरु खोल्नुपर्ने बिषयमा जोड दिनुभयो ।
पछिल्लो ४ महिनाको अवधिमा प्रदेश नं. १ पर्यटकीय गन्तव्यहरुमा मात्र १५ हजार बढी पर्यटकहरुले भ्रमण गरेको एशोसिएशनको तथ्याङ्क छ । यो अन्य बर्षको चौमासिक तथ्याङ्को तुलनामा ७४ प्रतिशतले कम हो । आन्तरिक पर्यटन प्रर्वद्धनका माध्यमबाट मात्र दिगो पर्यटन विकास सम्भव हुने भएपनि पछिल्लो चौमासिक तथ्याङ्कले अवस्था जटिल दखाएको पर्यटन व्यावसायीहरुको बिश्लेषण छ । यसबर्ष बाह्य पर्यटक भित्रयाउन समस्या हुने भएपछि प्रदेश १ का पर्यटन व्यावसायी तथा हवाई सेवा प्रदायकहरुले पनि सस्तो र गुणस्तरीय पर्यटन प्याकेजहरु ल्याएर आन्तरिक पर्यटन प्रर्वद्धनको प्रयास गरिरहेका छन् । सामान्य अवस्थाको तुलनामा पर्यटकहरुको चाप र भीडभाड पनि कम भएकाले पर्यटकीय गन्तव्यहरुको भ्रमण तथा अवलोकनका लागी अहिलेको समय उपयुक्त रहेको पर्यटन व्यावसायीहरुले बताएका छन् ।
नेपालबाट वर्षेनि साढे १३ लाख नेपाली पर्यटकहरु विदेश जाने गरेका छन् । तर अहिले विदेश जाने अवस्था नरहेको हुँदा मात्र ७५ प्रतिशत आन्तरिक पर्यटकहरुलाई पनि परिचालन गर्न सकिए पर्यटन क्षेत्रलाई ठुलो राहत पुग्ने आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश १ का संयोजक भबिस श्रेष्ठले बताउनुभयो । अर्थतन्त्रको महत्वपुर्णको अङ्गको रुपमा रहेको पर्यटन क्षेत्रको पुनरुत्थानका लागी भने प्रदेश सरकारले पनि रुचि देखाउनु आवश्यक देखिन्छ ।