अर्गानिक उत्पादनको व्यापार, आयआर्जनको दरिलो माध्यम बन्दै

विराटनगर । लकडाउन अवधिमा मोरङका एक युवाले सुरु गरेको अर्गानिक उत्पादनहरूको व्यापारले बजार ओगट्न थालेको छ ।

कोरोना महामारीको रोकथाम तथा न्युनीकरणका लागि सरकारले गत चैत्र ११ देखि झण्डै ५ महिना लामो देशव्यापी लकडाउन गरेको थियो । सो अवधिमा मोरङको बेलबारी–८ निवासी २२ बर्षीय अभिषेक गौतमले अर्गानिक चिया, एभोकाडो, किवी, स्ट्रवेरी, छुर्पी, ड्रागन फ्रुट र कटुस आदिको व्यापार सुरु गरेका थिए । अस्थायी रुपमा विराटनगर–१२ बस्दै आएका गौतमले सुरु गरेको सो व्यापार हाल उनको पारिवारिक आयआर्जनको दरिलो माध्यम बनेको छ ।

कोरोना महामारीका कारण व्यापार, व्यावसाय र अर्थतन्त्रको सबै क्षेत्र प्रभावित भएपछि गौतमले गत जेठ महिनादेखि दरिलो आत्मविश्वासका साथ सानो लगानीमा अर्गानिक उत्पादनहरूको व्यापार सुरु गरेका थिए । हाल उनले पूर्वदेखि पश्चिमसम्म आफ्ना नियमित ग्राहकहरू बनाईसकेका छन् । बजारको अवस्था बिश्लेषणको आधारमा गौतमले ‘ग्रीन टी’, ‘एभोकाडो’ र ‘कटुस’ बाट आफ्नो व्यवसायको सुरुवात गरेका हुन् । ईलामको सुर्योदय नगरपालिकाका स्थानीय किसानहरूद्धारा उत्पादित ‘ग्रीन टी’, धनकुटाको एभोकाडो र संखुवासभाको कटुस गौतमले विराटनगर आयात गरेर स्थानीय उपभोक्ताहरूलाई बिक्री वितरण गर्दै आएका छन् । पछिल्लो समय विराटनगर बाहिरका उपभोक्ताहरूले पनि अर्गानिक उत्पादनहरूको माग गर्न थालेपछि उनले होम डेलिभरिको सुविधासहित व्यापार समेत विस्तार गरेका छन् ।

उनले बिक्री गर्दै आएको ग्रीन टी ‘२ पात १ सुइरो’ भएको ए ग्रेड मान्यता प्राप्त हो । उनले स्थानीय किसानहरूसँगको प्रत्यक्ष सम्पर्कमा चिया, एभोकाडो र कटुस आयात गर्दै आएका छन् । यसले बिचको मध्यस्तकर्ताको भार र खर्च पनि व्यवस्थापन हुने हुँदा उपभोक्ताले सस्तो मुल्यमा माग बमोजिमको उत्पादन पाउने गरेको अभिषेक गौतम बताउँछन् । ग्रीन टी, एभोकाडो र कटुसमा राम्रो सफलता हात पारेपछि २ महिना यता गौतमले किवी, ड्रागनफ्रुट र छुर्पीको पनि व्यापार सुरु गरेका छन् ।

धनकुटाको किवी, मोरङको ड्रागन फ्रुट र तेह्रथुमको छुर्पीका लागी मोरङ, सुनसरी, झापा, धनगढी र काठमाण्डौंसम्मका उपभोक्ताहरूको माग थामिनसक्नु छ । स्वदेशी उत्पादनप्रति नेपाली उपभोक्ताहरूको आकर्षण बढ्दो क्रममा रहेको गौतमको भनाई छ । यद्यपि प्रदेश नं. १ मा अर्गानिक उत्पादनहरूको व्यापार सिमित रहेको उनले बताएका छन् । यस्ता उत्पादनहरू ठुल्ठूला मलबाहेक अन्य ठाउँमा सहजै पाउन सक्ने स्थिति नरहेकाले पनि नेपाली उत्पादनले हालसम्म नेपाली बजारमा प्राथमिकता नपाएको उनको तर्क छ ।

गौतमले भने अर्गानिक पसलको नाममा अनलाईन पसल सञ्चालन गरि स्थानीय किसानका उत्पादनहरू बजारमा बिक्री वितरण गरिरहेको जनाएका छन् ।

मङ्गलबार, २१ पुष, २०७७, साँझको ०६:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर