मुख्यमन्त्रीको अस्पताल अनुगमन प्रभाबहिन

विराटनगर । केही दिन पहिले विराटनगरको ठूलो अस्पतालको अनुगमन गर्दै प्रदेश १ सरकारका मुख्यमन्त्रीसहितको टोलीले दिएको निर्देशन पालना नभएको देखिएको छ ।

गत मङ्सिर १२ गते मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेसहितको टोलीले विराट, नोबेल र न्युरो हस्पिटलद्वारा सञ्चालित कोभिड अस्पतालको अनुगमन गर्दै विभिन्न निर्देशन दिएको थियो ।

अनुगमनका क्रममा मुख्यमन्त्री राईले तत्कालै अनुगमनको प्रभाव देखिने बताउनुभएको थियो । तर, हालसम्म अस्पतालको हविगत उस्तै रहेको संक्रमितका आफन्तले बताएका छन् ।

अनुगमनका क्रममा मुख्यमन्त्री राईले संघीय सरकारले निर्णय बमोजिम निजी अस्पतालहरुले आर्थिक अवस्था कमजोर भएका गरिब, असहाय र ज्येष्ठ नागरिकको उपचार निःशुल्क गर्न निर्देशन दिनुभएको थियो । नियमित अनुगमन गरेर निर्देशन कार्यान्वयन नगर्नेलाई कारबाही हुने चेतावनी पनि उहाँले दिनुभएको थियो ।

तर, अनुगमनपछि निजी अस्पतालहरुले निर्देशनको पालना गरेका छन् वा छैनन् भनेर प्रदेश सरकारले सोधपुछ पनि गरेको छैन । प्रदेश सरकारले कोरोना संक्रमितको उपचारमा धरौटी लिने निजी अस्पतालहरुलाई पनि कारबाही गरिने जनाएको थियो । तर, अनुगमन पश्चात प्रदेश सरकार सुुस्ताएको संक्रमितका आफन्तले बताउँदै आएका छन् ।

भौतिक रुपमा अनुगमन नभएपनि फोनमार्फत अवस्था बुझ्ने प्रयास भएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले दावी गर्नुभयो । उहाँले अस्पतालहरुले आफ्नो सेवामा सुधार गरेको र जनगुनासोमा कमी आएको जिकिरसमेत गर्नुभएको छ ।

विराटनगरस्थित न्युरो कोभिड अस्पतालले सामाजिक विकास मन्त्रालयसँगको सम्झौता समाप्त भईसकेकोले कोभिड अस्पताल बन्द गर्ने तयारी भइरहेको बताएको छ । कोभिड अस्पताल बन्द गरेर मातृशिशु अस्पताल नै सुचारु गर्ने उसको योजना छ ।

न्युरोले जेनरल बेडको ६ हजार ६ सय २५ र आई.सि.यु को १५ हजार शुल्क लिएर संक्रमितको उपचार गर्दै आएको अस्पतालका फोकल पर्सन अजितराज बस्नेतले जानकारी दिनुभयो । हाल न्युरो कोभिड अस्पतालमा ४ जना संक्रमितको उपचार भईरहेको छ भने २ सय ३० जना संक्रमणमुक्त भई डिस्चार्ज भईसकेका छन् । न्युरो कोभिड अस्पतालमा कोरोना संक्रमणका कारण २३ जनाले ज्यान गुमाएका छन् ।

मोरङको बुढीगङ्गा–२ स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले पनि कोरोना संक्रमितको उपचार सशुल्क नै गरिरहेको छ । अस्पतालले जनरलतर्फ स्थानीय तहको सिफारिश लिई आएका गरिब तथा विपन्न वर्गका बिरामीको उपचार ३ हजार ५ सय रुपैयाँमा गरिरहेको छ भने उपचार खर्च व्यहोर्नसक्ने तथा कोरोना बिमा गराएकाहरुसँग ५ हजार दैनिक शुल्क लिईरहेको छ ।

विराटले अस्पतालले उपचार खर्च व्यहोर्न नसक्ने बिरामीलाई आईसियु उपचारमा ५ हजार छुट दिएको जनाएको छ । आइसीयुमा भने उपचार खर्च व्यहोर्न नसक्नेलाई १५ हजार र व्यहोर्न सक्नेलाई २० हजार शुल्क लिई उपचार गरिरहेको विराट कोभिड अस्पतालका ईन्चार्ज अरविन्द मण्डलले जानकारी दिनुभयो । अस्पतालले प्रवाह गर्ने सेवा सुविधामा भने कुनै सुधार नआएको बिरामीका आफन्तहरुले बताएका छन् ।

विराट कोभिड अस्पतालमा हाल २३ जनाको उपचार भईरहेको छ भने ६२९ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । अस्पतालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ४४ रहेको छ ।

विराटनगरकै अर्को नोबेल मेडिकल कलेजमा संक्रमितको उपचार गर्दा जनरलतर्फ ५ हजार र आईसियुको १५ हजार शुल्क लिने गरेको छ । अस्पतालले उपचार खर्च तिर्न नसक्नेहरुको उपचार निःशुल्क गर्दै आएको दावी गरेको छ । तर, सो अस्पतालले शुल्क नतिरेकै कारण मृत्यु भएकाहरुको शव पनि एक सातासम्म नियन्त्रणमा राखेको घटना बारम्बार बाहिर आउने गरेको छ ।

नोबेल मेडिकल कलेजका प्रशासकीय अधिकत नारायण दाहालका अनुसार नोबेलको कोभिड अस्पतालमा भने हालसम्म भर्ना भएका सबै कोरोनामुक्त भई डिस्चार्ज भईसकेका छन् । कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ४३७ रहेको छ भने ज्यान गुमाउनेको संख्या १३३ जना रहेको अस्पतालले जनाएको छ ।

प्रदेश सरकारको मातहमा सञ्चालित कोशी कोभिड अस्पतालमा हाल ३० जना संक्रमितको उपचार भइहरेको छ । अस्पतालमा अहिलेसम्म ६३८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् भने ५४ जनाको मृत्यु भएको छ ।

बिहिबार, ०२ पुष, २०७७, बिहानको १०:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर