मिटरब्याजी मन्टु विरुद्ध उजुरीको लर्को

चार लाख ऋणको ७ वर्षमा ३६ लाख ब्याज !

विराटनगर । गैरकानूनी मानिएको मिटर ब्याजको धन्दा चलाएरको आरोपमा विराटनगर–९ घोगापुल चौकका ४५ वर्षीय मन्टु भनिने सन्जय रौनियारलाई प्रहरीले पक्राउ गरेपछि मोरङ प्रहरीमा उजुरी दिने पीडितहरूको लर्को लागेको छ ।

चर्को ब्याज लिने अबैध मिटरब्याजको धन्दा चलाएर सर्वसाधरणलाई ‘टाट’ पल्टाएको जाहेरी परेपछि रौनियारलाई सोमबार साँझ मोरङ प्रहरीले पक्राउ गरेको थियो ।

रौनियारलाई प्रहरीले पक्राउ गरेपछि चर्को ब्याज लिएर उठिबास हुन लागेका पीडित अहिले मोरङ प्रहरीमा जान थालेका हुन् । कानून व्यवसायीसँग परामर्श लिएर मंगलबार बिहान करिब दुई दर्जन सर्वसाधरण प्रहरीमा जाहेरी दिन पुगेका छन् । रौनियार करिब एक दशकदेखि मिटर ब्याजमा लगानी गर्ने गरेको बुझिएको छ ।

रौनियारले ग्रामिण क्षेत्रका आर्थिक कारोबारसम्बन्धी ज्ञान नभएका मानिसहरूलाई मिटर ब्याजमा लगानी गर्दछन् । रौनियाबाट सय बढी सर्वसाधारण पीडित भएको मोरङ धनपालथान गाउँपालिका १ का मञ्जर हुसेनले बताउनुभयो । रौनियारलाई पक्राउ गरेपछि ठगीका उजुरी आउन थालेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिनुभएको छ ।

‘अहिले हामीले अनुसन्धान गर्दै आएका छौं,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी राईले भन्नुभयो, ‘केही उजुरी र सूचनाका आधारमा नियन्त्रणमा लिइएको हो । थप विषय पछि खुल्नेछ ।’ मिटर ब्याजमा ऋण लिएका मोरङ धनपालथान गाउँपालिका–१ का ३९ वर्षीय मञ्जर हुसेनले चार लाख रुपैयाँ ऋणको ३६ लाख रुपैयाँ बुझाउँदा पनि जग्गा फिर्ता नपाएको बताउनुभयो । बुवाआमाले ११ कठ्ठा जग्गा धितोमा राखेर रौनियारसँग ४ लाख रूपैयाँ ७ वर्षअघि लिएकोमा ३६ लाख रुपैयाँ तिरेपनि धितो फिर्ता दिन नमानेपछि प्रहरीमा उजुरी दिएका हुन् ।

‘लकडाउनको बेला कतारबाट फर्केर आएपछि गएर जग्गा फिर्ता गरिदिनुस् भन्दा अरू ६८ लाख तिरेपछि मात्र फर्काइदिन्छु भने,’ हुसेनले भन्नुभयो, ‘यसरी हामीलाई कंगाल बनाउन खोजेपछि उजुरी दियौं ।’ रौनियारले ४ लाखको ४७ लाख र दुई लाखको ८५ लाख असुल गरेका सर्वसाधारण पनि रहेको हुसेनले बताउनुभयो । उनीहरूजस्तै सय बढी सर्वसाधारण पीडित रहेको हुसेनको भनाइ छ ।

छोटो समयमा धेरै कमाउन धन्दामा रौनियार लागेको थिए । प्रहरीले रौनियारको घरदेखि मिटरब्याजमा लगानी गरेको कागजपत्र पनि बरामद गरेको छ । रौनियारले मिटर ब्याजमा लगानी गर्न थालेको एक दशक भएको छ । चर्को ब्याज लिएर मन्टुले बढी मोरङको धनपालथान, रंगेली, सुनवर्षी, विराटनगरको क्षेत्रका बासिन्दाहरूसँग लगानी गर्ने गरेको खुलेको छ ।

बुधबार, ०१ पुष, २०७७, बिहानको १०:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर