एक महिनामै सडकको पिच उप्कियो

विराटनगर । ठेकेदार कम्पनीले कमसल सामाग्री प्रयोग गरि गुणरस्तहिन काम गरेको कारण विराटनगर–१३ स्थित पिच गरेको कालोपत्रे सडक उप्किन थालेको छ ।
पिच गरेको एक महिना पनि पूरा हुन नपाउँदै विराटनगर–१३ पूर्वाञ्चल बाल आश्रम नजिकको उत्तर–दक्षिण सडकको पिच उप्किन थालेको हो ।

तिहारमा पिच सम्पन्न भएको घर अगाडिको पिच सडकको कालोपत्रे अहिले उप्किन थालेको विराटनगर–१३ का स्थानिय चन्दन यादवले बताउनुभयो । ‘घर अगाडि पिच सडक छ । कालोपत्रे गरिएको सडकमा मोटरसाइकल स्टेन लगाएर राख्दा धसेर मोटरसाइकल नालामा पल्टिने गरेको छ,’ उहाँले भन्नुभयो, ‘अहिले पिच गरिएको सडकको बिचमा झार उम्रिन थालेको र गुणस्तरहिन सडक निर्माण भएको विषयमा जनप्रतिनिधिले वास्ता गरेनन् ।’

संघीय सरकार अन्तर्गत रहेको सडक डिभिजन कार्यालय विराटनगरको ५८ लाख ३४ हजार ७ सय १२ रूपैयाँ भ्याट बाहेकको बजेटमा सो सडक कालोपत्रे भएको हो । विराटनगर– १९ स्थित न्यू विजय निर्माण सेवा प्रालिले ठेक्का पाएपछि निर्माण गरेकोे पिच सडकको मलायारोड–रानी खण्डमा कमसल सामाग्री प्रयोग गरेकोले गुणस्तरहिन सडक बनेको हो ।

ठेकेदार कम्पनीले कमसल सामाग्री प्रयोग गरि कम ‘इक्यिूमेन्ट’ को प्रयोग गरि साइट हेर्ने इन्जिनियरसहितका कर्मचारीको मिलेमतोमा अनियमितता गर्ने योजना रहेको स्थानीयको आरोप छ । ‘पिच भएको सडक अहिले अनुगमन गर्न सडक विभागका इन्जिनियर पनि आएको छैन । ठेक्का पाएको निर्माण कम्पनीले कस्तो सडक बनायो हेर्न त आउनुपर्ने हो नि ?’ एक जना स्थानीयले भने, ‘कमसल सामाग्री र कम इक्यिूमेन्ट प्रयोग गरेर ठेक्दारसहितका कर्मचारीहरूले अनियमितता गरेको हुनुपर्दछ । यसमा छानविन गरिनुपर्दछ ।’

२०७६ मंसिर ४ गते सम्झतौ भइ ०७७ वैशाख १० गते निर्माण सम्पन्न गर्नुपर्ने सडक कोरोना भाइरसको कारणले पुस मसान्तसम्ममा निर्माण सक्नेगरि म्याद थप भएको थियो । म्याद थप गरिएको समयभन्दा एक महिना अगाडि काम सकेको भएपनि गुणस्तर राम्रो नभएको स्थानीयको भनाइ छ ।

न्यू विजय निर्माण सेवाले ३ सय ४ मिटर नालासहित ३ सय ६९ मिटर सडक कालोपत्रे गर्ने ठेक्का पाएको थियो । पूर्वाञ्चल बालसेवा आश्रमदेखि उत्तर–दक्षिणतर्फको करिब २ सय मिटर पिच गरिएको सडकमा कमसल सामाग्री प्रयोग गरि गुणस्तरहिन काम गरेको स्थानीय बताउँछन् । सम्झौता अनुसार ४० एमएमको पिच हनुपर्ने हो ।

सडक विभाग विराटनगरका साइट हेर्ने सवइन्जिनियर शेखर सिंहले नाला लड्ने भएकोले रोलिङ्ग राम्रोसँग नभएको तथा सडकको साइटमा कालोपत्र उप्किन थालेको भेटिएकोले मर्मत गर्न ठेकेदारलाई निर्देशन दिएको बताउनुभयो । सडक डिभिजन कार्यालय विराटनगरका डिभिजन प्रमुख पशुपति ज्ञवालीले ठेक्का प्रक्रिया अहिले रनिङ्गमा रहेकोले कालोपत्रे उप्किएको सडक पुनः मर्मत गर्नुपर्ने जिम्मेवारी ठेकेदारको भएको बताउनुभयो । पिच सडक एक वर्षसम्म विग्रिएको भेटिए ठेकेदार कम्पनीले पुनः निर्माण गरिनुपर्ने प्राबधान रहेको ज्ञवालीको भनाइ छ ।

न्यू बिजय निर्माण सेवाका प्रोपाइटर ग्रपसेन साहले काम गर्ने क्रममा मिस्टेक हुने भएकोले कालोपत्रे उप्किएको भन्दै पुनः मर्मत गरिने बताउनुभएको छ । पिच गरिएको सडक राम्रोसँग नबसेको कारणले पनि यस्तो समस्या आएको उहाँको दावी छ ।

ठेकेदारलाई आधा बढी रकम भुक्तानी
गुणस्तरहिन सडक निर्माण गरेको आरोप लागेको न्यू बिजय निर्माण सेवाले ठेक्का पाएको आधा भन्दा बढी रकम भुक्तानी लिइसकेको छ । सडक डिभिजन कार्यालय विराटनगरबाट ठेकेदार कम्पनीका प्रोपाइटर ग्रपसेन साहले विभिन्न मितिमा ३७ लाख ८ हजार ६ सय ७६ रुपैयाँ भ्याटसहित लिएका हुन् ।

सडकमा समस्या आएपछि अहिले भुक्तानी रोक्का गरिएको डिभिजन प्रमुख पशुपति ज्ञावलीले जानकारी दिनुभयो ।

सोमबार, २२ मंसिर, २०७७, बिहानको ०८:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर